मोरङको बुढीगंगा गाउँपालिका– १, करैया टोलका कृष्ण ऋषिदेव जाडो छिप्पिन थालेसँगै बिहान झिसमिसेमै उठ्छन्। उठ्नासाथ उनी खोजबिन गरेर ल्याएको झ्यासपरालमा आगो सल्काउँछन् र ताप्न थाल्छन्। आगो बलेको थाहा भएपछि परिवारका अरू सदस्यहरू पनि उठ्छन् र सामूहिक रूपमा आगो ताप्दै गफिन थाल्छन्।
कृष्ण ऋषिदेव र उनको परिवार मात्र होइन, करैया टोलमा रहेका अतिविपन्न दलित समुदायमा पर्ने ५० घरपरिवार यसैगरी खोजखाज गरेको झ्यासपराल बालेर जाडो कटाउँछन्। हरेक दिन ज्यालामजदुरी गरेर खानुपर्ने बाध्यतामा रहेका भूमिहीन ऋषिदेवहरूसँग जाडो छल्न सुत्दा ओढ्ने–ओछ्याउने र उठ्दा लगाउने न्याना लुगाको जोहो हुँदैन। यसैले हरेक दिन खोजखाज गरेको झ्यासपरालको आगो ‘घुर’ नै उनीहरूका लागि जाडो छल्ने न्यानाे उपाय हो।
हुन त ‘घुर’ ताप्नुलाई तराई मधेशमा परम्परागत संस्कृति मानिन्छ। यति मात्र होइन, जाडोमा न्यानोका लागि तापिने ‘घुर’लाई सूचना केन्द्र पनि भनिन्छ। किनभने समुदायका सबैले परिवारको आकारअनुसार ‘घुर’को न्यानो तापेर गाउँ टोलदेखि देश–विदेशमा भएका समसामयिक घटनाबारे चर्चा गर्छन्। तर, दलित समुदायभित्र अति गरिबमा पर्ने मुसहर समुदायका लागि भने ‘घुर’ ताप्ने चलन परम्परात संस्कृति र सूचना केन्द्र नभएर केवल जाडोबाट जोगाउने न्यानो उपाय मात्रै हो।
माटोको चिसो भुइँमा पराल र बोरा ओछ्याएर सुत्नुपर्ने बाध्यताका गरिब मुसहरहरू आर्थिक विपन्नताले गर्दा हरेक वर्ष आउने कठ्यांग्रिँदो जाडोका लागि न्याना सिरक र कपडा जोहो गर्न सक्दैनन्। दैनिक ज्याला–मजदुरी गर्ने बाध्यता र कमाएको पैसा बचत नहुँदा हरेक वर्ष आउने शीतलहरको कठ्यांग्रिँदो जाडो उनीहरूका लागि निकै कष्टकर बन्ने गर्छ। यसैले उनीहरूका लागि ‘घुर’ नै शरीरलाई न्यानो दिने सहारा हुन्छ।
अगुवा विनोद ऋषिदेवका अनुसार करैया टोलमा रहेका ५० घर मुसहर घरपरिवार सबै अति विपन्न छन्। प्रायको घरमा न सिरक–डसना छन्, न लगाउने कपडा नै। एक–दुई घरमा मात्र खाट प्रयोग गरिन्छन्। अगुवा विनोद भन्छन्, ‘दिनहुँ कमाइ ल्यायो, भुटी खायो, सकियो हुन्छ। यसैले हाम्रो जाडो घुरकै भरमा कट्छ।’
राष्ट्रिय मुसहर संघ कोशी प्रदेशका महासचिव धर्मेन्द्र ऋषिदेवका अनुसार बुढीगंगा– १, करैया बस्तीमा मात्र नभएर देशभर रहेका करिब १० लाख मुसहरको अवस्था दयनीय छ। न्यानो लुगाको अभावमा घुर तापेरै जाडो छल्न बाध्य मुसहर बस्तीमा शीतलहर चल्न थालेसँगै जाडोकै कारण वृद्धवृद्धा, अशक्त, रोगी र बालबालिकाको मृत्युसमेत हुन्छ। संघका महासचिव धर्मेन्द्र भन्छन्, ‘हाम्रो मुसहर समुदाय राजनीतिक, सामाजिक सबै रूपले सबैभन्दा पछाडि छ। यसैले जाडोमा हरेक वर्ष उनीहरू कठ्यांग्रिन बाध्य हुन्छन्। तर, पनि कुनै सरकारले न्यानो कपडा र खाद्यान्न सहयोग गर्दैन।’