पुजारीको हत्यारालाई कारबाहीको माग गर्दै जिल्ला अदालतअगाडि सन्त–महन्तको प्रदर्शन

बिहिबार, ३ पुष, २०८२
डिजिटल संस्करण

रामजानकी मन्दिरका पुजारी जन्त्रीदास बैरागीको हत्यामा संलग्नलाई कारबाही माग गर्दै सन्त–महन्तहरूले सप्तरी जिल्ला अदालत राजविराजअगाडि प्रदर्शन गरेका छन्। पुजारीको हत्या गर्नेलाई कडा सजायको माग गर्दै सप्तरीका सन्त–महन्तहरूले जिल्ला अदालतअगाडि बिहीबार शान्तिपूर्ण प्रदर्शन गर्दै धर्ना दिएका हुन्।

विभिन्न स्थानबाट सदरमुकाम राजविराज पुगेका उनीहरू जिल्ला अदालतअगाडि शान्तिपूर्ण प्रदर्शनसहित धर्ना बसेका थिए। विभिन्न नारा लेखिएको प्लेकार्डसहित सन्त–महन्तहरू बिहान ११ बजेदेखि जिल्ला अदालतअगाडि शान्तिपूर्ण प्रदर्शनसहित धर्नामा बसेका थिए।

अदालतमा हाजिर भएका प्रतिवादी रामनारायण मण्डलको न्यायाधीश महेन्द्रबहादुर थापा क्षेत्रीको एकल इजलासमा थुनछेक बहस चलिरहेकाले हदैसम्मको सजायको माग राखी शान्तिपूर्ण प्रदर्शन र धर्नामा बसेको मन्दिरका महन्तले बताए।

अदालतबाट जारी म्यादमा हाजिर हुन नआएको र प्रहरीले पक्राउसमेत नगरेकाले ‘पक्राउ परेपछि मुद्दाको बाँकी कारबाही गर्ने गरी’ जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको इजलासले १४ फागुन ०७९ मा मण्डलसहित सातजनाविरुद्धको मुद्दा मुल्तबीमा राखेको थियो। तर, त्यसको साढे नौ महिनाअघि नै ३० वैशाख ०७९ मा स्थानीय तह निर्वाचनमा उनी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए।

मण्डलसहित सातजनाविरुद्ध सप्तरी जिल्ला अदालतबाट १५ वैशाख ०७८ मा पक्राउ पुर्जी जारी भएको थियो। पुजारी हत्या मुद्दामा मण्डल, उनका बुबा गंगाराम (बेल्हीचपेना गाविसका तत्कालीन अध्यक्ष) तथा अन्य आरोपीहरू रामनारायण मण्डल, रामदेव सदा मुसहर, मनिक शर्मा, बच्चा यादव (बौका) र भोलिछन सदा मुसहरविरुद्ध २२ असार ०७५ मा मुद्दा चलेको थियो।

तत्कालीन बेल्हीचपेना गाविस– ३ स्थित रामजानकी मन्दिरका पुजारी जन्त्रीदास बैरागीको अस्थिपञ्जर ३ साउन ०५५ मा फेला परेको थियो। हाल राजगढ गाउँपालिकाका अध्यक्ष रहेका मण्डलका बुबा गंगारामले मन्दिरको ११ बिघा जग्गाको धान मन्दिरलाई दिन नमानेको विवादले हत्या भएको अदालतमा दायर अभियोगपत्रमा उल्लेख छ। राजविराजमा रहेका गाविस अध्यक्षसँग बैठक गर्ने भन्दै पुजारीलाई बोलाएर कोशी नहरको उत्तर–दक्षिण जाने पुलनजिक हत्या गरेर फालेको आरोप छ।

मन्दिरको बाली लुटपाट गरेको र ज्यान मार्ने धम्की दिएको भन्दै पुजारीले गंगारामविरुद्ध जिल्ला प्रशासन कार्यालय सप्तरीमा निवेदन दिएका थिए। तर, ‘मिलापत्र गराइदिन्छु, गंगाराम मण्डल राजविराजमै छ, गएर भेटघाट गरी प्रहरी चौकी पथलगाडामा बैठकमा जानुपर्छ’ भनेर बच्चा यादव (बौका)ले पुजारीलाई लिएर गएको देखिएको अभियोगपत्रमा उल्लेख छ। तर, पुजारी बेपत्ता भएको १० दिनपछि अस्थिपञ्जर फेला परेको थियो।

सुझावित समाचार