नेकपा एमाले केन्द्रीय कमिटीको निर्वाचनमा पर्साबाट एक दर्जन केन्द्रीय कमिटी सदस्यमा उम्मेदवार बनेका छन । केन्द्रीय निर्वाचन आयोगले मंगलबार सार्वजनिक गरेको अन्तिम नामावलीअनुसार जिल्लाबाट १२ जना उम्मेदवार बनेका हुन् ।
पर्साबाट केन्द्रीय कमिटी सदस्यको उम्मेदवार हुनेमा प्रभु हाजरा, निर्मला देवकोटा, अरविन्द सिंह, रन्जु फुयाँल दाहाल, नवराज शर्मा, विजय सराबगी रहेका छन् । यस्तै, बसरुदिन अन्सारी, मेघराज हाजरा, राजकुमार गुप्ता, प्रह्लाद गिरी, प्रद्युम्न दुमन चौहान, उसमान मियाँ अन्सारी पनि छन् ।
यसअघि पर्साबाट प्रभु, निर्मला, राजकुमार र अरविन्द मात्र केन्द्रीय कमिटी सदस्यका रूपमा रहेका थिए । यस्तै निवर्तमान प्रतिनिधिसभा सदस्य प्रभु, निर्मला केपी ओली पक्षका आधिकारिक उम्मेदवार हुन भने निवर्तमान प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री राजकुमार कुनै पक्षमा आधिकारिक उम्मेदवार छैनन् ।
अरविन्द भने ईश्वर पोखरेल टिमबाट उम्मेदवार बनेका छन् । एमालेको एघाराैँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आज मंगलबार अपराह्न ४ बजेबाट मतदान हुने जनाइएको छ।
विद्युतीय प्रणालीबाट गरिने मतदानका लागि तयारी भइरहेको एमालेले जनाएको छ । विद्युतीय प्रणालीबाट गर्न लागिएको मतदानमा एकजनाले सबैलाई भोट हाल्न कम्तीमा ३५ मिनेट लाग्ने अनुमान गरिएको छ ।
निर्वाचन सकिएको एक–दुई घण्टाभित्र परिणाम सार्वजनिक हुने एमाले केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । महाधिवेशनमा नेताहरू ओली र पोखरेलबिच छुट्टाछुट्टै समूह बनाएर चुनावी माहोलमा होमिएका छन् ।