प्रेरक प्रसंग : को हो पापको गुरु ?

आइतबार, ६ पुष, २०८२
डिजिटल संस्करण

एक पण्डित वर्षौंसम्म बनारसमा शास्त्रको अध्ययन गरी गाउँ फर्किए । गाउँमा एक किसानले उनलाई प्रश्न गरे– पण्डितजी, पापको गुरु को हो ? किसानको प्रश्नले पण्डित रन्थनिए । पापको पनि कोही गुरु हुन्छ भन्ने उनलाई थाहै थिएन । पण्डितलाई आफ्नो अध्ययन अधुरै रहेको महसुस भयो । उनी पुन: बनारस फर्किए र गुरुहरूसित सोही प्रश्न गरे । तर, उत्तर कतैबाट पनि पाएनन् । 

एक दिन अचानक उनको भेट एक यौनकर्मी युवतीसित भयो । उनले पण्डितसित चिन्ताको कारण सोधिन् । पण्डितले आफ्नो समस्या बताए । युवतीले भनिन्– यसको उत्तर सरल छ, तर त्यसका लागि हजुरले केही दिन मेरो घरमा बस्नुपर्छ । पण्डितजी तयार भए । ती युवतीले आफ्नो घरको एक कोठामा पण्डितलाई बस्ने व्यवस्था मिलाइदिइन् । पण्डित अरूले छोएको खाँदैनथे, आफैँ पकाएर खान्थे । युवतीले त्यसको पनि व्यवस्था गरिदिइन् । पण्डित आफैँ पकाएर खान थाले । 

केही दिनपछि युवतीले भनिन्– पण्डितजी, हजुरलाई आफैँ पकाएर खान सारै अप्ठ्यारो भइरहेको छ । आखिर यहाँ हजुर र मबाहेक अर्को कोही छैन । कसैले देख्ने पनि होइन । हजुर मान्नुहुन्छ भने म नुहाइधुवाइ गरेर हजुरलाई पनि खाना बनाउँछु । मलाई यो सेवाको अवसर दिनुभयो भने हरेक दिन दक्षिणास्वरूप हजुरलाई पाँच स्वर्ण मुद्रा पनि दिनेछु । 

स्वर्ण मुद्राको नाम सुन्नासाथ पण्डितले मनमनै सोचे– आहा ! बनिबनाउ खानाका साथमा दैनिक पाँच स्वर्ण मुद्रा पाइन्छ भने मौका किन गुमाउनु ? उनले आफ्नो नियम, आचरण, धर्म सबै बिर्सिए । उनले भने– तिमी त्यसो भन्छ्यौ भने ठिक छ । तर, मैले तिमीसित बसेर खाएको कसैले थाहा नपाओस् नि ! युवती हर्षित भइन् । उनले अनेक मिष्ठान्न तयार गरी पण्डितसामु अर्पण गरिन् । जब पण्डित खान तयार भए तब युवतीले खानाको थाल आफूतिर तानिन् । पण्डितले रिसाउँदै प्रश्न गरे– यो सब के मजाक हो ? युवतीले हाँस्दै भनिन्– यो कुनै मजाक होइन पण्डितजी, हजुरको प्रश्नको उत्तर हो । हजुर पहिले अरूको हातको पानीसम्म पिउनुहुन्नथ्यो । तर, स्वर्ण मुद्राको लोभले तपाईं मैले बनाएको खाना खान तयार हुनुभयो । त्यसैले, यही लोभ नै पापको गुरु हो, पण्डितजी !

सुझावित समाचार