- चौथो दिनको स्टम्पसम्म ६ विकेट गुमाएको इंग्ल्यान्डले मात्र २०७ रन जोडेको छ, चौथो दिन एडिलेडमा इंग्ल्यान्डलाई खेल जित्न २२८ रन आवश्यक
एसेज सिरिजमा घरेलु टोली अस्ट्रेलिया भ्रमणकारी टोली इंग्ल्यान्डविरुद्ध जिततर्फ अग्रसर भएको छ । चौथो दिनको स्टम्पसम्म ६ विकेट गुमाएको इंग्ल्यान्डले मात्र २०७ रन जोडेको छ । पाँचौँ दिन एडिलेडमा इंग्ल्यान्डलाई खेल जित्न २२८ रन आवश्यक छ । टोलीसँग मात्र ४ विकेट बाँकी रहेको छ ।
सिरिजमा सानदार प्रदर्शन गरिरहेको अस्ट्रेलियाले इंग्ल्यान्डमा ४३५ रनको विशाल लक्ष्य दिएको थियो । घरेलु टोली अस्ट्रेलिया सिरिज ‘क्लिन स्विप’ गर्ने योजनामा छ । पहिलो र दोस्रो टेस्ट नै अस्ट्रेलियाले ८ विकेटले जितिसकेको छ । तेस्रो दिनको समाप्तीमा जेमी स्मिथ २ तथा विल ज्याक्स ११ रन बनाएर क्रिजमा छन् । उनीलाई यो अवस्थाबाट टिमलाई जिततर्फ बढाउन निकै चुनौती छ । ओपनर ज्याक क्रेलीले सर्वाधिक ८५ रन बनाए । उनले १५१ बलमा ८ चौका हिर्काएका थिए ।
जोय रुट ३९ रन बनाउँदा ह्यारी ब्रुकले ३० रनको योगदान गरेका हुन् । ओली पपले १७ रन मात्रै जोडेर पेभिलियन फर्किएपछि अस्ट्रेलिया दबाबमा आएको थियो । यसअघि ओपनर बेन डककेट पनि मात्र ४ रन बनाएर आउट भएका थिए । अस्ट्रेलियाका प्याट कमिन्स र नाथ लायनले समान तीन विकेट लिएका छन् । कमिन्सले १० ओभरमा तीन मेडन राख्दा २४ रन खर्चिए । लायनले १८ ओभरमा समान तीन मेडनसहित ६४ रन खर्चिएका छन् । १० ओभरमै बलिङ गरेका मिचेल स्टार्क, स्कट बोलान्ड र ट्राभिस हेड विकेटविहीन छन् ।
हेडको शतकीय इनिङ्स
यसअघि अस्ट्रेलियाको दोस्रो इनिङ्समा ओपनर ट्राभिस हेडले १७० रन बनाएका थिए । उनले २१९ बलमा १६ चौका र २ छक्का हिर्काएका हुन् । एलेक्स क्यारीले ६ चौकासहित ७२ रन बनाए । उस्मान खवाजाले ४० रनको योगदान गरेपछि टोलीले विशाल लक्ष्य दिएको थियो । इंग्ल्यान्डका जस टोंगुइले ४, ब्रेडन कार्सीले ३ विकेट हात पारेका थिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका लागि एलेक्स क्यारीले शतकीय इनिङ्स खेले । उनले १४३ बलमा ८ चौका र १ छक्कासहित १०६ रन बनाएका थिए । मिचल स्टार्कले नवौँ नम्बरमा आएर ५४ तथा उस्मान खवाजाले ८२ रनको योगदान गरेपछि अस्ट्रेलिया ३७१ रनमा अलआउट भएको थियो ।
इंग्ल्यान्डको लागि जोफ्रा अर्चलले सर्वाधिक ५ विकेट लिएका थिए । उनले २०.२ ओभरमा ५ मेडन राख्दा ५३ रन खर्चिएका थिए । कार्सी र विल ज्याकले समान २ विकेट लिएका थिए ।
प्रत्युत्तरमा इंग्ल्यान्डका लागि कप्तान बेन स्टोक्सले सर्वाधिक ८३ रन बनाए । दसौँ नम्बर क्रिजमा आएका अर्चरले ५१ रनको योगदान गरे । यसअघि ह्यारी ब्रुकले ४५ रन बनाएका थिए । अस्ट्रेलियाका कमिन्स र बोलान्डले समान तीन विकेट लिएका थिए ।