प्रहरीमा आजदेखि सुरु भयो नयाँ कार्यसम्पादन प्रणालीको कार्यान्वयन

मंगलबार, १ पुष, २०८२
डिजिटल संस्करण

नेपाल प्रहरीमा आजदेखि नयाँ कार्यसम्पादन तथा मूल्यांकन ढाँचा कार्यान्वयन सुरु भएको छ । प्रहरीको काम कारबाहीलाई प्रभावकारी बनाउने उदेश्यले प्रहरी प्रधान कार्यालयले देशैभरिका प्रहरी कार्यालयको नयाँ मूल्यांकन प्रणालीको सुरुवात गरेको हो। 

सो कार्यान्वायनका लागि प्रहरी प्रधान कार्यालयले अनुशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा उनले यस प्रणालीले वस्तुनिष्ठ मूल्यांकनको आधार तयार गर्ने र संगठनलाई आगामी दिनमा कुनै पनि योजना बनाउन मद्दत पुग्ने  बताए। यस प्रणालीमार्फत विभिन्न प्रहरी इकाइहरूको तुलनात्मक अध्ययन गर्ने अवसर मिल्नुका साथै आफूले गरेको कामको मूल्यांकनसमेत आफैँले विश्लेषण गरी सुधार गर्ने अवसर प्राप्त गरी समग्रमा कार्यसम्पादनको स्तर वृद्धि हुने उनको भनाइ छ ।    

नेपाल प्रहरीका विभिन्न इकाइहरूबाट दैनिक रूपमा सम्पादन हुने कार्यहरूलाई मार्गनिर्देशन गर्न तथा सोअनुरूप कार्यालय र कार्यालय प्रमुखहरूको कार्य–प्रभावकारिता र कार्यदक्षता अनुगमन एवं मूल्यांकन गर्ने प्रयोजनको लागि प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको उपस्थितिमा नेपाल प्रहरी प्रधान कार्यालय नीति निर्माण समितिको मंसिर २५ गतेको बैठकबाट  कार्यसम्पादन र मूल्यांकन ढाँचा पारित भएको छ । प्रहरी महानिरीक्षक कार्कीले यसको अवधारणा अघि बढाएका हुन्। 

अनुशिक्षण कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयका प्रमुख प्रहरी नायब महानिरीक्षक दीपक रेग्मीले अनुशिक्षणको उद्देश्य एवं प्रभावकारिताबारे जानकारी दिएका थिए । उक्त कार्यक्रममा प्रहरी नायब उपरीक्षक किरणजंग कुँवरले अनुशिक्षण कार्यक्रमको परिचय, उद्देश्य, कार्यसम्पादन अभिलेखका लागि निर्दिष्ट कार्यालयहरू, औचित्य, प्रतिवेदनको ढाँचा, सूचकहरूको संख्यात्मक विवरण, कार्यसम्पादनका मुख्य क्षेत्रहरू, प्रतिवेदन प्रणाली, मूल्यांकन प्रणाली, मूल्यांकन भार, उत्प्रेरणा र सुधार एवं अपेक्षित उपलब्धिहरूसम्बन्धी प्रस्तुतीकरण गरेका थिए।  

नेपाल प्रहरीका विभिन्न इकाइहरूबाट दैनिक रूपमा सम्पादन हुने कार्यहरूको केन्द्रीय अभिलेख प्रणाली विकास गरी सो इकाइहरू वा सम्बद्ध कार्यालय प्रमुखहरूको कार्यसम्पादन तदारूकता, तत्परता, पहलकदमी  बढाउने उदेश्यले यस्तो मूल्यांकन प्रणाली सुरु गरिएको प्रहरी प्रवक्ता डिआइजी अबिनारायण काफ्लेले बताए। कार्यसम्पादन स्तरको वस्तुगत मूल्यांकन-मापन गर्दै सो अभिलेख प्रणालीलाई सम्बद्ध प्रहरी इकाइहरूको कार्यसम्पादन स्तरको तुलनात्मक अध्ययनका साथै प्रहरी कर्मचारीहरूको कार्यसम्पादन मूल्यांकनसमेत गर्ने प्रयोजनले ’कार्यसम्पादन र मूल्यांकन अभिलेख ढाँचा’ तयार गरिएको उनको भनाइ छ । 

विभिन्न कार्यालयहरूका प्रमुख र कर्मचारीहरूबाट सम्पादित कार्यहरूलाई प्रभावकारी रूपमा अभिलिखित गर्ने, कार्यसम्पादनको स्तरलाई वस्तुगत र परिमाणात्मक (अंकभार र तुलनात्मक विश्लेषण) रूपमा मापन गर्ने तथा प्राप्त नतिजाहरूलाई नीतिगत सूचना र निर्णय प्रक्रियामा सहायक सिद्ध हुने गरी विश्लेषण गर्ने प्रयोजनका लागि यस प्रणाली विकास गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। यो अभिलेख प्रणाली सांगठनिक र इकाइगत कार्यसम्पादनको प्रभावकारिता र कार्यदक्षता मापनका लागि उपयोगी हुने र यस प्रतिवेदनको कार्यान्वयन प्रहरी कार्यालयहरूको आवधिक मूल्यांकन प्रणालीलाई यथार्थपरक, वस्तुनिष्ठ र समयसापेक्षसमेत बनाउन उपयोगी हुने प्रवक्ता काफ्ले बताउँछन् । 

हरेक कार्यालयलाई सूचकमा तोकिएको नम्बरका आधाराम साप्ताहिक, मासिक, अर्धवार्षिक र वार्षिक रूपमा यस्तो मूल्याङकन गर्न लागिएको छ । मूल्यांकनमा कमजोर रहने कार्यालयका प्रमुखलाई सचेत गराउने र तैपनि सुधार हुन नसकेमा हटाउने प्रहरी प्रधान कार्यालयले नीति बनाएको छ । 
 

सुझावित समाचार