हेटौँडामा ठोक्किए तीनवटा सवारीसाधन, सातजना घाइते

बिहिबार, ३ पुष, २०८२
डिजिटल संस्करण

हेटौँडा उपमहानगरपालिका– ९ स्थित प्रगतिचोकमा बिहीबार बिहान सवारी दुर्घटना हुँदा सातजना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत उक्त स्थानमा इभी गाडी, स्कुटर र स्कार्पियो पिकअप एक–आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौँडा बजारबाट रातोमाटेतर्फ जाँदै गरेको मधेश प्रदेश ०१–००१ ज ०१११ नम्बरको इभी गाडीले विपरीत दिशाबाट आइरहेको बागमती प्रदेश ०३–००६ प ९७५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । 

सोही क्रममा इभी गाडीले पुनः विपरीत दिशाबाट हेटौँडातर्फ आउँदै गरेको बा.१७च ४२७२ नम्बरको स्कार्पियो पिकअपलाई ठक्कर दिँदा तीनवटै सवारीसाधन दुर्घटनामा परेका हुन् ।

दुर्घटनामा घाइते भएकामध्ये तीनजनाको हेटौँडा अस्पताल र चारजनाको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । सबै घाइतेको अवस्था सामान्य रहेको छ ।

हेटौँडा अस्पतालमा उपचार गराइरहेकामध्ये इभी गाडीमा सवार हेटौँडा– ४, कर्राकी ३७ वर्षीया सरस्वती राणाको बायाँ हातमा चोट लागेको छ । यस्तै, स्कार्पियोमा सवार भोजपुर षडानन्द नगरपालिका– १० का ६६ वर्षीय हेमसाङ तामाङको टाउकोमा चोट लागेको छ भने उनकी पत्नी ५९ वर्षीया राजकुमारी तामाङको दुवै खुट्टामा सामान्य चोट लागेको छ । तामाङ क्यान्सरसम्बन्धी उपचारका लागि काठमाडौं जाँदै गरेको प्रहरीले जनाएको छ । यस्तै, मकवानपुर सहकारी अस्पतालमा उपचार गराइरहेका घाइतेमध्ये इभी चालक हेटौँडा– १५, रातोमाटेका २५ वर्षीय सुमन लामा घटनास्थलमै बेहोस भए पनि अस्पताल ल्याइएपछि होसमा आएको प्रहरीले जनाएको छ ।  

इभीमा सवार मकवानपुरगढी गाउँपालिका– ५ का ७८ वर्षीय टीकाप्रसाद तिमिल्सिनाको निधारमा चोट लागेको छ । स्कुटरचालक हेटौँडा– ९, एचआइडीका ३९ वर्षीय दीपक रुम्बाको दाहिने खुट्टामा चोट लागेको छ भने पछाडि सवार उनकी पाँच वर्षीया छोरी ग्रेसी रुम्बाको टाउकोमा चोट लागेको छ ।

दुर्घटनापछि इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी नायब निरीक्षक प्रकाश केसीको कमान्डमा खटिएको टोलीले उनीहरूको  उद्धार गरेको थियो । दुर्घटनामा परेका तीनवटै सवारीसाधनमा क्षति पुगेको र हाल इलाका प्रहरी कार्यालय पशुपतिनगरमा राखिएको प्रहरीले जनाएको छ ।

स्कार्पियोका चालक भोजपुरका ३९ वर्षीय दिनेश तामाङ प्रहरी सम्पर्कमा रहेका छन् । प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

सुझावित समाचार