लागुऔषधको झुटो सूचना दिएर फसाउन खोजेको आरोपमा चारजना पक्राउ

बुधबार, २ पुष, २०८२
डिजिटल संस्करण

पुरानो रिसइबीको बदला लिन लागुऔषधसम्बन्धी झुटो सूचना दिएर सर्वसाधारणलाई फसाउन खोजेको आरोपमा मोरङ प्रहरीले चारजनालाई पक्राउ गरेको छ।

मोरङ प्रहरीले मोरङको धनपालथान– ७ का २७ वर्षीय विशालकुमार सिंह, रोशन मण्डल, धनपालथान–१ का २८ वर्षीय पारस मण्डल र विराटनगर– ९ का २७ वर्षीय राजा धोबीलाई फेक सूचना दिएर प्रहरीलाई हैरानी र सर्वसाधारणलाई कष्ट दिएको आरोपमा पक्राउ गरेको हो।

पक्राउ परेकामध्ये धनपालथानका विशालकुमारले गिरोहसँग मिलेर पुरानो रिसइबीको बदला लिन २७ मंसिरमा धनपालथान गाउँपािलका– १ का २९ वर्षीय राजीव चौधरीको मोटरसाइकलको डिक्कीमा खैरो हेरोइनजस्तो पदार्थ राखेको भनेर प्रहरीलाई गलत सूचना दिएका थिए। तर, प्रहरीले खानतलासी गर्दा राजीवको साथबाट केही फेला पारेन।

विशालकुमारका साथीहरूले गत २० वैशाखमा पनि राजीवका ससुरा ४५ वर्षीय चन्द्रशेखर मण्डलको मोटरसाइकलमा लागुपदार्थ हेरोइनजस्तो देखिने सेतो पदार्थ  राखेर अवैध कारोबार गर्ने गरेको भनी झुटो सूचना प्रहरीलाई दिएका थिए। सूचनाको आधारमा तत्काल पक्राउ परेका चन्द्रशेखरले बरामद पदार्थ लागुऔषध नभएको परीक्षणबाट पुष्टि भएपछि मात्र अदालतबाट सफाइ पाएका थिए।
  
मोरङ प्रहरी प्रवक्ता डिएसपी कोपिला चुँडालका अनुसार ससुरासँग भएको पहिलो घटनाबाट सशंकित भएको मोरङ प्रहरीले दोस्रोपटक पनि सोही समूहबाट ज्वाइँलाई फसाउन गलत सूचना पाएपछि उनीहरुको खोजीमा लागेको थियो।

सुझावित समाचार