११औँ महाधिवेशनमा सक्रिय राजनीतिबाट बिदा भएका वा पदाधिकारी तथा केन्द्रीय सदस्य पदमा पराजित एमाले नेताहरू स्वत: केन्द्रीय सल्लाहकार परिषद् सदस्यमा मनोनीत भएका छन् । ११औँ राष्ट्रिय महाधिवेशन सकिएको भोलिपल्ट शुक्रबार बसेको पहिलो केन्द्रीय कमिटी बैठकमा नवनिर्वाचित अध्यक्ष केपी ओलीको यससम्बन्धी नीतिगत निर्णय गराएका हुन् ।
केन्द्रीय सदस्य विष्णु रिजालले यसबारे स्पष्ट पार्दै भने, ‘केन्द्रीय सदस्य, अघिल्लो कार्यकालका पदाधिकारी र केन्द्रीय निकायमा रहेकाहरू, जो अहिले बिदा भएका वा पराजित भएका छन्, सबै स्वत: सल्लाहकार परिषद् सदस्य रहने निर्णय बैठकले गरेको छ ।’
निर्णयअनुसार उपाध्यक्षबाट बिदा लिएका युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य, सल्लाहकार परिषद् अध्यक्ष अमृत बोहरा, केन्द्रीय अनुशासन आयोग अध्यक्ष केशव बडाल, उपाध्यक्ष र केन्द्रीय सदस्य दुवैतिर पराजित गुरु बराल, महासचिव र केन्द्रीय सदस्यमा पराजित सुरेन्द्र पाण्डे, उपमहासचिव र केन्द्रीय सदस्यमा पराजित विष्णु रिमाल, स्थायी समिति सदस्य तथा संगठन विभाग प्रमुख काशीनाथ अधिकारीलगायतका नेताहरू स्वत: सल्लाहकार परिषद् सदस्य बनेका छन् ।
बिहीबार भृकुटीमण्डपमा सम्पन्न महाधिवेशनले ३०१ सदस्यीय केन्द्रीय कमिटी, १९ सदस्यीय पदाधिकारी, २५–२५ सदस्यीय केन्द्रीय अनुशासन आयोग र केन्द्रीय लेखा आयोग निर्वाचित गरेको थियो । महाधिवेशन सकिएकै भोलिपल्ट पहिलो बैठक ओलीले कार्की बेंक्वेट बबरमहलमा बोलाएका थिए । पार्टी कार्यालयमा हलको व्यवस्थापन सम्भव नभएकाले बैठक बाहिर राखिएको थियो ।
बैठकले पोलिटब्युरो र स्थायी समिति गठनसम्बन्धी दोस्रो बैठक आगामी २६, २७ र २८ पुसमा बोलाउने निर्णय गरेको छ । त्यहाँ कार्यविभाजन, मर्यादाक्रम र अन्य सबै विषय टुंगो लगाइने अध्यक्ष ओलीले बताएका छन् ।
त्यसैबिच, पूर्वउपाध्यक्ष युवराज ज्ञवालीले आफूसहितका नेतालाई सल्लाहकार बनाउने पार्टी निर्णय सही र उपयुक्त भए पनि आफू पदाधिकारीमा नबस्ने प्रतिक्रिया दिएका छन् । ‘महाधिवेशनको बन्दसत्र हलमै मैले स्वैच्छिक रूपमा बिदा लिने निर्णय गरेको छु । पार्टीको सल्लाहकारका रूपमा भूमिका खेल्छु, तर त्यहाँ पनि पदाधिकारी बन्दिनँ,’ उनले नयाँ पत्रिकासँग भने ।
प्यानल सकियो, एकताका साथ बढ्नुपर्छ : ओली
