बुटवलमा शंख बजाउने प्रशिक्षण सम्पन्न भएको छ । धर्म, संस्कार कला र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ लुम्बिनी पूजासामग्री भण्डार बुटवलले सामूहिक शंख बजाउने प्रशिक्षण दिएको हो ।
विश्व हिन्दु महासंघ बुटवलको सभाहलमा आयोजित कार्यक्रममा २० जना प्रशिक्षकले विभिन्न समूहमा प्रशिक्षार्थीलाई विभाजन गरी शंख बजाउन अभ्यास गराएका थिए । आयोजकले यस किसिमको प्रशिक्षण नेपालमै पहिलोपटक भएको दाबी गरेका छन् । प्रशिक्षणमा लुम्बिनी प्रदेश र नेपाल भारत सीमावर्ती क्षेत्रबाट गरी २५० जनाको सहभागिता थियो ।
घरघरमा शंख भएर पनि बिहान साँझको नित्य पूजामा बज्न छोडेको, शंख बजाउने इच्छा भएर पनि बजाउन नजानेको र कतिपय देवकार्यमा समेत बज्न छोडेकोले शंख प्रशिक्षणमार्फत शंख बजाउन सिकाउन सुरु गरेको विश्व ज्योतिष महासंघ लुम्बिनी प्रदेशका सभापति जनार्दन न्यौपानले जानकारी गराए ।
कार्यक्रममा शंखको उत्पति, परिचय, शङ्खको धार्मिक, सांस्कृतिक वैज्ञानिक महत्व, शंख फुक्दा स्वास्थ्यमा र पर्यावरणमा हुने लाभको बारे वाचन सम्राट एवं धार्मिक अभियन्ता भीमकान्त पन्थीले कार्यपत्र पेस गरेका थिए । प्राध्यापक डाक्टर बाबुराम ज्ञवालीले गीता र विभिन्न पुराणहरूमा शंखको महिमा, स्थान र कथा प्रसंग भएको उल्लेख गरे ।