ज्योति विकास बैंकका कर्मचारीमाथि कुटपिट प्रकरण: सप्तकोशीकी उपमेयर फरार, पति पक्राउ

बुधबार, २ पुष, २०८२
डिजिटल संस्करण
ज्योति विकास बैंकका कर्मचारीमाथि कुटपिट प्रकरण: सप्तकोशीकी उपमेयर फरार, पति पक्राउ

उपमेयर रीताकुमारी चौधरी

  • ज्योति विकास बैंक प्रादेशिक कार्यालय बर्दीबासका उपप्रबन्धक सुमित श्रेष्ठ र रूपनी शाखाका कर्मचारी सविन श्रेष्ठमाथि उपमेयर चौधरीसहित कम्पनीका सेयरधनी तथा आफन्तले गत बुधबार घेराबन्दी गर्दै मोसो दल्ने, जुत्ताको माला लगाउने, गालीगलौज गर्ने र लट्ठीले कुटपिट गरेको भिडियो सार्वजनिक भएको थियो

सप्तरीमा ऋण असुलीका लागि पुगेका ज्योति विकास बैंकका कर्मचारीलाई मोसो दल्नुका साथै कुटपिट घटनाका आरोपित सप्तकोशी नगरपालिकाका उपमेयर रीताकुमारी चौधरीसहित पाँचजना फरार भएका छन् । उपमेयर चौधरीसहित उनका छोरा सिरज तथा सप्तकोशी इन्ट्रिग्रेटेड एग्रो फार्मका सेयरधनीहरू प्रभुनारायण चौधरी र पञ्चदेव चौधरी तथा स्थानीय रवीन्द्र स्वर्णकार फरार भएका हुन् । 

उपमेयरका पतिसमेत रहेका कम्पनीका सेयरधनी सञ्जीवकुमार चौधरी र उमाकान्त चौधरी भने पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय, कञ्चनपुरका डिएसपी माधवप्रसाद काफ्लेले दुईजना पक्राउ परे पनि उपमेयरसहित पाँचजना फरार रहेको बताए । पक्राउ परेका दुवैजनालाई सप्तरी जिल्ला अदालत सप्तरीबाट पाँच दिनको म्याद थप भएर अनुसन्धान भइरहेको उनले बताए । ‘फरारको हकमा खोजी भइरहेको छ,’ उनले भने । सप्तकोशीका मेयर कृष्णप्रसाद ढकालले पनि उपमेयर सम्पर्कविहीन रहेको र आफूलाई थप जानकारी नरहेको बताए । 

ज्योति विकास बैंक प्रादेशिक कार्यालय बर्दीवासका उपप्रबन्धक सुमित श्रेष्ठ र रूपनी शाखाका कर्मचारी सविन श्रेष्ठमाथि उपमेयर चौधरीसहित कम्पनीका सेयरधनी तथा आफन्तले गत बुधबार घेराबन्दी गर्दै मोसो दल्ने, जुत्ताको माला लगाउने, गालीगलौज गर्ने र लठ्ठीले कुटपिट गरेको भिडियो सार्वजनिक भएको थियो । त्यसपछि बैंकले उपमेयर चौधरीसहित सातजनाविरुद्ध अपहरण, शरीर बन्धक, कुटपिट र लुटपाटसम्बन्धी कसुरमा जाहेरी दिएको थियो । 

बैंकका अनुसार सप्तकोशी नगरपालिका– ७ ओद्राहास्थित सप्तकोशी इन्ट्रिग्रेटेड एग्रो फार्म प्रालिले २३ वैशाख ०७८ मा बैंकबाट चार करोड ५० लाख रुपैयाँ ऋण लिएको थियो । ऋण लिँदा कम्पनीको नाममा रहेको ओद्राहास्थित तीन बिघा १४ कट्ठा र कञ्चनरूप नगरपालिका– १२ मा रहेको १६ कट्ठा आठ धुर जग्गा धितो राखिएको थियो । तर, २८ चैत ०८१ यता किस्ता नतिरेपछि बैंकले अघिल्लो शुक्रबार धितो लिलामीको सूचना निकालेको थियो ।

सूचनाको म्याद पूरा हुन नपाउँदै बैंकले टिकटकमार्फत जग्गा बिक्रीसम्बन्धी विज्ञापन गरेको भन्दै प्रालिका सेयरधनी आक्रोशित बनेका थिए । गत बुधबार फिल्डमा पुगेका बैंक कर्मचारीमाथि आक्रमण भएको बताइन्छ ।

सप्तरीमा ऋण असुलीका लागि पुगेका ज्योति विकास बैंकका कर्मचारीलाई मोसो दल्नुका साथै कुटपिट घटनापछि बैंकले उपमेयर रीताकुमारी चौधरीसहित सातजनाविरुद्ध प्रहरीमा अपहरण, शरीर बन्धक, कुटपिट र लुटपाटसम्बन्धी कसुरमा जाहेरी दिएको थियो । उपमेयर चौधरी, उनका पतिसमेत रहेका सेयरधनी सञ्जीवकुमार चौधरी  र छोराहरू सिरज र पञ्चदेवविरुद्ध इलाका प्रहरी कार्यालय कञ्चनपुरमा जाहेरी दर्ता भएको थियो । यसबाहेक सेयरधनी प्रभुनारायण चौधरी, ऋणी तथा सेयरधनी उमाकान्त चौधरी र रवीन्द्र स्वर्णकारको नाम पनि जाहेरीमा उल्लेख छ । 

सुझावित समाचार