बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले आफूले प्राप्त गर्ने सेवा–सुविधाको रकम खर्च गरेर मकवानपुरको कैलाश गाउँपालिका–४ का एक विपन्न चेपाङ दम्पतीको घर निर्माण गरी हस्तान्तरण गरेका छन्। शनिबार आयोजित कार्यक्रममा मुख्यमन्त्री बानियाँले धुसर बस्ने लालकुमार चेपाङ र उनकी पत्नी सानुमाया चेपाङलाई नवनिर्मित घर हस्तान्तरण गरेका हुन्।
कैलाश गाउँपालिकाले अति विपन्न परिवारको रूपमा पहिचान गरी घर निर्माणका लागि सिफारिस गरेपछि मुख्यमन्त्री बानियाँको व्यक्तिगत पहलमा केही महिनाअघि निर्माण सुरु गरिएको थियो। करिब आठ लाख लागतमा तीन कोठाको जस्ताले छाएको घर र शौचालय निर्माण गरिएको कांग्रेस कैलाश गाउँपालिका सभापति राजेन्द्र घिसिङले जानकारी दिए।
लामो समयदेखि जीर्ण र असुरक्षित घरमा बस्दै आएका ५० वर्षीय लालकुमार चेपाङ र उनकी पत्नी सानुमाया चेपाङ सुरक्षित आवास निर्माण गर्न आर्थिक रूपमा असमर्थ थिए। सानुमाया सानै उमेरमा हात जलेपछि आंशिक अपांग छिन्। दुई कट्ठा नम्बरी र तीन–चार कट्ठा ऐलानी जग्गा भए पनि उनीहरूको आर्थिक अवस्था कमजोर थियो।