कुमारी बैंक लिमिटेडले ग्रिन हायर पर्चेज कर्जा योजना सञ्चालनमा ल्याएको छ । बैंकले जिआइजेड, ग्लोबल ग्रिन ग्रोथ इन्स्टिच्युटजस्ता संस्थाहरूद्वारा व्यवस्थापन तथा प्रवर्द्धन गरिएको सस्टेनेबल इलेक्ट्रिक ट्रान्सपोर्ट नेपाल परियोजनाअन्तर्गत साझेदारी गर्दै यो योजना सञ्चालनमा ल्याएको जनाएको छ ।
योजनाअन्तर्गत सार्वजनिक यातायात सेवा प्रवाहमा आबद्ध व्यक्तिले विद्युतीय बस तथा माइक्रो बस खरिद गर्न बैंकबाट कर्जा लिँदा, आकर्षक ब्याजदरमा कर्जा सुविधा प्राप्त गर्नेछन् । साथै, ऋणीले भुक्तानी गर्नुपर्ने सुरुवाती रकम (डाउन पेमेन्ट)मा परियोजनाबाट निर्धारित अनुदानसमेत पाउने बैंकले जनाएको छ ।
त्यसैगरी, इन्धनमा आधारित सार्वजनिक सवारीसाधन सञ्चालन गरिरहेका व्यक्तिले आफ्ना सवारीसाधन विद्युतीय बस तथा माइक्रो बसमा बदल्नका लागि कर्जा लिन चाहेमा समेत थप अनुदान प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । यसका लागि ऋणीले परियोजनामा आबद्ध सवारीसाधन आपूर्तिकर्ताबाट विद्युतीय बस तथा माइक्रो बस खरिद गर्न आवश्यक कागजातसहित कुमारी बैंकका शाखामा सम्पर्क गर्नुपर्ने बताइएको छ ।
यस योजनाअन्तर्गत समावेश गरिएको अनुदानले ऋणीको सुरुवाती पुँजीको व्यवस्थापनमा सहुलियत हुनेछ । त्यस्तै, सार्वजनिक यातायातमा विद्युतीय सवारीसाधनको प्रयोगसँगै प्रदूषणसमेत कम गर्न सकिनेजस्ता बहुआयामिक लाभ प्राप्त हुने बैंकको दिगो बैंकिङ विकास विभागका प्रमुख अर्पण पौडेलले जानकारी दिए ।