बैठकमा अध्यक्ष केपी ओलीले महाधिवेशन सकिएसँगै प्यानल अवधारणा समाप्त भएको भन्दै अब एकजुट भएर पार्टी अघि बढ्नुपर्नेमा जोड दिएका छन् । ‘हिजो चुनावमा लड्दा प्यानल भएर पनि लडियो होला । स्वतन्त्र भएर पनि लडियो होला । कुन प्यानल भयो, कुन स्वतन्त्र भयो, के भयो, त्यो हिजो नै परिणाम आएसँगै सिद्धियो,’ ओलीले बैठकमा भने, ‘अब एमालेको केन्द्रीय कमिटी यो प्यानल र त्यो प्यानल होइन, देश हाँक्ने केन्द्रीय कमिटी हो । यो एकजुट छ, एकढिक्का छ । यो पक्ष छैन, ऊ पक्ष छैन, यो प्यानल छैन, ऊ प्यानल पनि छैन । यही भावना र दृढताका साथ हामी अगाडि बढ्छौँ ।’
ओलीले बैठकमा विरोधीहरूले एमालेभित्रको एकता कमजोर बनाउन उल्क्याउन सक्ने भन्दै अनुशासनमा बाँधिएर अघि बढ्न र भ्रमको पछि नकुद्न सबैलाई सचेत गराए । ‘हाम्रो पार्टीले महान् अभिभारा बोकेको छ । दृढ अनुशासनमा बाँधिएको एकताका साथ हामी अगाडि बढ्छौँ । त्यहाँ त कोही बोल्नै पाउँदैन, त्यहाँ केपी ओलीको अधिनायकवाद चल्छ, तानाशाही चल्छ, कसैले आँखामा आँखा जुधाएर बोल्नै सक्दैन, हेर्नै सक्दैनजस्ता हल्ला चलाउँछन्, उल्क्याउँछन्,’ ओलीले भने, ‘आलोचनात्मक चेत हराएका झोलेहरू एमालेमा बस्छन् भनेर कुरा गर्छन् । नत्र ती विरोधमा बोलिहाल्थे नि, खै केपी ओलीको विरोधमा बोलेको पनि भन्छन् । केपी ओलीले विरोध गर्नुपर्ने कुनै कामै गर्दैन त के भनेर विरोध गर्ने ?’
नेतृत्वप्रति अनास्था जगाउने र एकतामा खलल पुर्याउने विषयमा नेताहरू सचेत हुनुपर्नेमा उनको जोड थियो । ‘लिडरसिपप्रति अनास्था जगाउनका लागि, पार्टी एकतामा खलल पुर्याउनका लागि उचाल्नेहरू हुन्छन्,’ उनले भने, ‘यस्ता कुराबाट हामी प्रभावित हुनुहुँदैन ।’
पहिलो बैठकमा ईश्वर पोखरेल अनुपस्थित
केन्द्रीय कमिटीको पहिलो बैठकमा अध्यक्षमा पराजित उम्मेदवार ईश्वर पोखरेल सहभागी भएनन् । उनी महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भए पनि बैठकमा आएनन् । बिहीबारको शपथ समारोहमा पनि नबोलाइएको भन्दै पोखरेल उपस्थित भएका थिएनन् ।
उनका प्यानलबाट निर्वाचित नेताहरू भने बैठकमा सहभागी थिए । बैठकमा पोखरेल पक्षधर नेताहरू उपाध्यक्ष निर्वाचित गोकर्ण विष्ट, उपमहासचिव योगेश भट्टराई, पदाधिकारीमा पराजित भए पनि केन्द्रीय सदस्यमा निर्वाचित नेताहरू गोकुल बाँस्कोटा, कृष्णगोपाल श्रेष्ठ, कर्णबहादुर थापा, डा. विन्दा पाण्डे र रचना खड्कालगायत सहभागी थिए ।
केन्द्रीय कमिटीमा निर्वाचित र पूर्वपदाधिकारीलाई जस्तै कार्यालय सचिव डा. भीष्म अधिकारीले बैठकबारे जानकारी दिँदै उपस्थित हुन पोखरेललाई सूचित गरेका थिए । तर, अध्यक्ष केपी ओली र महासचिव शंकर पोखरेलले नै टेलिफोन गरेर नबोलाएका कारण उनी बैठकमा नगएको स्रोतको दाबी छ । बैठकमा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यकै रोमा बसेका थिए ।