इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दाेको तयारी पूरा

मंगलबार, १ पुष, २०८२
डिजिटल संस्करण

आइओएफटिसी नेपालले १५औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।आइओफटिसीको १५ औँ संस्करण राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा आगामी शुक्रबार र शनिबार हुँदै छ ।

आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलोपटक इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दोको आयोजना भएको हो । अहिले १५औँ संस्करणसम्म आइपुग्दा यसको आकार बृहत् भइसकेको छ । आइओएफटिसीले आफ्नो उद्देश्यअनुरूप तेक्वान्दोमार्फत् खेल भावना, मैत्री र अन्तर्राष्ट्रिय एकता प्रवर्धन गर्दै आएको छ ।’ उनले भने । 

यसैगरी, आइओएफटिसी नेपालका अध्यक्ष मीनप्रसाद खनालले १५ औँ संस्करणको आयोजना गर्ने जिम्मेवारी नेपाललाई पुनः दिइएकोमा आइओएफटिसीलाई धन्यवाद दिए । अमेरिकाको पोर्टल्यान्डस्थित आइओएफटिसीले प्रत्येक दुई वर्षमा इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियनसीपको आयोजना गर्दै आएको छ । आइओएफटिसीले पालैपालो एक संस्करण अमेरिका र अर्को संस्करण अमेरिका बाहिर गर्दै आएको छ । जसअनुसार आइओएफटिसीको आफ्नाे प्रमुख कार्यालय रहेको पोर्टल्यान्डमा पाँच संस्करण, नेपालमा चार संस्करण, भारत, बेलायत र हङकङ, अमेरिकाकै मिचिगन र दक्षिण कोरियाको सोलमा एक–एक संस्करणको आयोजना भइसकेको छ ।

आइओएफटिसी नेपालका महासचिव गिरिबहादुर सुनारले नेपालमा हुने १५ औँ संस्करणलाई अझ भव्य बनाउने लक्ष्य हामीले लिएका बताए । ‘अन्तिम दिन सांस्कृतिक महोत्सव पनि आयोजना हुनेछ, जसले नेपालको समृद्ध सांस्कृतिक विविधता र अन्तर्राष्ट्रिय मैत्रीको सन्देश प्रस्तुत गरिनेछ,’ उनले भने ।

प्रतियोगिताका अन्तर्राष्ट्रिय संयोजक अशोक खड्काले च्याम्पियन्सिपमा नेपाल, दक्षिण कोरिया, अमेरिका, फिलिपिन्स, अस्ट्रेलिया, अष्ट्रिया, क्यानाडा, पाकिस्तान, भारत, हङकङ, चिन, मेक्सिको, माल्दिभ्स, बंगलादेशलगायतका राष्ट्रको सहभागिता रहने जानकारी दिए । उनका अनुसार प्रतियोगितामा करीब एक हजार खेलाडी, प्रशिक्षक र रेफ्रीको सहभागिता रहनेछ ।
 

सुझावित समाचार