यो वर्ष कोशीमा घट्यो धान उत्पादन

गत वर्षको तुलनामा घट्यो ५२ हजार ४ सय ७२ टन उत्पादन र ५ हजार ५ सय ८१ हेक्टरमा पुग्यो क्षति

शनिबार, ५ पुष, २०८२
डिजिटल संस्करण
  • समयमै मनसुन र रासायनिक मलको आपूर्ति नभएको, असोजमा धान फुल्ने वेला भारी वर्षा भएको र कात्तिकमा धान उठाउने समयमा समेत बेमौसमी वर्षा भएकाले उत्पादनमा ह्रास

यो वर्ष कोशी प्रदेशमा बर्खे धान उत्पादन घटेको छ । समयमै मनसुन र रासायनिक मलको आपूर्ति नभएको, असोजमा धान फुल्ने वेला भारी वर्षा भएको र कात्तिकमा धान उठाउने समयमा समेत बेमौसमी वर्षा भएकाले उत्पादनमा ह्रास आएको हो ।

कृषि विकास निर्देशनालय, विराटनगरका वरिष्ठ बागवानी विकास अधिकृत टोनी बर्देवाका अनुसार यो वर्ष क्षेत्रफल पाँच हजार पाँच सय ८१ हेक्टर र उत्पादन ५२ हजार चार सय ७२ टन घटेको छ । यो वर्ष दुई लाख ६९ हजार ६ सय ८६.१६ हेक्टरमा रोपाइँ हुँदा ११ लाख २९ हजार सात सय ४९.६८ टन धान उत्पादन भएको निर्देशनालयले जनाएको छ । गत आव ०८१/८२ मा दुई लाख ७५ हजार दुई सय ६७.९९ हेक्टरमा रोपाइँ भएको र ११ लाख ८२ हजार दुई सय २१.३९ टन धान उत्पादन भएको निर्देशनालयको तथ्यांक छ ।

उत्पादनसँगै धानको उत्पादकत्वमा समेत ह्रास आएको छ । गत वर्ष ४.२९ टन प्रतिहेक्टर रहेको उत्पादत्व घटेर यो वर्ष ४.१९ टन प्रतिहेक्टरमा कायम रहेको छ । समग्र उत्पादन घट्नुमा गत असोज र कात्तिकमा आएको हावाहुरीसँगैको भारी वर्षा मुख्य कारण रहेको उनले बताए । ‘असोज र कात्तिकको बेमौसमी वर्षा र हावाहुरीले कोशी प्रदेशमा बर्खे धानखेती भएको क्षेत्रमा ६ हजार दुई सय ७७.५२ हेक्टरमा क्षति पुर्याएको थियो । यसबाट २८ हजार दुई सय ६.२८ मेट्रिकटन धान उत्पादनमा कमी आएको छ,’ बर्देवाले भने ।

असोज र कात्तिकको हावाहुरी र वर्षाले ओखलढुंगामा ११४.७८ हेक्टर, ताप्लेजुङमा ४.९ हेक्टर, धनकुटामा ३८.७७, संखुवासभामा ३.५ हेक्टर, सोलुखुम्बुमा २.२ हेक्टरमा गरिएको धानखेतीमा क्षति पुगेको थियो । त्यस्तै, इलाममा ६७५.३ हेक्टर, झापामा ४८२७ हेक्टर, मोरङमा १५६.८१ हेक्टर, उदयपुरमा ११२.१३ हेक्टर, खोटाङमा १५७.३८ हेक्टर, भोजपुरमा ७२.१४ हेक्टर, पाँचथरमा ५९.९१ हेक्टर, सुनसरीमा ११९.५ हेक्टर र तेह्रथुममा ०.८५ हेक्टरको धानखेतीमा क्षति पुगेको निर्देशनालयले जनाएको छ । बेमौसमी वर्षाले झापा, मोरङ, सुनसरी, उदयपुर र इलाममा लगाएको धानखेतीमा सबैभन्दा बढी क्षति पुुुगेको थियो । धान रोप्ने समयमा खडेरी परेको र जसोतसो रोपेको धान हुर्कँदै गर्दा बेमौसमी भारी वर्षाले क्षति पुर्याएका कारण उत्पादनमा कमी आएको निर्देशनालयका निर्देशक ​प्रकाशकुमार डाँगीले बताए । ‘गत वर्षको तुलनामा यस वर्ष कोशी प्रदेशको धान उत्पादन घट्नुमा रोपाइँ हुने समयमा पानी नपर्नु, पर्याप्त सिँचाइको सुविधा नहुनु, मल र बिउ किसानले समयमा नपाउनु, पुराना सिँचाइ आयोजना बन्द हुँदै जानु र त्यसमा बेमौसमी वर्षाले क्षति पुर्याउनु प्रमुख रहेका छन्,’ उनले भने ।

कोशीमा आठ लाख २६ हजार ६ सय ४६ हेक्टर खेतीयोग्य जमिन रहेको र त्यसमध्ये दुई लाख ७६ हजार ६ सय ८६ हेक्टरमा बर्खे धान लगाउन सकिने निर्देशनालयले जनाएको छ । कोशीमा आर्थिक वर्ष ०७८/७९ सबैभन्दा धेरै तीन लाख ३७ हजार एक सय २३ हेक्टरमा धानखेती भएको थियो । त्यसयता निरन्तर खेती गर्ने क्षेत्रफलमा ह्रास आइरहेको छ ।
 

See More On

सुझावित समाचार