स्वावलम्बन लघुवित्तले शाखा कार्यालय कमलविनायक, भक्तपुरको आयोजनामा एकदिने वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । वित्तीय संस्थामा आबद्ध सदस्य, अभिभावक तथा स्थानीय सरोकारवालालाई वित्तीय कारोबार, बचत तथा उद्यमशीलताका विषयमा जानकारी दिने उद्देश्यले सोमबार उक्त कार्यक्रम आयोजना गरिएको हो ।
केन्द्र नं ४३ की केन्द्र प्रमुख चम्पा आलेमगरको अध्यक्षतामा भएको कार्यक्रममा लघुवित्तका सञ्चालक समितिका सदस्य रविनकुमार श्रेष्ठ, प्राडा कुसुम शाक्यको उपस्थिति थियो । सोही कार्यक्रममा कमलविनायक शाखाअन्तर्गतका उत्कृष्ट केन्द्रलाई पुरस्कृत गर्नुका साथै बिमा सुविधा पनि प्रदान गरिएको लघुवित्तले जनाएको छ । कमलविनायक कार्यालय प्रमुख सुनीता काफ्लेले कार्यक्रमको महत्वबारे प्रकाश पारिन् ।
कार्यक्रममा संस्थाको केन्द्रीय कार्यालय, कमलपोखरी काठमाडौंका प्रबन्धक सुमन श्रेष्ठले स्वावलम्बन लघुवित्तको परिचय, यसले प्रदान गर्ने सेवा–सुविधाबारे सहभागीलाई जानकारी गराए । वित्तीय साक्षरता कक्षा सञ्चालन गर्दै बचत, ऋणको सही सदुपयोग, पारिवारिक बजेट निर्माण र वित्तीय अनुशासनका विषयमा सहभागीलाई प्रशिक्षणसमेत दिएका थिए ।