एनपिएलका चौकाबापत २४०० बढी शैक्षिक सामग्री वितरण गर्दै एनसेल फाउन्डेसन

मंगलबार, १ पुष, २०८२
डिजिटल संस्करण

एनसेल फाउन्डेसनले देशका विभिन्न सरकारी तथा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई दुई हजार ४२८ वटा शैक्षिक सामग्री वितरण गर्ने भएको हो। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)का बेलामा गरेको घोषणाबमोजिम शैक्षिक सामग्री वितरण गर्न लागेको फाउन्डेसनले जनाएको छ।

प्रत्येक चौकामा चारवटा शैक्षिक सामग्री वितरण गर्ने सामाजिक पहललाई निरन्तरता दिँदै एनसेलले एनपिएल दोस्रो संस्करणमा पनि हरेक चौकाको प्रहारमा चारवटा शैक्षिक सामग्री प्रदान गर्ने प्रतिबद्धता जनाएको थियो। 

यो वर्षको एनपिएलमा ९९ जना खेलाडीले कुल ६०७ वटा चौका प्रहार गरेका थिए। जसका आधारमा दुई हजार ४२८ वटा शैक्षिक सामग्रीको वितरण सुनिश्चित भएको फाउन्डेसनले जनाएको छ। यसरी प्रदान गरिने प्रत्येक किटमा स्कुल ब्याग, कापी, पेन्सिल, सार्पनर, इरेजर तथा अन्य आधारभूत स्टेसनरी सामग्रीहरू समावेश हुनेछन्।

पहिलो संस्करणमा प्रहार भएका ६५३ चौकाबाट फाउन्डेसनले २,६१२ सामग्री वितरण गरेको थियो।

यो शैक्षिक सामग्री वितरण गर्ने पहलको उद्देश्य विद्यार्थीहरूलाई आवश्यक शैक्षिक स्रोतको अभाव सम्बोधन गर्दै सिकाइमा सहयोग पुर्याउनु रहेको एनसेलकी कर्पोरेट कम्युनिकेसन तथा सस्टेनेबिलिटी निर्देशक विशाखालक्ष्मी खड्काले बताइन्।

यस वर्ष पनि एनसेल एनपिएलको ‘पावर्ड बाइ’ साझेदार रहेको थियो। कम्पनीले दोस्रो संस्करणका प्रत्येक खेलमा सबैभन्दा बढी चौका प्रहार गर्ने खेलाडीलाई २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरेको थियो। पोखरा एभेन्जर्सका दोस्रो संस्करणमा सबैभन्दा धेरै चौका प्रहार गरेका एडम रोसिङ्टनले एनसेलबाट दुई लाख नगद पुरस्कार प्राप्त गरे।

सुझावित समाचार