२१ फागुनको निर्वाचनका लागि कांग्रेसमा उम्मेदवार सिफारिस : पुरानै नेतालाई प्राथमिकता, शीर्षको नाम एकल सिफारिस

मंगलबार, १ पुष, २०८२
डिजिटल संस्करण

जेन–जी आन्दोलन र विकसित राजनीतिक घटनाक्रमपछि पनि विघटित प्रतिनिधिसभाको सबैभन्दा ठुलो दल कांग्रेसमा पुरानै नेतालाई प्राथमिकता दिएर उम्मेदवार सिफारिस भएका छन् । कांग्रेसका क्षेत्रीय र जिल्ला समितिहरूले आगामी २१ फागुनको निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरेका छन्, जसमा वर्तमान पदाधिकारी र प्रभावशाली नेताहरूको नाम प्राथमिकतामा छ । जबकि निर्देशनमा युवालाई उच्च प्राथमिकता दिन भनिएको छ । 

केन्द्रले प्रत्यक्षतर्फ एक महिलासहित बढीमा तीनजनाको नाम सिफारिस गर्न निर्देशन दिए पनि शीर्ष नेताहरूको नाम भने एकल सिफारिस भएको छ । विगतमा जितेको क्षेत्रबाट सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्रीलगायतको नाम एकल सिफारिस भएको छ । प्रत्यक्षतर्फको उम्मेदवारका लागि एकल सिफारिसमा पर्नेमा सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, प्रवक्ता डा. प्रकाशशरण महत, नेता डा. शेखर कोइरालालगायत छन् । 

सभापति देउवा डडेल्धुराबाट सिफारिस भएका छन् । सातौँपटक डडेल्धुराबाट चुनाव जितेका देउवा आठौँपटक उम्मेदवारमा सिफारिस भएका हुन् । बिहीबार बसेको जिल्ला कार्यसमिति बैठकले आगामी २१ फागुनको निर्वाचनका लागि देउवालाई प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस गरेको जिल्ला सभापति भीमबहादुर साउदले बताए । देउवाले २०४८ सालदेखि डडेल्धुराबाट निरन्तर चुनाव जित्दै आएका छन् । समानुपातिकतर्फ नरभान कामी र मानकुमारी थापा सिफारिस भएका छन् । राष्ट्रिय सभातर्फ भीम साउद र रघु भट्ट सिफारिस भएका छन् ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्का सुर्खेत– १ बाट एकल सिफारिस भएका छन् । यसअघि २०७९ मा पनि खड्काको नाम एकल रूपमा सिफारिस भएको थियो । उनी गत निर्वाचनमा निर्वाचित भएका थिए । समानुपातिकतर्फ नरबहादुर सोनी र भीमा मल्लको नाम सिफारिस भएको छ ।  उपसभापति धनराज गुरुङको नाम स्याङ्जाका दुवै क्षेत्रबाट सिफारिस भएको छ । गुरुङ ०७९ मा स्याङ्जा २ बाट निर्वाचित भएका थिए ।

महामन्त्री गगन थापाको नाम चार जिल्लाबाट सिफारिस भएको छ । थापाको नाम काठमाडौं ४ बाट एकल सिफारिस भएको छ । सर्लाही ४, रोल्पा र धनकुटाबाट पनि थापाको नाम सिफारिस भएको छ । थापा यसअघि २०७९ को निर्वाचनमा काठमाडौं ४ बाट निर्वाचित भएका थिए । उनी काठमाडौं ४ बाट लगातार तीनपटक निर्वाचित भएका छन् । अर्का महामन्त्री विश्वप्रकाश शर्माको नाम झापा १ बाट सिफारिस भएको छ । शर्मा यसअघि २०७९ को निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

सहमहामन्त्री जीवन परियार कास्की १ बाट सिफारिस भएका छन् । गत २०७९ को निर्वाचनमा उनी समानुपातिकबाट सांसद बनेका हुन् । सहमहामन्त्री महेन्द्र यादव धनुषा ४ बाट सिफारिस भएका छन् । 

