बाराका अग्रज फोटो पत्रकार फैजुल्लाह आलमको शुक्रबार साँझ निधन भएको छ। परवानीपुर गाउँपालिका– ३, लिपनीमालनिवासी ५५ वर्षीय आलमको मस्तिष्कघातका कारण आफ्नै निवासमा निधन भएको हो।
आलमका भतिज अमिर अख्तरका अनुसार लामो समयदेखि वीरगन्ज हेल्थकेयर अस्पताल हुँदै भरतपुर अस्पतालमा मस्तिष्कघातको उपचार गराइरहेका उनलाई बिहीबार घर ल्याइएको थियो। पत्रकारितामा सक्रिय रहेकै समयमा पक्षघात भई केही वर्षयता स्वास्थ्यलाभ गरिरहेका उनलाई मस्तिष्कघात पनि भएको थियो।
स्थानीय पत्रकार, समाजसेवी तथा विभिन्न संघ–संस्थाले पत्रकार आलमको मृत्युमा गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।