निर्वाचन कार्यतालिकाबमोजिम सरकारले काम गरिरहेको छ : अर्थमन्त्री खनाल

बिहिबार, ३ पुष, २०८२
डिजिटल संस्करण

अर्थमन्त्री रामेश्वर खनालले सरकारले निर्वाचन कार्यतालिकाबमोजिम काम अगाडी बढाइरहेको बताएका छन्। रुपन्देही उद्योग संघको आयोजनामा बिहीबारदेखि बुटवलमा शुरु भएको १६औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव २०८२ उद्घाटन समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री खनालले निर्वाचनको अर्को विकल्प सोच्न नहुने बताए।

‘जबसम्म राजनीतिक स्थिरता हुँदैन तबसम्म आर्थिक सुचक राम्रो हुन सक्दैन। अहिलेको संकट समाधान गर्न निर्वाचन निर्धारित समयमा गर्नुको विकल्प छैन। निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचन गर्नुको विकल्प छैन। यसका लागि धेरै दलहरु र छिमेकी देशहरु सकारात्मक छन्,’ उनले भने ‘अर्को विकल्प सोच्नु अर्को अनिश्चयको वातावरण बनाउनु हुनेछ। यसमा सबै दलको ध्यान जाओस्।’

अर्थमन्त्री खनालले जेनजी आन्दोलनपछिको अवस्थामा क्रमशः आर्थिक गतिविधि विस्तार भएका बताए। ‘कम मूल्यवृद्धि नेपालको इतिहासमा पहिलोपटक हो, यो आम उपभोक्तालाई राहत हो, आर्थिक गतिविधिमा विस्तार भएको छ, मुद्रा संचिति बढेको छ, वित्तीय सत्तामा पूँजी संचिति बढेको छ।’ उनले बुटवल पहिलेदेखि नै औद्योगिक हब भएकाले त्यसलाई निरन्तरता दिन व्यवसायीलाई आग्रह गर्दै सरकारले समन्वय गर्ने बताए।

पुस १७ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा ५ सय स्वदेशी उद्योगका स्टल रहेका आयोजक रुपन्देही उद्योग संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले जानकारी दिए। प्रदर्शनीले यस क्षेत्रको आर्थिक गतिविधिमा टेवा पुर्याउने पनि उनले बताए।

कार्यक्रममा उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार २०८१ बाट पत्रकार प्रकाश आचार्य पुरस्कृत भएका आयोजक संघका महासचिव सुमन बस्यालले जानकारी दिए।

सुझावित समाचार