संखुवासभाको खाँदबारी नगरपालिका– ४, सेकाहामा ऐतिहासिक सेकाहा महोत्सव आयोजना हुने भएको छ। ‘पुस ११–१५ खाँदबारी– ४ सेकाहा जाऔँ, ऐतिहासिक सेकाहा महोत्सवलाई भव्यताका साथ मनाऔँ’ भन्ने नारासहित सेकाहा महोत्सव हुन लागेको हो।
महोत्सवलाई भव्य र सभ्य बनाउन मूल आयोजक समितिका साथै विभिन्न उपसमितिहरू गठन गरी तीव्र रूपमा तयारीमा जुटेको सेकाहा सामुदायिक विकास क्लबका अध्यक्ष मनिराज गुरुङले बताए।
महोत्सवमा सेकाहा रंगशाला उद्घाटन तथा जग्गादाताहरूलाई सम्मान, अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिता, स्थानीय तथा राष्ट्रियस्तरका चर्चित गायक–गायिकाद्वारा बृहत् सांगीतिक कार्यक्रम प्रस्तुति हुनेछ। साथै, पर्यटकीय क्षेत्र सेकाहा गाउँको अवलोकन, पर्यटन प्रवर्द्धन तथा होमस्टे अवलोकन, विभिन्न जातजातिहरूको सांस्कृतिक झाँकी प्रदर्शनी, कृषि तथा घरेलु उत्पादनको प्रदर्शनी, जिल्लाभरका गुरुङ जातिहरू भेला भएर ल्होसार पर्व मनाउने र अन्य विभिन्न खेलकुद कार्यक्रमहरू छेलो हान्ने, डोरी तान्ने, हाँडी फुटाउने र नृत्यहरू हुने अध्यक्ष गुरुङले बताए।
महोत्सवमा विभिन्न कार्यक्रमका साथै देशका विभिन्न क्षेत्रका साथै सिक्किमलगायतबाट समेत पाहुनाहरू सेकाहा भित्रिने आयोजक सेकाहा सामुदायिक विकास क्लबका सचिव सलबहादुर गुरुङले बताए। तमू ल्होसारको अवसरमा आयोजित यो महोत्सवले पुस ११ देखि १५ गतेसम्म पाँच दिन बजार लाग्नेछ।
सेकाहा सामुदायिक विकास क्लबको आयोजनामा ‘ऐतिहासिक सेकाहा महोत्सव–२०८२’ हुन लागेको हो। महोत्सवको सहआयोजकमा मकालु बरुण बौद्ध गुम्बा रहेको छ भने मुख्य प्रायोजक ४ नं. वडा कार्यालय खाँदबारी नगरपालिका र प्रायोजकमा सिरुपाते ग्लोबल ग्रुप भालुकाभ्रा रहेको छ।