गत २०७९ को निर्वाचनमा उनी सोही क्षेत्रबाट पराजित भएका थिए । सहमहामन्त्री भीष्मराज आङ्दम्बे पाँचथरबाट सिफारिस भएका छन् । गत २०७९ को निर्वाचनमा उनी सोही क्षेत्रबाट पराजित भएका थिए । 

सहमहामन्त्री महालक्ष्मी उपाध्याय मकवानपुर १ बाट प्रत्यक्षतर्फ सिफारिस भएकी छिन् । उनी गत २०७९ को निर्वाचनमा सोही क्षेत्रबाट पराजित भएकी थिइन् । सहमहामन्त्री किशोरसिंह राठोर बाँके ३ बाट सिफारिस भएका छन् । गत २०७९ को निर्वाचनमा उनी सोही क्षेत्रबाट निर्वाचित भएका थिए । सहमहामन्त्री बद्री पाण्डे बाजुराबाट सिफारिस भएका छन् । गत २०७९ को निर्वाचनमा उनी सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

इतरसमूहका नेता डा. शेखर कोइरालाको नाम मोरङ ६ बाट एकल सिफारिस भएको छ । गत २०७९ को निर्वाचनमा उनी सोही क्षेत्रबाट निर्वाचित भएका थिए । पूर्वउपसभापति विजयकुमार गच्छदारको नाम सुनसरी ३ बाट सिफारिस भएको छ । गत २०७९ को निर्वाचनमा उनी सोही क्षेत्रबाट पराजित भएका थिए । त्यसअघि भने उनी निर्वाचित हुँदै आएका थिए । पूर्वउपसभापति विमलेन्द्र निधि धनुषा ३ बाट सिफारिस भएका छन् । गत २०७९ को निर्वाचनमा उनी समानुपातिकबाट सांसद बनेका हुन् । त्यसअघि उनी सोही क्षेत्रबाट निर्वाचन लड्दै आएका छन् ।

पूर्वमहामन्त्री प्रकाशमान सिंह काठमाडौं १ बाट सिफारिस भएका छन् । गत २०७९ को निर्वाचनमा उनी सोही क्षेत्रबाट निर्वाचित भएका थिए । त्यसअघि पनि उनी सोही क्षेत्रबाट निर्वाचित हुँदै आएका छन् । पूर्वउपसभापति गोपालमान श्रेष्ठ स्याङ्जा २ बाट सिफारिस भएका छन् ।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत नुवाकोट १ र काठमाडौं ५ बाट सिफारिस भएका छन् । उनी गत २०७९ को निर्वाचनमा समानुपातिकबाट सांसद थिए । ०७४ को निर्वाचनमा भने महत काठमाडौं ५ बाट पराजित भएका थिए । गत ०७९ को निर्वाचनमा यो क्षेत्रबाट कांग्रेस नेता प्रदीप पौडेल निर्वाचित भएका थिए । यो क्षेत्रबाट महत र पौडेलसहित रजनी थापा, भैरव सापकोटा, जनकराज श्रेष्ठ र सरिन घिमिरेको नाम पनि सिफारिस भएको छ । 

पूर्वउपसभापति गोपालमान श्रेष्ठ स्याङ्जा २ बाट सिफारिस भएका छन् । पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको नाम कैलाली ५ बाट सिफारिस भएको छ । उम्मेदवार सिफारिस केन्द्रमा आउने क्रम सुरु भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । उनले नाम सिफारिस गर्दा युवालाई उच्च प्राथमिकता दिन भनिएको बताए । ‘क्षेत्र र जिल्लाको सिफारिसको आधारमा प्रदेश कमिटीले रायसहित केन्द्रमा नाम सिफारिस गर्छ । युवालाई उच्च प्राथमिकता दिन्छौँ । सिफारिस पनि सोहीअनुसार गर्न भनेका छौँ । केन्द्रमा आउने क्रम सुरु भएको छ,’ उनले भने ।

