कसरी जोगाउने हिंसापछिको आघातबाट समाजलाई ?

शुक्रबार, ४ पुष, २०८२
डिजिटल संस्करण
  • सामूहिक हिंसापछि पीडित परिवारमा पर्ने आघात र पीडामा मिडिया र सामाजिक सञ्जालमार्फत डर, क्रोध र अनिश्चितता थपिन सक्छ

आइतबार सिड्नीको बोन्डोई समुद्री तटमा भएको अतिवादी हमलाजस्ता सामूहिक हिंसापछि पीडित परिवारमा परेको आघात र पीडा लामो समयसम्म रहनेछ । मिडिया र सामाजिक सञ्जालमार्फत डर, क्रोध र अनिश्चितता फैलिने गर्छ । यसले बाँचेकाहरू र लक्षित समुदायमा पर्ने हानिलाई अझ तीव्र बनाउन सक्छ । यहाँ केही तरिका छन्, जसमार्फत पीडितले न्यून क्षति भोग्न सक्छन् । 

पीडा एक तरंग 
प्रकोप र सामूहिक हिंसाबारे गरिएका अनुसन्धानले देखाउँछन् कि पीडा प्रत्यक्ष रूपमा प्रभावित व्यक्तिभन्दा बाहिर पनि तरंग हुन सक्छ । धेरै मानिसका लागि यो वास्तविक तर अस्थायी हो भने कतिपयका लागि लामो समयसम्म रहन सक्छ । जोखिममा छिटो प्रतिक्रिया दिन मानव खतरा पत्ता लगाउने प्रणाली विकसित भएका छन्, यसले मानवीय क्षतिलाई न्यून गर्न सहयोग गर्छ । 

जब खतरा प्रणाली सक्रिय हुन्छन्, तिनले शरीरलाई परिचालन गर्छन् र सम्भावित खतराप्रति ध्यान केन्द्रित गर्छन् । हिंसापछिको आघातबाट व्यक्तिले उच्च सतर्कता महसुस गर्न सक्छ, निद्रा गुमाउँछ, खराब विचार वा तस्बिरले मनमा डेरा जमाइरहन्छ, शारीरिक रूपमा थकित र चिडचिडाहट महसुस हुन्छ । यी प्रतिक्रियाले व्यक्तिको शक्ति क्षीण हुन्छ । यी पीडाको समयमा अनिश्चितता अनुभव गर्नु स्नायु प्रणालीका सामान्य ढाँचा हुन् ।

बोन्डोईमा भएको आतंकवादी आक्रमणपछि मानिसहरू समाजमा के भइरहेको छ, को जोखिममा छन् र भवितव्यपछि के गर्ने भन्ने विषयमा अन्योलमा छन् । यसले मानिसलाई लामो समय अस्थिर बनाउन सक्छ । विद्यमान संकटलाई सञ्चार माध्यमले थप अतिरञ्जित गरेका छन् । सामूहिक हिंसाबारे मिडिया कभरेजले निम्त्याउने जोखिम आघातपछिको तनावका लक्षणसँग मेल खाने गरेको विभिन्न अनुसन्धानले देखाएका छन् । यस्तो आघात प्रत्यक्ष रूपमा पीडित नभएका व्यक्तिमा पनि देखा पर्न सक्छ । 

दूरीले पनि अर्थ राख्ने
हिंसात्मक वा गोलीबारीका घटना भएका स्थानले पनि समाजमा पर्न सक्ने आघातलाई प्रभाव पारेको हुन्छ । यसमा तपाईंले के देख्नुभयो वा सुन्नुभयो, महसुस गरिएको जोखिम समावेश छ । बाँचेकाहरू र शोक सन्तप्त परिवारका लागि प्रारम्भिक चरणमा प्राय: आघात र शोकले प्रभुत्व जमाउँछ । 

प्रारम्भिक झुटा दाबी सच्च्याइसकेपछि पनि त्यसको असर भावनात्मक रूपमा रहिरहन सक्छ । किनभने, उच्च तनावले भावनात्मक स्मरणलाई बलियो बनाउँछ । सामाजिक सञ्जालले यी गतिशीलतालाई अझ तीव्रता दिन्छ । तत्काल र भावनात्मक रूपमा ‘मोडिफाई’ गरिएका सामग्री ढिलो पुग्छन् । किनकि, धेरैजसो प्लेटफर्मले शुद्धताभन्दा बढी सतही सूचनालाई पुरस्कृत गर्छन् ।

