मनमोहन विश्वविद्यालयमा प्राविधिक स्नातक कार्यक्रम सुरु गर्ने सम्झौता

सोमबार, २९ मंसिर, २०८२
डिजिटल संस्करण

मनमोहन प्राविधिक विश्वविद्यालय (एमटियू)ले नेपालमै पहिलोपटक सिभिल इन्जिनियरिङमा प्राविधिक स्नातक कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

कोशी सरकारले स्थापना गरेको मनमोहन प्राविधिक विश्वविद्यालयले एसइई उत्तीर्ण गरेर तीनवर्षे डिप्लोमा गरेका जुनियर सिभिल इन्जिनियर(जेई)हरूका लागि प्राविधिक स्नातक (बिटेक)कार्यक्रम सञ्चालन गर्ने भएको हो । यो कार्यक्रम स्विस सरकारसँगको साझेदारीमा सञ्चालन हुन लागेको हो ।

नेपालमा सिभिल इन्जिनियरिङ क्षेत्रमा पहिलोपटक राष्ट्रिय व्यावसायिक योग्यता प्रारूप तह–६ अनुरूपको प्राविधिक स्नातक (बिटेक) कार्यक्रम सञ्चालन गर्न मनमोहन प्राविधिक विश्वविद्यालय (एमटियू)ले स्विस सरकारसँग औपचारिक सम्झौता पनि गरिसकेको छ ।  

सोमबार मनमोहनको स्कुल अफ इन्जिनियरिङ संकायको डिन डा. रेखा श्रेष्ठ र स्विस कन्ट्रयाक्टका कन्ट्री डाइरेक्टर संजय कार्कीबिच बिटेक कार्यक्रम सञ्चलान गर्न औपचारिक सम्झौता भएको हो । अब चाँडै पाठयक्रम निर्माण गरेर पढाइ सुरु गराउने विश्वविद्यालयका उपकुलपति डा. सुवासश्री पोखरेलले जानकारी दिए । 

बिटेकमा कार्य–आधारित सिकाइ, उद्योगसँग सम्बन्धित मोड्युल, पेसागत तथा उद्योग परिषद्हरूसँगको परामर्श र नेपालको पूर्वाधार तथा निर्माण क्षेत्रको आवश्यकताअनुरूपका दक्षताका मापदण्डहरू पाठयक्रममा  समेटिनेछन् । यो कार्यक्रम भविष्यमा अन्य टिबेट कार्यक्रमका लागि पनि मोडेल बन्ने विश्वविद्यालयको दाबी छ । 

हाल नेपालमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिभिटी)मार्फत प्रि–डिप्लोमा र डिप्लोमा तहका कार्यक्रम सञ्चालनमा हुँदै आएका छन् । तर, एसइईपछि तीनवर्षे डिप्लोमा गरेका जुनियर इन्जिनियरहरूले त्यसभन्दा माथिल्लो तहको अध्ययनका लागि स्पष्ट मार्ग नहुँदा अलमलमा छन् । 
 

सुझावित समाचार