नेपाल ओलम्पिक कमिटी (एनओसी)ले शुक्रबार १४ खेलाडीलाई छात्रवृत्ति प्रदान गरेको छ । सन् २०२८ मा लस एन्जलसमा हुने ग्रीष्मकालीन ओलम्पिक र सन् २०२६ मा जापानमा हुने एसियन तथा सन् २०२६ मै सेनेगलमा हुने समर युथ ओलम्पिकका लागि एनओसीले सम्बन्धित संघ, खेलाडी र खेलाडीको परिवारसँग सम्झौता गर्दै १४ खेलाडीलाई छात्रवृत्ति प्रदान गरेको हो ।
लस एन्जलस ओलम्पिकका लागि आठ खेलाडीले छात्रवृत्ति पाएका छन् । ब्याडमिन्टनका प्रिन्स दाहाल, साइकलकी उषा खनाल, गल्फका सद्भाव आचार्य, जुडोकी मनिता श्रेष्ठ प्रधान, टेबल टेनिसकी इभाना थापा, टेनिसकी सिभाली थापा, स्पोर्ट क्लाइम्बिङका तेन्जिङ राई र स्विमिङका अर्भिन श्रेष्ठ छन् । २०औँ एसियन खेलकुदका लागि पाँच खेलाडीले छात्रवृत्ति प्राप्त गरेको एनओसीले जनाएको छ । जसमा आर्चरीका तिलक पुनमगर, बक्सिङका चन्द्रबहादुर थापा, कराँतेकी एरिका गुरुङ र सानुमाया थिङ तथा उसुकी सुस्मिता तामाङ छन् । यसैगरी, युथ ओलम्पिकका लागि उसुकी रश्मि तामाङ छनोट भएकी छिन् । एनओसीले एथ्लेटिक्सका कुनै पनि खेलाडीलाई समावेश गरेको छैन ।
लस एन्जलस ओलम्पिक खेल्ने आठ खेलाडीले प्रतिमहिना एक हजार एक सय २५ अमेरिकन डलर पाउनेछन् । एसियन खेलका पाँच र एक युथ गेम्स खेल्ने खेलाडीले मासिक ५० हजार रुपैयाँ हात पार्नेछन् । एनओसीले चौमासिक रूपमा खेलाडीलाई रकम उपलब्ध गराउने महासचिव राजीव श्रेष्ठले बताए ।
प्रिन्स दाहाल (ब्याडमिन्टन)
प्रिन्स नेपाली ब्याडमिन्टनका अनुभवी खेलाडी हुन् । उनीसँग सन् २०२४ को पेरिस ओलम्पिकको अनुभव छ । प्रिन्सले सन् २०१९ मा नेपालमै भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा कांस्य जितेका थिए । उमेर समूहको विश्व वरीयतामा उनी शीर्ष स्थानमा पुग्ने पहिलो नेपाली खेलाडी हुन् । बायाँहाते प्रिन्सले दक्षिण एसियाली यू–२१ क्षेत्रीय च्याम्पियनसिप पनि जितेका छन् । दुबईमा भएको जुनियर अन्तर्राष्ट्रिय सिरिज उनले हात पारेका छन् । अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीका लागि उनी मलेसियामा छन् ।
उषा खनाल (साइक्लिङ)
एनओसीले छात्रवृत्ति घोषणा गरेको कार्यक्रममा उषा भने गोकर्णेश्वरमा भइरहेको माउन्टेनबाइक साइक्लिङ प्रतियोगितामा सहभागी भइरहेकी थिइन् । सो साइक्लिङमा उनी च्याम्पियन भइन् । उनले एकै दिन दोहोरो खुसियाली मनाइन् । गोर्खाकी उषाले २०२३ मा डाउनहिल र इको क्याटागोरीको राष्ट्रिय च्याम्पियनसिप जितेकी छिन् । क्रस कन्ट्रीमा नेपालको प्रतिनिधित्व गरेकी उनले सन् २०१९ मा भएको दक्षिण एसियाली खेलकुद (साग)मा रजत पदक जितेकी थिइन् ।
सदभाव आचार्य (गल्फ)
