ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाइनसम्बन्धी मार्गदर्शन, २०८२ विमोचन गरेका छन्। सहरी विकास मन्त्रालय र ह्याबिटाट फर ह्युमानिटी नेपाल संस्थाको संयुक्त आयोजनामा भएको विमोचन कार्यक्रममा स्थानीय सरकारका जनप्रतिनिधि, इन्जिनियरिङ समुदायका विज्ञहरूसमेतको उपस्थिति थियो ।
मन्त्री घिसिङले रैथाने नेपाली निर्माण सामग्रीको रूपमा रहेको बाँसलाई निर्माण सामग्रीको रूपमा प्रयोग गर्न प्रत्साहन गर्नुपर्ने बताए। उनले निर्माण सामग्रीको रूपमा बाँसलाई प्रयोग गर्न सकेमा रोजगारी सिर्जना भई ग्रामीण अर्थतन्त्रसमेत मजबुद हुन सक्ने तथा आयातीत निर्माण सामग्रीलाई निरुत्साहित गर्दै व्यापार घाटा कम गर्नसमेत मद्दत गर्न सक्ने बताए।
आकाशबाट हेर्दा नेपालका बस्तीहरूको छानो जस्ताले ढाकेको देखिएकोमा उनले बाँसकै प्रयोगबाट जस्ताको विकल्पसमेत खोज्न सुझाए। बाँसको व्यावसायिक खेतीलाई प्रोत्साहन गर्दै यसलाई हरित निर्माण सामग्रीको प्रयोगले जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्दै अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने कुरा बताए। उनले हाइड्रोपावरका कन्स्ट्रक्सन क्याम्पहरू निर्माणमा समेत बाँसको प्रयोग गरिनुपर्ने बताए।
ह्याबिटाट फर ह्युमानिटी नेपाल प्रमुख एलिजा स्थापितले मार्गदर्शन जारी भएकोमा खुसी व्यक्त गर्दै यस ऐतिहासिक कार्यप्रति सहरी विकास मन्त्रालयलाई बधाई एवं धन्यवाद दिनुहुँदै उहाँले भविष्यमा बाँसको प्रवर्द्धनात्मक कार्यहरूमा संस्थाबाट सदैव सहयोग रहने कुरा व्यक्त गरे ।
मार्गदर्शनले बाँसको कटाइ, ग्रेडिङ, रासायनिक उपचार, भण्डारण र प्रयोगलगायतका विषयमा स्पष्ट मापदण्ड तोकेको छ। बाँसको प्रयोगद्धारा भूकम्पप्रतिरोधी, वातावरणमैत्री र लागत–किफायती संरचना निर्माण गर्न सकिने सरल तथा सहज ढंगको डिजाइन विधि र आवश्यक विस्तृतीकरणसहित घरका नमुना डिजाइन समावेश गरिएको छ।