सप्तरी जिल्ला अदालतले रामजानकी मन्दिरका पुजारी जन्त्रीदास बैरागीको हत्याका आरोपित रामनारायण मण्डललाई दुई लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।
अदालतमा हाजिर भएका मण्डललाई सप्तरी जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर थापा क्षेत्रीको एकल इजलासले धरौटी लिएर थुनामुक्त गर्न आदेश दिएको अदालतका सूचना अधिकारी उमेशकुमार अर्यालले जानकारी दिए।
अदालतबाट जारी म्यादमा हाजिर हुन नआएको र प्रहरीले पक्राउसमेत नगरेकाले ‘पक्राउ परेपछि मुद्दाको बाँकी कारबाही गर्ने गरी’ जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको इजलासले १४ फागुन ०७९ मा मण्डलसहित सातजनाविरुद्धको मुद्दा मुल्तबीमा राखेको थियो। तर, त्यसको साढे नौ महिनाअघि नै ३० वैशाख ०७९ मा स्थानीय तह निर्वाचनमा उनी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए।
मण्डलसहित सातजनाविरुद्ध सप्तरी जिल्ला अदालतबाट १५ वैशाख ०७८ मा पक्राउ पुर्जी जारी भएको थियो। पुजारी हत्या मुद्दामा मण्डल, उनका बुबा गंगाराम (बेल्हीचपेना गाविसका तत्कालीन अध्यक्ष) तथा अन्य आरोपीहरू रामनारायण मण्डल, रामदेव सदा मुसहर, मनिक शर्मा, बच्चा यादव (बौका) र भोलिछन सदा मुसहरविरुद्ध २२ असार ०७५ मा मुद्दा चलेको थियो।
तत्कालीन बेल्हीचपेना गाविस– ३ स्थित रामजानकी मन्दिरका पुजारी जन्त्रीदास बैरागीको अस्थिपञ्जर ३ साउन ०५५ मा फेला परेको थियो। हाल राजगढ गाउँपालिकाका अध्यक्ष रहेका मण्डलका बुबा गंगारामले मन्दिरको ११ बिघा जग्गाको धान मन्दिरलाई दिन नमानेको विवादले हत्या भएको अदालतमा दायर अभियोगपत्रमा उल्लेख छ। राजविराजमा रहेका गाविस अध्यक्षसँग बैठक गर्ने भन्दै पुजारीलाई बोलाएर कोशी नहरको उत्तर–दक्षिण जाने पुलनजिक हत्या गरेर फालेको आरोप छ।
मन्दिरको बाली लुटपाट गरेको र ज्यान मार्ने धम्की दिएको भन्दै पुजारीले गंगारामविरुद्ध जिल्ला प्रशासन कार्यालय सप्तरीमा निवेदन दिएका थिए। तर, ‘मिलापत्र गराइदिन्छु, गंगाराम मण्डल राजविराजमै छ, गएर भेटघाट गरी प्रहरी चौकी पथलगाडामा बैठकमा जानुपर्छ’ भनेर बच्चा यादव (बौका)ले पुजारीलाई लिएर गएको देखिएको अभियोगपत्रमा उल्लेख छ। तर, पुजारी बेपत्ता भएको १० दिनपछि अस्थिपञ्जर फेला परेको थियो।