एमाले नेता काशीनाथ अधिकारीले छोडे सक्रिय राजनीति

एमालेमा लगातार ३३ वर्ष केन्द्रीय सदस्य भएपनि आफू नेता नभएको दाबी

शुक्रबार, ४ पुष, २०८२
डिजिटल संस्करण

नेकपा एमालेका नेता  काशीनाथ अधिकारीले सक्रिय राजनीतिबाटआफूले बिदा लिएको जानकारी दिएका छन् । शुक्रबार बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै अधिकारीले पचास वर्षको राजनीतिक जीवनमा ४४ वर्ष पूर्णकालीन भएर काम गरेको र  जति दिन काम गरेँ पूरा मनले गरेको उल्लेख गरेका छन् । इमान, निष्ठा र समर्पण, तन, मन र धनसमेत दिएर निसर्त तथा निस्वार्थ रूपमा राजनीति गरेको बताएका छन् । 

उनले नेकपा एमालेमा लगातार ३३ वर्ष केन्द्रीय सदस्य भए पनि आफू कहिले नेता नभएको उल्लेख गरेका छन् । आफू कार्यकर्ताको पात्रता भएको राजनीतिकर्मी रहेको बताएका छन् । उनले आफूलाई  समाज बदल्न हिँडेको वास्तविक झोले कार्यकर्ता भएको उल्लेख गरेका छन् ।

उनले लेखेका छन्,‘म ल्याङल्याङे कार्यशैलीको विरोधी हुँ, जसरी पनि जिम्मा पूरा गर्ने मेरो कार्यशैली रह्यो । मैले कहिल्यै पनि पद र अवसरका लागि मरिहत्ते गरिनँ । सपना असल कम्युनिस्ट बन्ने थियो, तर सबै मानकहरू पूरा गर्न सकिनँ । अब पार्टीका कुनै पनि कमिटी र निकायमा रहनेछैन । साधारण सदस्य रहेर पार्टी, समाज र देशका हितमा यथासम्भव  काम गरिरहनेछु । गुनासो गरेर होइन, नेतृत्वप्रति आभार र धन्यवाद व्यक्त गरेर, खुसीले, ६६ वर्षको उमेरमा सक्रिय राजनीतिबाट बिदा भएको छु । लामो राजनीतिक जीवनमा मबाट भएका भूलचूकहरूप्रति सम्बन्धित सबैसँग क्षमा माग्दछु ।’

सुझावित समाचार