मंसिर मसान्तसम्म केन्द्रमा नाम आइपुग्ने गरी सिफारिस गर्न कांग्रेसले निर्देशन गरेको थियो । १५ मंसिरमा सम्पन्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको निर्णयअनुसार १७ मंसिरमा मुख्यसचिव कृष्णप्रसाद पौडेलले सर्कुलर जारी गरी प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ र समानुपातिकतर्फ तथा राष्ट्रिय सभाका लागि उम्मेदवार सिफारिस गर्न निर्देशन दिएका थिए । 

परिपत्रमा विधानअनुरूप योग्यता पुगेका व्यक्तिमध्येबाट प्रत्यक्षतर्फका लागि बढीमा एक महिलासहित तीनजना र समानुपातिकतर्फ समावेशी सिद्धान्तलाई ध्यानमा राखेर कम्तीमा एक महिलासहित बढीमा दुईजनाको नाम निर्णय गरी सिफारिस गर्न भनिएको थियो । सोही निर्देशनका आधारमा अधिकांश क्षेत्रीय समितिले जिल्ला कार्यसमितिलाई नाम सिफारिस गरिसकेका छन् ।

तीन दिन पार्टीको झन्डा आधा झुकाउने निर्णय
कांग्रेसले पूर्वकेन्द्रीय सदस्य एवं मन्त्री आमोदप्रसाद उपाध्यायको निधनप्रति दु:ख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । उपसभापति धनराज गुरुङको सभापतित्वमा सोमबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले उपाध्यायको निधनमा शोक प्रस्ताव पारित गरेको हो । उपाध्यायको ९१ वर्षको उमेरमा क्यान्सरका कारण गत शनिबार राति निधन भएको थियो । उपाध्याय ०५१ सालमा राष्ट्रिय सभा सदस्य र तत्कालीन मोरङ १ बाट दुईपटक सांसद निर्वाचित भएका थिए । ०५६ सालको उपनिर्वाचनमा निर्वाचित भएपछि उनी शिक्षा तथा खेलकुदमन्त्री बनेका थिए । उपाध्याय ०६४ को पहिलो संविधानसभा निर्वाचनमा पनि निर्वाचित भएका थिए । ०७० को दोस्रो संविधानसभा निर्वाचनमा पनि उनी उम्मेदवार थिए ।

मध्यराति १२ बजेसम्म नवीकरण अपडेट
कांग्रेसको क्रियाशील सदस्यको नवीकरण विवरण सोमबार मध्यराति १२ बजेसम्म सिस्टममा अपडेट भएको छ । सबै जिल्ला सभापतिलाई युजर नेम र पासवर्ड उपलब्ध गराएर कांग्रेसले सिस्टममा नवीकरणको विवरण अपडेट गराएको हो । क्रियाशील सदस्यता व्यवस्थापन समितिका सदस्य प्रकाश स्नेहीका अनुसार मंगलबार बैठक बसेर थप प्रक्रिया अघि बढाइनेछ । ‘सोमबार मध्यरातिसम्म नवीकरणको विवरण अपडेट गर्ने समय दिइएको छ । मंगलबार समितिको बैठकमा नवीकरणको अवस्थाको समीक्षा हुन्छ । यदि, कुनै जिल्लामा समस्या देखिए थप निर्णय गर्छौँ,’ उनले भने, ‘नवीकरणको अहिलेसम्मको स्थितिबाट हामी सन्तुष्ट छौँ । नयाँ सदस्यताको फारम पनि तल गएको छ ।’

