सहरी विकास मन्त्रालयअन्तर्गत रहेको अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले काठमाडौंका नदीहरूमा तैरिने फोहोर पदार्थहरू संकलन गर्न ट्र्यास बेरियर जडान गरेको छ।
हाल गुह्वेश्वरीबाट ट्र्यास बेरियर जडान सम्पन्न गरी बागमती नदीका पाँच स्थान क्रमशः गोकर्ण ब्यारेज, गुह्वेश्वरी, तिलगंगा आँखा अस्पताल, बागमती मनोहरा दोभान, युएन पार्क र मनोहरा नदीको कर्मनाशा दोभानमा ६५ लाख रुपैयाँमा ठेक्का सम्झौता भई ट्र्यास बेरियर राख्ने काम धमाधम हुँदै छ।
ट्र्यास बेरियरले नदीको सतहमा तैरिने प्लास्टिक, पोलिथिन, बोतल, काठका टुक्रालगायतका ठोस फोहोरलाई रोक्ने र एक निश्चित स्थानमा जम्मा गराउने काम गर्छ। काठमाडौं उपत्यकाका बागमती, विष्णुमती, मनोहरा र धोबीखोलाजस्ता नदीहरूमा ठुलो मात्रामा तैरिने फोहोर बग्ने गरेको पाइएको हुँदा यस्ता नदीहरूमा ट्र्यास बेरियर जडान गर्दा नदीको बहावलाई अवरुद्ध नगरी फोहोर मात्र निकाल्न सकिन्छ। जसले गर्दा नदी प्रदूषण न्यूनीकरण गर्न सहयोग पुग्दछ।