उदाहरणका लागि सिड्नीका एक व्यक्ति नाबिद अक्रमलाई सामाजिक सञ्जालमा कथित बोन्डोई समुद्र तट बन्दुकधारीमध्ये एक भएको झुटो आरोप लगाइएको थियो, दुव्र्यवहारको निसाना बनाइएको थियो, जसका कारण उनी घरबाहिर निस्कन डराए । कृत्रिम बुद्धिमत्ता (एआई) उपकरणले भ्रम थप्न सक्छन् । उदाहरणका लागि एक्सको च्याटबोट ग्रोकले आक्रमणकारीलाई नि:शस्त्र पार्ने एक दर्शकलाई गलत पहिचान गर्यो र आक्रमणको प्रमाणित फुटेजलाई गलत लेबल लगायो । यसले संकटको समयमा द्रुत गतिमा बढिरहेका एआई आउटपुटहरू गलत हुन सक्छन् भन्ने सम्झना गराउँछ । बलिको बोका बनाउने अर्को सामान्य प्रतिक्रिया हो– एक व्यक्तिको कार्यका लागि सम्पूर्ण समूहलाई दोष लगाउने । यसले पनि हिंसाको आघात लामो समयसम्म समाजमा रहने संकेत गर्छ । गहिराइमा नपुगी सतही रूपमा अरूमा दोष थोपर्ने संस्कारले अनिश्चितता बढाउनुका साथै निर्दोष मानिसका लागि जोखिम बढाउन सक्छ ।

सामान्य हानि कसरी कम गर्ने ?
विपत् मनोविज्ञानले घटनालाई आकार दिने अवस्थाबाट अलग गर्छ । ती अवस्थामा सुरक्षा, विश्वास, सम्बन्ध र व्यवस्थित एक्सपोजर समावेश छन् । विपत् प्रतिक्रियामा व्यापक रूपमा प्रयोग हुने मनोवैज्ञानिक प्राथमिक उपचारले अभिभूत भएको भावना कम गर्ने, सामाजिक समर्थनलाई सुदृढ पार्ने र मानिसलाई भरपर्दो जानकारी र सेवामा जोड्ने कुरामा केन्द्रित छ । यी सिद्धान्त व्यक्तिमा मात्र लागू हुँदैनन् । सामाजिक रूपमा हिंसाको आघात न्यून गर्न निम्न तीन तरिका अपनाउन सकिन्छ :

१. अवाञ्छित एक्सपोजर कम गर्नुहोस् : ग्राफिक फुटेजको बारम्बार सेयरले बाँचेकाहरू र परिवारका लागि पीडा बढाउन सक्छ र लक्षित समुदायमा डर बढाउन सक्छ । सम्भव भएसम्म ग्राफिक्स सामग्री पुन: पोस्ट नगर्नुहोस् । त्यस्ता सामग्री सेयर गर्नुअघि सोच्नुहोस्, के यो प्रमाणित र आवश्यक छ वा केवल डरलाई बढाउँदै छ ?

२. जानकारी ढिलो दिनुहोस् : प्रारम्भिक जानकारी प्राय: अपूर्ण हुन्छन् । लामो समयसम्म डर निम्त्याउन सक्ने झुटा दाबी कम गर्न तत्काल दिनुभन्दा प्रमाणीकरणलाई प्राथमिकता दिनुहोस् ।

३. सामूहिक दोष लगाउनबाट जोगिनुहोस् : हिंसाको निन्दा गर्न सम्पूर्ण समूहलाई शंकाको नजरले हेर्न आवश्यक छैन । बलिको बोका बनाउनाले विश्वास तोड्छ र जोखिम बढाउँछ । बोन्डोई समुद्री तटमा आतंकवादी आक्रमणले यसको पीडितभन्दा बाहिरकालाई डर फैलाउने उद्देश्य राखेको थियो । 

(क्यामिलेरी मोनास विश्वविद्यालयमा ट्रान्स–जेनेरेसनल इफेक्ट्सकी अनुसन्धानकर्ता हुन्) 
द कन्भर्सेसनबाट

सुझावित समाचार