पुन: अंश र पैसा माग्दै आमालाई कुटपिट, विरोध गरेको भन्दै भाइको हत्या

आइतबार, ६ पुष, २०८२
डिजिटल संस्करण

आमालाई कुटपिट गरी पैसा र जग्गा दिने कबुल गराउँदा विरोध गरेको भन्दै उदयपुरको त्रियुगा नगरपालिका– २ जोगीदहका ४३ वर्षीय युवराज राईले आफ्नै कान्छो भाइको हत्या गरेका छन् । उनले शुक्रबार राति खुकुरी प्रहार गरी ३० वर्षीय धर्मराज राईको हत्या गरेको त्रियुगा नगरपालिका– १ का वडाध्यक्ष मनोजकुमार चौधरीले बताए । भाइको हत्या गरेर फरार भएका युवराजलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी केदारमान दोङले शनिबार साँझ ७:१० बजे जोगीदहको जंगलबाट उनलाई पक्राउ गरेको जानकारी दिए ।

युवराजको कुटपिटबाट ५७ वर्षीया आमा रूपमाया राई गम्भीर घाइते भएकी छिन् । ‘स्वर्गीय मदन राईका दुई श्रीमतीमध्ये रूपमाया कान्छी हुन् । कान्छीपट्टिका तीन छोरा र एक छोरी छन् । सबैको बिहेबारी र अंशबन्डा भइसकेको छ । युवराजले आफूले पाएको सम्पत्ति सबै बेचेर खाए । चार–पाँच महिनादेखि उनी आमा र भाइसँगै बस्दै आएका थिए । शुक्रबार राति आमालाई कुटपिट गरी पैसा मागेछन् । आमालाई पैसा नदिए मारिदिने धम्की दिँदै खोलातिर रगताम्य बनाएर लगेछन् । आमाले पैसा पनि दिने र पुन: अंश पनि दिने कबुल गरिछन् । गाउँलेहरूले रूपमायालाई देखेर प्रहरीलाई खबर गरेछन् । त्यसपछि आमालाई उपचारमा लगियो । आमालाई उपचार गरेर ल्याउँदा राति घर फर्केका युवराजले विरोध गरेको भन्दै भाइलाई खुकुरी प्रहार गरी हत्या गरेछन्,’ चौधरीले भने ।

भाइले आमालाई किन कुटपिट गरी पैसा र अंश मागिस् भनेर सोध्दा उल्टै भाइ धर्मराज राईलाई कुखुरी प्रहार गरी हत्या गरेको देखिएको उनको भनाइ छ । युवराज तीन वर्ष मलेसिया बसेर आएका हुन् । उनको श्रीमतीसँग सम्बन्धविच्छेद भइसकेको छ ।

छोराको कुटपिटबाट घाइते रूपमायाले दिनदिनै जेठो छोराले पैसा र अंश माग्ने गरेको र कान्छो छोराले विरोध गर्दै आएको बताइन् । ‘शुक्रबार राति पनि सुरुमा जेठोले पैसा र पुन: अंश मागेको थियो । मैले हुँदैन भनेकी थिएँ । सुरुमा मलाई नै आक्रमण गरी मार्न खोज्यो । त्यसपछि खोलातिर लिएर गयो । पैसा र अंश दिन्छु भनेपछि पुन: फर्काएर ल्यायो । म घर आउँदा बेहोस भएकी रहेछु । त्यहीवेला कान्छो आइपुग्यो । गाउँले पनि जम्मा भएका थिए । मलाई उपचार गर्न लगियो । युवराजले राति आएर भाइको हत्या गर्यो । निहुँ बाबुको पेन्सन र अंश बन्यो । पेन्सन मेरै नाममा आउने गर्दथ्यो,’ उनले भनिन् ।

रूपमायाले हत्याको घटना श्रीमान् मदन राईको ब्रिटिस सेनाबाट पाउने पेन्सन बनेको बताइन् । ‘मैले त्यही पैसा कान्छोलाई घरखर्च चलाउन आवश्यक पर्दा दिने गरेकी थिएँ । उसलाई पनि कहिलेकाहीँ दिन्थेँ । यसपालि ज्याकेट किन्न मागेको थियो । त्यही दिन नमान्दा मलाई पनि झन्डै मार्यो । भाइको हत्या नै गर्यो,’ उनले भनिन् । रूपमायाका तीन छोरामध्ये माइलो विदेशमै छन् । 

झगडा सुरु भएको थाहा पाएलगत्तै स्थानीयले प्रहरीलाई खबर गरेका थिए । तर, युवराज भागेपछि पक्राउ गर्न असम्भव भएको थियो । पछि लुकेर आई भाइको हत्या गरेको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी केदारमान दोङले हत्याको कारण पैतृक सम्पत्ति रहेको बताए । ‘पुन: अंश र ज्याकेट किन्ने पैसा मागेको रहेछ । आमाले विरोध गर्दा कुटपिट गरेछन् । त्यसपछि पैसा र अंश दिने आमाले कबुल गरेपछि छाडेर घर ल्याएका रहेछन् । मादक पदार्थ पनि सेवन गरेको भन्ने बुझिएको छ । भाइले विरोध गरेपछि भाइको हत्या भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ,’ उनले भने । भाइको हत्या गरेपछि फरार युवराजको खोजतलास जारी राखेको उनले बताए ।

See More On

सुझावित समाचार