नेपालका युवा गल्फरमा चर्चित नाम सदभाव हुन् । नेपालको एमेच्योरतर्फ उनी नम्बर एक गल्फर हुन् । गल्फको पारिवारिक माहोलमा हुर्केका सदभावले कम उमेरमै सफलता चुमेका छन् । अहिले उनी प्रशिक्षणका क्रममा अमेरिकामा छन् । छात्रवृत्ति घोषणामा सदभावका बुबा दीपक आचार्यले एनओसीसँग सम्झौता गरेका छन् । बंगलादेशमा भएको ३८औँ एमेच्योर ओपन जित्ने सदभाव पहिलो नेपाली खेलाडी हुन् । उनले घरेलु जुनियरमा दोहोरो उपाधि पनि जितेका छन् । उनले पछिल्लोपटक युरोपियन फाल्डो जुयिनर टुर जितेका थिए ।
मनिता श्रेष्ठ प्रधान (जुडो)
पाँचथरकी मनिता जुडो खेलकी सफल खेलाडीमा पर्छिन् । उनले सन् २०१२ मा बंगलादेशमा भएको दक्षिण एसियाली खेलकुद (साग) र नेपालमै भएको १३औँ सागमा रजत जितेकी थिइन् । मनिताको तौल समूह ५६ केजी हो । उनले पछिल्लोपटक सन् २०२४ मा भएको पेरिस ओलम्पिकमा पनि प्रतिस्पर्धा गरेकी थिइन् । सन् २०१७ मा भएको एसियन क्याडेट जुनियर जुडो च्याम्पियनसिपमा उनले कांस्य जितेकी थिइन् ।
इभाना थापा (टेबल टेनिस)
इभानाले सानै उमेरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफलता चुमेकी छिन् । नेपाल खेलकुद पत्रकार मञ्चको पछिल्लोे पल्सर स्पोर्टस् अवार्डको पपुल च्वाइस विधामा इभाना मनोनीत भएकी थिइन् । पेरिस ओलम्पिक छनोटको दक्षिण एसियाली छनोटमा इभानाले सेमिफाइनलसम्मको यात्रा तय गरेकी थिइन् । इभानाले दक्षिण एसियाली युथ टेबल टेनिसमा समान दुई रजत र कांस्य पदक जितिसकेकी छिन् ।
सिभाली गुरुङ (लन टेनिस)
सिभाली लन टेनिसको उदीयमान खेलाडी हुन् । १४ वर्षको उमेरमै उनले ओलम्पिक छात्रवृत्ति पाएकी छिन् । विश्वको यू–१४ वरीयतामा समावेश हुने सिभाली पहिलो नेपाली खेलाडीसमेत हुन् । उनले आइटिएफ र एटिएफले आयोजना गर्ने बिली जेन किङ प्रतियोगिताको छनोट चरणमा स्थान बनाएकी छिन् । उनले सन् २०२६ को अस्ट्रेलियन ओपन ग्रान्डस्लाममा छनोट हुने पहिलो नेपाली खेलाडीको कीर्तिमान पनि बनाइएकी छिन् ।
तेन्जिङ बेर्टिन राई (स्पोर्टस् क्लाइम्बिङ)
तेन्जिङ साहसिक खेलकुदकै चर्चित नेपाली खेलाडीमा पर्छन् । उनले यसै वर्ष भएको राष्ट्रिय स्पोर्टस् क्लाइम्बिङ च्याम्पियनसिपको उपाधि जितेका थिए । यसअघि सन् २०१८ मा भएको राष्ट्रिय स्पोर्टस् क्लाइम्बिङको पनि उपाधि जितेका छन् । तेन्जिङलाई छात्रवृत्ति प्राप्त भएसँगै संघ र खेलको परिचय दिनसमेत चुनौती छ।
अर्भिन श्रेष्ठ (पौडी)
अर्भिन नेपाली पौडीकै उदीयमान खेलाडी हुन् । १३औँ सागमा सहभागी खेलाडी खेलजीवनबाट टाढा रहँदा अर्भिनले अवसर पाइरहेका छन् । उनी अहिले नेपालको पौडी वरीयताकै शीर्ष खेलाडी हुन् । अर्भिन फिनाले आयोजना गर्ने विश्व इक्वेस्टिक च्याम्पियनसिपमा सहभागी भइसकेका छन् । उनले फ्रिस्टाइलको रिलेमा राष्ट्रिय कीर्तिमान पनि बनाइसकेका छन् ।
