पत्रकारितामा नयाँ पुस्ताको सहभागिता कम हुँदै गएको भन्दै अब जेन–जी पुस्तालाई पनि यस पेसामा आकर्षण गर्नुपर्नेमा विज्ञहरूले जोड दिएका छन् । नेपाल पत्रकार महासंघ ललितपुरले आयोजना गरेको दुईदिने मिडिया साक्षरतासम्बन्धी तालिम तथा अभिमुखीकरणका सहभागी अतिथि तथा प्रशिक्षकहरूले यस्तो बताएका हुन्।
गोदावरी नगरपालिकाको सहयोगमा आयोजित अभिमुखीकरणमा पत्रकारितामा नवप्रवेशी, पत्रकारिता विषय अध्ययनरत विद्यार्थी र जिल्लामा रिपोर्टिङ गर्नेहरू सहभागी थिए। स्थानीय पत्रकारिता, पत्रकारितामा एआईको प्रयोगलगायत आधारभूत पक्षका बारेमा प्रशिक्षकहरूले तालिम दिएका थिए।
दुई दिनसम्म सञ्चालिन तालिममा सयजना भन्दा बढी सहभागी थिए। तालिममा प्रशिक्षण दिँदै बागमती प्रदेशका सञ्चार रजिस्ट्रार रेवतीप्रसाद सापकोटाले पछिल्लो समय सञ्चारमाध्यममा मिहेनती र ऊर्जाशील पत्रकारको संख्या घट्दै गएकोले पत्रकारितामा नयाँ पुस्तालाई डोर्याउनु अहिलेको आवश्यकता रहेको बताए।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सूर्य सुवेदीले जेन–जी पुस्तालाई पत्रकारितामा ल्याउनुपर्नेमा जोड दिए । ‘पत्रकारिता क्षेत्रमा आकर्षण घट्दो छ, तर अब जेन–जी पुस्तालाई यो पेशामा ल्याउन सक्नुपर्छ,’ उनले भने, ‘पत्रकारिता कला हुने र रुची हुनेले गर्ने पेशा हो, यो पेशामा प्रविधि र हरेक क्षेत्रको ज्ञान चाहिन्छ, अहिले पत्रकारिता पढिरहेकाहरुलाई बाहिरी ज्ञानको बढी खाँचो छ ।’
पत्रकार महासंघका ललितपुर शाखा अध्यक्ष रामहरि कार्कीले पनि नयाँ पुस्ताहरूलाई पत्रकारितामा ल्याउनुपर्नेमा जोड दिए। कार्यक्रममा प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष एवं अग्रज पत्रकार भवानी बरालले पत्रकारितामा आउन यसको आधारभूत ज्ञान चाहिने बताए।