विशेष अदालतले बाँकेको कोहलपुरस्थित मालपोत कार्यालयका खरिदार हरिचन्द्र पाण्डे र लेखापढी व्यवसायी शान्ति पुनलाई घुस मुद्दामा दोषी ठहर गर्दै एक एक महिनाको सजायको फैसला गरेको छ। एउटै इजलासले घुस र प्रतिकूल बकपत्र गरेको विषयमा उजुरीकर्तालाई समेत अदालतले सजायको फैसला गरेको छ। अदालतले घुस रिसवत लिई भ्रष्टाचार गरेका दुई मुद्दाको फैसला गरेको छ ।
विशेषका सदस्य सुदर्शनदेव भट्ट र हेमन्त रावलको इजलासले गत २ असारमा दायर मुद्दामा आंशिक ठहरको फैसला गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ महिनाअघि बाँकेको कोहलपुरस्थित मालपोत कार्यालयका खरिदार हरिचन्द्र पाण्डे र रतनबहादुर जिसीका साथै लेखापढी व्यवसायी शान्ति पुन र घनश्याम तिवारीविरुद्ध मुद्दा दायर गरेको थियो ।
अख्तियारको बुटवलस्थित टोलीले मुद्दा फाँटमा कार्यरत खरिदार पाण्डेले २० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पाण्डे, पुन र तिवारीलाई नियन्त्रणमा लिएको थियो । गत ९ जेठमा उनीहरू पक्राउ परेका थिए । उक्त रकम रेस्टुरेन्ट सञ्चालक तिवारीलाई राख्न दिएको खुलेको थियो जसपछि उनीसमेत यस मुद्दामा प्रतिवादी कायम गरिएका थिए ।
अनुसन्धानका क्रममा सेवाग्राहीसँग जग्गाको मोठ भिडाउने कार्यमा सहजीकरण गरिदिने भन्दै उक्त रकम पाण्डेले मागेका थिए । यसै मुद्दामा विशेषले फैसला सुनाउँदै खरिदार पाण्डे र लेखापढी व्यवसायी पुनलाई दोषी ठहर गरेको हो । उनीहरूलाई एक एक महिना कैदको सजाय सुनाएको छ
जिसीले रकम मागेको नदेखिएको तथा पैसा राखेका तिवारीको समेत संलग्नता नदेखिएको आधारमा सफाइ दिने फैसलामा उल्लेख छ । तर, उजुरीकर्तालाई भने सजाय सुनाइएको छ । अख्तियारले उजुरीकर्ता डम्मरबहादुर बुढाथोकीलाई पनि विशेषले एक महिना सजाय सुनाएको हो।
उजुरीकर्ता बुढाथोकीले घुस दिएको रकम अख्तियारबाट लिएका थिए । यही रकम प्रतिवादी पुनलाई दिएको र तिवारीको रेस्टुरेन्टमा भेटिएको थियो । साथै, कल रेकर्डहरूबाट समेत घुस लेनदेनको कुराकानी भएको पुष्टि भइरहेको अवस्थामा प्रतिकूल बकपत्र गरेकाले उनलाई समेत सजाय सुनाइएको विशेषले संक्षिप्त फैसलामा जनाएको छ । कसुर कायमको फैसला भएका तीनैजनालाई जनही ६ हजार ६६६ रुपैयाँ जरिवानाको फैसला भएको छ।