तिलक पुनमगर (आर्चरी)
पोखराका तिलक पुनमगरले आर्चरी खेलको प्रतिनिधित्व गर्दै छात्रवृत्ति पाएका छन् । उनले नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय खेल पनि खेलिसकेका छन् । सन् २०१८ र सन् २०२२ मा भएको एसियन खेलकुदमा उनले भाग लिएका थिए । सन् २०२५ मा भएको एसियन आर्चरी च्याम्पियनसिपमा उनले अन्तर्राष्ट्रिय एक्सपोजर पाएका छन् । उनी विश्व आर्चरीको वरीयतामा ३३६औँ स्थानमा छन् ।
चन्द्रबहादुर थापा (बक्सिङ)
चन्द्रबहादुरले गत साता नेपाली बक्सिङ इतिहासमा इतिहास रच्न सफल भए । उनले दुबईमा भएको आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपमा कांस्य हात पारेका थिए । विश्व च्याम्पियनसिपमा कांस्य जित्ने उनी पहिलो नेपाली बक्सर हुन् । उनी नेपालका कीर्तिमानी बक्सर भूपेन्द्र थापाका भाइसमेत हुन् । भूपेन्द्रले १३औँ सागमा नेपाललाई स्वर्ण हात पारेका थिए । चन्द्रबहादुरलाई सन् २०२६ मा हुने आइची र नागोया एसियन गेम्सको सम्भावित पदक विजेताका रूपमा हेरिएको छ ।
एरिका गुरुङ (कराँते)
एरिका नेपालबाट प्रतिनिधित्व गर्दै कराँते खेलमा एकपछि अर्को अन्तर्राष्ट्रिय पदक भिœयाउने प्रमुख खेलाडीमा पर्छिन् । २१ वर्षीया एरिकाले सन् २०२२ मा भएको एसियन गेम्समा ऐतिहासिक रजत पदक जितेकी थिइन् । उनी कराँते–१ प्रिमियर लिगमा कांस्य पदक जित्ने पहिलो नेपाली खेलाडी पनि हुन् । उनले यो कांस्य मोरक्कोमा हात पारेकी थिइन् । अप्रिलमा अस्ट्रेलियामा भएको अस्ट्रेलियन ओपन कराँते च्याम्पियनसिपमा स्वर्ण पदक जित्दै उनले अर्को रेकर्ड बनाएकी थिइन् ।
सुनमाया थिङ (कराँते)
एरिकापछि कराँतेबाट छात्रवृत्ति पाउने सुनमाया दोस्रो खेलाडी हुन् । उनले कराँते काता विधामा उत्कृष्ट प्रदर्शन गर्दै आइरहेकी छिन् । उनले युथ कराँते च्याम्पियनसिप र राष्ट्रिय च्याम्पियनसिपमा लगातार दुईपटक स्वर्ण पदक जितेकी छिन् । सन् २०२३ मा इन्डोनेसियामा भएको सितोरिओ कराँते च्याम्पियनसिपमा उनले कांस्य पदक जितेकी थिइन् ।
सुस्मिता तामाङ (उसु)
सुस्मिता उसु खेलकी सदाबहार खेलाडी हुन् । सुस्मिताले नेपालको प्रतिनिधित्व गरी विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेकी छिन् । उनी चारपटककी राष्ट्रिय च्याम्पियन हुन् । उनले नेपालमै भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण पदक जितेकी थिइन् । १७औँ विश्व उसु च्याम्पियनसिपमा उनी आठौँ स्थानमा रहन सफल भइन् ।
रश्मि तामाङ (उसु)
रश्मि सन् २०२६ को समर युथ ओलम्पिकमा छात्रवृत्ति पाउने एक मात्रै खेलाडी हुन् । रश्मिबाट निकट भविष्यमा थुप्रै पदक जित्न सक्ने आशा गरिएको छ । पदकको सम्भावना रहँदा उनलाई एनओसीले लगानी पनि गरेको हो ।