वैदेशिक रोजगारीको नाममा विभिन्न देश पठाउने बहानामा ठगी, तीन व्यक्ति पक्राउ

शुक्रबार, ४ पुष, २०८२
डिजिटल संस्करण

आकर्षक तलबको लोभ देखाउँदै वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै ठगी गरेको अभियोगमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका– ३२ बसोबास गर्ने कपिलवस्तु शिवराज नगरपालिका– ५ घर भएका ५४ वर्षीय पवित्रप्रकाश अधिकारी, सोही वडामा बस्दै आएकी भोजपुर षडानन्द नगरपालिका– १२ घर भएकी ३३ वर्षीया बबिता विश्वकर्मा तथा काठमाडौं गोकर्णेश्वर नगरपालिका– ५ बस्ने भक्तपुर चाँगुनारायण नगरपालिका– ९ घर भएका २५ वर्षीय साइरज सुवेदी रहेका छन्।

प्रहरीका अनुसार पवित्र अधिकारीले अल्बानिया पठाइदिने भन्दै चारजना पीडितबाट १९ लाख रुपैयाँ, बबिता विश्वकर्माले क्यानडा पठाइदिने आश्वासन दिई दुईजना पीडितबाट १९ लाख रुपैयाँ र साइरज सुवेदीले अमेरिका पठाइदिने भन्दै तीनजना पीडितबाट ११ लाख १४ हजार पाँच सय रुपैयाँ उठाएर सम्पर्कविहीन भएका थिए।

पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले पवित्र र बबितालाई काठमाडौं महानगरपालिका– ३२ बाट तथा साइरजलाई कागेश्वरी मनोहरा नगरपालिका– ८ बाट पक्राउ गरेको हो।

पक्राउ परेका तीनैजनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

सुझावित समाचार