बालुवाटार निवासबाटै विद्याको सक्रियता

बिहिबार, ३ पुष, २०८२
डिजिटल संस्करण

आफ्नो सदस्यता नवीकरण नभएपछि प्रत्यक्ष मैदानमा उत्रिन नपाएकी पूर्वराष्ट्रपति विद्या भण्डारीले एमालेको ११औँ महाधिवेशनमा इतर समूहको टिम बनाउन पर्दापछाडिबाट सक्रिय भूमिका निभाएकी छिन् । नेताहरूका अनुसार अध्यक्षका उम्मेदवार ईश्वर पोखरेलको टिम निर्माणमा भण्डारीले पूर्णत: समन्वयात्मक भूमिका निर्वाह गरिन् । 

पार्टी राजनीतिमा फर्किने योजनामा रहेकी भण्डारीको सदस्यता नवीकरणले मान्यता नपाएपछि उनी अध्यक्ष केपी ओलीसँग असन्तुष्ट देखिइन् । यही पृष्ठभूमिमा उनले प्रत्यक्ष अग्रमोर्चामा नआएरै पोखरेल समूहसँग निरन्तर संवाद र परामर्शमार्फत टिम निर्माणलाई सहजीकरण गरेकी हुन् । 

सार्वजनिक रूपमा समूहको अगुवाइ ईश्वरले गरे पनि संगठनभित्रको सन्तुलन, समावेशिता र पुस्तान्तरणलाई ध्यानमा राखेर टिमलाई आकार दिन भण्डारीको परामर्श निर्णायक बनेको नेताहरू बताउँछन् । भण्डारी आफ्नो सदस्यता नवीकरण ओलीले रोकेको बुझाइमा छिन् । विभिन्न सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्तामा पनि उनले ओलीसँगको असन्तुष्टि पोख्ने गरेकी छिन् । 

११औँ राष्ट्रिय महाधिवेशन तयारीका क्रममा उनी पार्टी कार्यालय च्यासल गइनन् । उनलाई महाधिवेशन उद्घाटनमा एमालेले अतिथिकै रूपमा पनि निम्तो गरेको थिएन । बालुवाटारस्थित पुत्री उषाकिरणको निवासबाटै उनले महाधिवेशनमाथि नजर राखिन् । र, पोखरेलको टिम निर्माणमा सक्रिय भूमिका खेलिन् । तर, निकट नेताहरूले उनको भूमिकाबारे प्रतिक्रिया दिन चाहेनन् । केन्द्रीय कमिटी बैठकबाटै सदस्यता नवीकरणले मान्यता नपाएपछि एमालेमा फर्किएर पार्टीको नेतृत्व लिने भण्डारीको योजनामा ‘ब्रेक’ लागेको थियो

उद्घाटनको बिहानै प्रतिनिधिहरूलाई सम्बोधन गर्दै भण्डारीले महाधिवेशन सफलताको शुभकामना दिएकी थिइन् । त्यसक्रममा उनले लोकतान्त्रिक संवाद, स्वस्थ प्रतिस्पर्धा तथा सहकार्यको वातावरणलाई सुदृढ गर्न ध्यानाकर्षण गरेकी थिइन् । ‘तपाईं महाधिवेशन प्रतिनिधिहरू राजनीतिक रूपमा परिपक्व र आ–आफ्ना क्षेत्रका जिम्मेवार नेतासमेत हुनुभएकाले पार्टीको आन्तरिक जीवन, मुलुकको परिवर्तित परिवेश तथा विश्व परिस्थितिबारे अवगत नै हुनुहुन्छ,’ भण्डारीले शुभकामना सन्देशमा भनेकी थिइन्, ‘यस्तो परिवेशमा आयोजित पार्टीको सर्वोच्च निकायका रूपमा रहेको यो महाधिवेशन जबजका आधारभूत मान्यताहरूलाई आत्मसात् गर्दै पार्टीभित्र लोकतान्त्रिक संवाद, स्वस्थ प्रतिस्पर्धा तथा सहकार्यको वातावरणलाई अझ सुदृढ बनाउँदै योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुनेछ भन्ने दृढ विश्वास लिएकी छु ।’

त्यस्तै, उनले उपलब्धि रक्षामा जोड दिएकी थिइन् । ‘मुलुक अहिले तरल राजनीतिक अवस्थाबाट गुज्रिरहेको परिप्रेक्ष्यमा, प्राप्त उपलब्धिहरूको दृढतापूर्वक रक्षा गर्दै थप उपलब्धि हासिल गर्न एकताबद्ध भएर अघि बढ्नु आजको आवश्यकता हो । मुलुक र जनताप्रति उत्तरदायी तथा दूरदृष्टिपूर्ण निर्णयहरू गर्न यो महाधिवेशन सफल होस्, हार्दिक शुभकामना !’ उनले भनेकी थिइन् । त्यसो त, प्रतिनिधि छनोटको सँघारमा समेत उनले पार्टीपंक्तिलाई सम्बोधन गर्दै अपिल जारी गरेकी थिइन् । 

सुझावित समाचार