जेन–जी आन्दोलनका क्रममा व्यापार व्यवसायमा आगजनी भएका व्यवसायीहरूलाई कञ्चनपुर उद्योग वाणिज्य संघले आर्थिक सहयोग गरेको छ।
संघले गत २४ भदौको जेन-जी आन्दोलनका क्रममा आगजनीबाट पीडित पाँच व्यवसायीहरूलाई आर्थिक सहयोग गरेको हो। आन्दोलनकारीले राजनीतिक दलका नेताहरूको घरमा आगजनी गर्दा केही व्यवसायीको पसलमा समेत आगजनी भएको थियो।
संघका प्रमुख कार्यकारी अधिकृत हेमराज भट्टले आगजनीपीडित पाँच व्यवसायीहरुलाई नगद २५ हजारका दरले आर्थिक सहयोग उपलब्ध गराएको बताए। भट्टका अनुसार न्यू रोयल टेलरिङ ब्रान्ड, गर्ल्सब्युटी होम, श्रीराम होजियार उद्योग, मेलौली होजियार उद्योग र रत्नमणि ट्रेडर्सलाई राहत दिइएको हो।
संघका अध्यक्ष पिताम्बर जोशीले उद्योगी, व्यवसायीका घाउमा मलम लगाउने उद्देश्यका साथ सक्दो आर्थिक सहयोग गरेको बताए।
यसैबिच वाणिज्य संघको १९ पुषमा १८औँ कार्यसमितिका लागि निर्वाचन हुँदै छ। कञ्चनपुर उद्योग वाणिज्य संघका महासचिव खगेश्वर बोहराले १ पुसमा निर्वाचन कार्यतालिका प्रकाशित भएसँगै निर्वाचन प्रक्रिया सुरु भएको बताए। उनका अनुसार २१२१ मतदाता (व्यवसायी)ले मतदान गर्नेछन्।