त्यसैबिच संस्थापनको बहुमत राखेर कार्यवाहक सभापति खड्काले क्रियाशील सदस्यता केन्द्रीय छानबिन समिति गठन गरेका छन् । गत केन्द्रीय कार्यसमिति बैठकमा निर्वाचनपछिको महाधिवेशन कार्यतालिका ल्याएका सहमहामन्त्री महेन्द्र्र यादवको संयोजकत्वमा छानबिन समिति बनेको छ । यादवको संयोजकत्वमा गठित पाँचसदस्यीय समितिमा केन्द्रीय सदस्यहरू शिवप्रसाद हुमागाईं, प्राडा गोविन्दराज पोखरेल, अजयबाबु सिवाकोटी र शान्ति परियार विक सदस्य छन् । समितिमा संस्थापन पक्षको बहुमत छ । संयोजक यादवसहित हुमागाईं र विक संस्थापन पक्षका हुन् । संयोजक यादव र सदस्य विक सभापति शेरबहादुर देउवाका विश्वासपात्र हुन् । हुमागाईं नेता कृष्ण सिटौलानिकट छन् । सिवाकोटी महामन्त्री गगन थापानिकट हुन् भने पोखरेल नेता डा. शेखर कोइरालानिकट हुन् । महामन्त्री थापाको संयोजकत्वमा क्रियाशील सदस्यता व्यवस्थापन समिति छ, जसका सदस्यहरूमा योगेन्द्र चौधरी, सीता गुरुङ र प्रकाश स्नेही छन् । कांग्रेसको महाधिवेशन आगामी २६ देखि २८ पुसमा काठमाडौंमा हुँदै छ । त्यसअघि क्रियाशील सदस्यता टुंग्याएर १६ पुसमा वडा अधिवेशन हुँदै छ ।

तीन निवर्तमान सांसदले गरे चुनाव नलड्ने घोषणा
कांग्रेसका तीन निवर्तमान सांसदले युवालाई अवसर दिने भन्दै २१ फागुनको निर्वाचन नलड्ने घोषणा गरेका छन् । सहमहामन्त्री बद्री पाण्डेसहित रामनाथ अधिकारी र राजेन्द्र केसीले निर्वाचन नलड्ने घोषणा गरेका हुन् । 

पाण्डे गत निर्वाचनमा बाजुराबाट निर्वाचित भएका थिए । अघिल्लो सरकारमा उनी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री थिए । ‘जेन–जी आन्दोलनको वेला म सरकारमा थिएँ । प्रत्यक्ष भूमिका नभए पनि मन्त्रिपरिषद् सदस्यको रूपमा त्यसको नैतिक जिम्मेवारी मैले लिनुपर्छ । त्यसैले २१ फागुनको निर्वाचन म लड्दिनँ,’ उनले भने । राष्ट्रिय सभा र प्रतिनिधिसभाको समानुपातिकतर्फ पनि आफू उम्मेदवार नबन्ने उनले बताए ।

काठमाडौं १० मा लगातार तीनवटा निर्वाचन जितेका केन्द्रीय सदस्य केसीले पनि अब निर्वाचन नलड्ने र युवालाई अवसर दिने बताए । ‘पार्टीलाई रूपान्तरण र पुस्तान्तरण गर्नुपर्नेछ । त्यसको अगुवाइ म गर्छु । अब म चुनावमा उठ्दिनँ । केसीले २०७०, २०७४ र २०७९ मा काठमाडौं १० बाट निर्वाचित भएका थिए । 

यस्तै, कांग्रेस धादिङका सभापति एवं निवर्तमान कृषिमन्त्री अधिकारीले पनि निर्वाचन नलड्ने घोषणा गरेका छन् । अधिकारी ओली नेतृत्वको सरकारमा कृषि तथा पशुपन्छी विकासमन्त्री थिए । जेन–जी आन्दोलन चर्किएपछि सबैभन्दा पहिला अधिकारीले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएका थिए । उनले पनि युवालाई अवसर दिने बताएका छन् । ‘म सांसद, मन्त्री भइहालेँ । अब युवालाई अवसर दिनुपर्छ भनेर आगामी निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय गरेको हुँ,’ उनले भने ।

सुझावित समाचार