पोखरा महानगरपालिकाले मनायो ६७औँ स्थापना दिवस

बुधबार, २ पुष, २०८२
डिजिटल संस्करण

पोखरा महानगरपालिकाले ६७औँ स्थापना दिवस विविध कार्यक्रम गरि मनाएको छ । २ पुस ०१६ मा स्थापना भएको पोखरा नगरपालिका ०१७ सालमा नगर पञ्चायत, ०४७ सालमा पुनः नगरपालिका, ०५२ सालमा उप–महानगरपालिका, २७ फागुन ०७३ मा पोखरा लेखनाथ महानगरपालिका हुँदै २३ साउन ०७५ मा पोखरा महानगरपालिका नामाकरण भएको थियो । भूगोलका हिसाबले पोखरा काठमाडौंभन्दा नौ गुणा र ललितपुर भन्दा १४ गुणा ठुलो रहेको छ ।

सप्ताहव्यापी रूपमा स्थापना दिवस मनाएको पोखराले अन्तिम दिन बुधबार पोखराको चिनारी-पहिचानका रूपमा स्थापित लोकबाजा सारंगी पार्क शिलान्यास, पोखरेली नवरत्न सम्मान, सर्वोत्कृष्ट, उत्कृष्ट र कर्तव्यनिष्ठ कर्मचारी, महानगर मातापिता (जेष्ठ नागरिक), उत्कृष्ट करदातालाई सम्मान गरेको थियो ।

यसअघि शिक्षक विद्यार्थी तथा विद्यालयलाई सम्मान, रक्तदान, कृषि क्विज, सरसफाई, न्यानो कपडा वितरणलगायत कार्यक्रम गरेको थियो । सम्मानसँगै पुरस्कृत हुनेहरूलाई गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, महानगरका मेयर धनराज आचार्यलगायतले सम्मान गरेका थिए । 

पोखरेली नवरत्न सम्मान पाउने पोखरा रत्नहरू
पोखरा निर्माण तथा समाजका विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने व्यक्तित्वहरूमध्येबाट उत्कृष्ट छनोट गरी नौजनालाई पोखरेली नवरत्न सम्मान ०८२ प्रदान गरिएको थियो । जस गायन-संगीत क्षेत्रबाट नेपथ्य ब्यान्डका अमृत गुरुङ, धार्मिक पर्यटन-कृषि उद्यम क्षेत्रबाट पोखरा २२ पुम्दीकोटस्थित विशाल महादेव मूर्ति बनाउने परिकल्पनाकारसमेत रहेका उद्योगी चन्द्रकान्त बराल, समाजसेवा-उद्योग क्षेत्रबाट कर्माचाय ग्रुपका चन्द्रकृष्ण कर्माचार्य, साहित्य क्षेत्रबाट तीर्थ श्रेष्ठ, पत्रकारिता क्षेत्रबाट तिलकमान गुभाजु, स्वास्थ्य क्षेत्रबाट पोखरा स्वास्थ्य प्रतिष्ठानका पूर्व उपकुलपति प्राडा बुद्धिबहादुर थापा, खेलकुद-शिक्षा क्षेत्रबाट प्राडा वीरेन्द्रसिंह गुरुङ, उद्यमशीलता क्षेत्रबाट रामकली खड्का, शिक्षा सेवा-उद्योग क्षेत्रबाट हरिप्रसाद पाण्डे रहेका छन्  

यो सम्मान पहिलोपटक ०५५ सालमा प्रदान नगरिएको थियो त्यसपछि निरन्तरता नपाएको सम्मानबाट ०५९ सालमा नौ जनालाई र २०७२ सालमा तीनजनालाई सम्मान गरिएको थियो । १० वर्षदेखि रोकिएको सम्मानलाई यसवर्षदेखि महानगरले निरन्तरता दिएको पोखरा महानगरका प्रमुख धनराज आर्चायले जानकारी दिए । 

१०४ वर्षका महानगर मातापिता
कार्यक्रममा दुईजनालाई महानगर मातापिता (जेष्ठ नागरिक) को रुपमा सम्मानपत्र र दोसल्लासहित सम्मान गरिएको थियो । पोखरा–२८ आरुपाटा घर भएकी १०४ वर्षकी झ्याउरी तिमिल्सिनालाई महानगर माता र पोखरा–३२ डाँडाखर्क घर भएका १०४ वर्षका काशीनाथ पण्डितलाई महानगर पिताको रूपमा सम्मान गरिएको थियो ।

आचार्य सर्वोत्कृष्ट कर्मचारी
महानगरपालिकाको सर्वोत्कृष्ट कर्मचारीको रूपमा शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यलाई सम्मान गरिएको थियो । यसैगरी उत्कृष्ट कर्मचारी र कर्तव्य निष्ठ कर्मचारी गरि १० जना, महानगरपालिकाका ३३ वटै वडाहरु मध्येबाट सरसफाइमा उत्कृष्ट तीन वडा, महानगर मातहतका कार्यालयमध्येबाट सरसफाइमा उत्कृष्ट कार्यालयलाई समेत पुरस्कृत एवं सम्मान गरिएको थियो । 

मणिपाललाई बढी कर तिर्ने करदाता सम्मान
पोखरा–११ फुलबारीस्थित मणिपाल एजुकेसन एन्ड मेडिकल ग्रुप प्रालि (मणिपाल मेडिकल क्लेज तथा शिक्षण अस्पताल) लाई बढी कर तिर्ने करदाताको रूपमा सम्मान गरिएको थियो । मणिपालले महानगरलाई गत आर्थिक वर्ष मालपोत, सम्पत्ति र व्यवसाय गरी ३६ लाख १४ हजार १५ रुपैयाँ ३४ पैसा कर तिरेको थियो ।

बढी कर तिर्ने करदाताको सम्मान पाएको मणिपालले महानगरलाई नक्सा पास बापतको १९ करोड ८१ लाख ११ हजार रकम नतिरेको मुद्दामा सर्वाेच्च अदालतमा विचाराधीन छ । मणिपाललसँग महानगरले नियमअनुसार नक्सापास बापत २१ करोड ५७ लाख ११ हजार ७९८ रुपैयाँ राजश्व लिनुपर्नेमा १९ करोड ८१ लाख ११ हजार छुट गरी जम्मा एक करोड ७५ लाख ५३ हजार राजश्व लिएर भवन निर्माणको नक्सापास स्वीकृति दिएको हो ।

०५३ सालदेखिको नक्सापास दस्तुर विवादमा  महानगरपालिकामा जेठमा ०७९ मा धनराज आर्चाय मेयर भएर आएसँगै कार्यपालिका बैठकले निर्णय गर्दै करिब २० करोड राजस्व छुट दिएको हो । यस निर्णयपछि अख्तियारले महानगरमा छापा हानेर कागजात नियन्त्रणमा लिएको थियो भने पछि यो विवाद अदालत सम्म पुगेको र हाल विचाररधीन अवस्थामा रहेको छ । 
 

सुझावित समाचार