सप्तरीमा ऋण असुलीका लागि पुगेका ज्योति विकास बैंकका कर्मचारीमाथि मोसो दल्ने र कुटपिट घटनामा सप्तकोशी नगरपालिकाका उपमेयर रीताकुमारी चौधरीसहितको संलग्नता रहेको पाइएको छ ।
बैंकका ऋणि रहेको सप्तकोशी नगरपालिका–७ ओद्राहास्थित सप्तकोशी इन्ट्रिग्रेटेड एग्रो फार्म प्रालिका सञ्चालक संवाद गर्न र ऋणको किस्ता नियमित गर्न पुगेका बैंकका दुई कर्मचारीमाथि गत बुधबार मोसो दल्दै कुटपिट गरिएको थियो, जुन भिडियो सामाजिक सञ्जालमा छ ।
ज्योति विकास बैंक प्रादेशिक कार्यालय बर्दीवासका उपप्रबन्धक सुमित श्रेष्ठ र रूपनी शाखाका कर्मचारी सविन श्रेष्ठमाथि उपमेयर चौधरीसहित कम्पनीका सेयरधनी तथा आफन्तले घेराबन्दी गर्दै मोसो दल्ने, जुत्ताको माला लगाउने, गालीगलौज गर्ने र लट्ठीले कुटपिट गरेको भिडियोमा देखिन्छ । प्रालिका चारजना सेयरधनीमध्ये उपमेयर चौधरीका पति सञ्जीवकुमार चौधरी पनि एक हुन् । त्यसबाहेक प्रभुनारायण चौधरी, पञ्चदेव चौधरी र उमाकान्त चौधरी पनि सेयरधनी हुन् ।
कम्पनीका सेयरधनी प्रभुनारायणले पनि उपमेयर चौधरी घटनास्थलमा रहेको स्वीकार गरे । तर, कुटपिटमा संलग्न भए नभएको जानकारी नभएको उनले दाबी गरे । ‘बैंकबाट पीडित भएपछि लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समितिलाई हारगुहार गरेका थियौँ,’ उनले भने ‘घटना उनीहरूको नेतृत्वमा भएको हो, हाम्रो भूमिका छैन ।’ बैंक केन्द्रीय कार्यालयका सूचना अधिकारी प्रकाश बरालले किस्ता नियमित नभएपछि छलफल गर्न पुगेका कर्मचारीमाथि योजनाबद्ध रूपमा आक्रमण गरिएको बताए । घटनाबारे बुझ्न खोज्दा उपमेयरको फोन उठेन ।
उपमेयरसहित सातजनाविरुद्ध जाहेरी
घटनापछि बैंकले उपमेयर रीताकुमारी चौधरीसहित सातजनाविरुद्ध प्रहरीमा अपहरण, शरीर बन्धक, कुटपिट र लुटपाटसम्बन्धी कसुरमा जाहेरी दिएको छ । उपमेयर चौधरी, उनका पतिसमेत रहेका सेयरधनी सञ्जीवकुमार चौधरी र छोराहरू सिरज र पञ्चदेवविरुद्ध इलाका प्रहरी कार्यालय कञ्चनपुरमा जाहेरी दर्ता भएको हो । यसबाहेक सेयरधनी प्रभुनारायण चौधरी, ऋणी तथा सेयरधनी उमाकान्त चौधरी र रवीन्द्र स्वर्णकारको नाम पन जाहेरीमा उल्लेख छ ।
इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी माधवप्रसाद काफ्लेले जाहेरी दर्ता भएर अनुसन्धान अघि बढेको बताए । ‘घाइतेको घाउजाँचका लागि लेखेर दिइसकेका छौँ, रिपोर्ट आउन बाँकी छ,’ काफ्लेले भने, ‘घटनाबारे थप अनुसन्धान भइरहेको छ र दुवै पक्षबिच समन्वयको प्रयास पनि भइरहेको छ ।’