तेस्रो मुलुकसँग जोडिएर अन्तर्राष्ट्र्रिय सहरको रूपमा विकसित भैरहेको भैरहवालाई पर्यटनमैत्री सहरको रूपमा विकास गर्न सबै क्षेत्रका सरोकालवाला निकाय गम्भीर बन्नुपर्ने भैरहवामा आयोजित कार्यक्रमका सहभागीहरूले जोड दिएका छन्।
होटेल तथा रेस्टुरेन्ट व्यवसायी संगठन रुपन्देहीको १२ औँ साधारणसभा तथा सातौँ अधिवेशनका अवसरमा बोल्नै वक्ताहरूले सो कुरामा जोड दिएका हुन्।
सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले सिदार्थनगर विस्तारै अन्तर्राष्ट्र्रिय सहरका रूपमा विकसित हुँदै गैरहेको अवस्थामा नगर क्षेत्रभित्र देखापरेका चुनौतीपूर्ण विषयहरूलाई सुधार गर्दै पर्यटनमैत्री सहरका रूपमा अगाडि बढाउने बताइन्।
गौतम बुद्ध अन्तर्राष्ट्र्रिय विमानस्थल निर्माण सुरु भएपछि भैरहवामा तारे होटेलहरू निर्माण सुरु भएको र अहिले अन्तर्राष्ट्रिय विमानस्थल क्रमिक रूपमा सञ्चालन हुँदै गैरहेको अवस्थामा सिद्धार्थनगर तेस्रो मुलुकसँग पनि प्रत्यक्ष जोडिएको छ, यो अवस्थामा हामीले भैरहवालाई सुन्दर , पर्यटनमैत्री र सुरक्षित सहरका रूपमा विकास गर्दै लैजानुपर्ने उनले बताइन्।
क्यासिनोबाहिर गोली चल्नु , अस्वाभाविक रूपमा मापदण्डविपरीत स्पाहरू खोलिँदै जानु संस्कृति र सुरक्षाका हिसाबले जोखिम बढ्दै गएको उपमेयर उमा अधिकारीले बताइन्।
होटेल व्यवसाय पर्यटकहरूलाई पारिवारिक वातावरणमा स्वागत गर्ने व्यवसाय भएकाले मापदण्डबाहिर रहेर सञ्चालनमा आएका स्पाहरूलाई व्यवस्थित गर्नुपर्ने बताइन्। होटेल तथा रेस्टुरेन्ट व्यवसायी संगठनका अध्यक्ष रामप्रसाद पोख्रेलले भारतीय पर्यटकहरूको आगमनलाई सहज र सरलीकरण गर्नु पर्नेमा जोड दिए।