सक्रिय राजनीति छाड्ने घोषणा गरेकी एमालेकी निवर्तमान उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले आफू नयाँ पुस्तासँग आशावादी रहेको बताएकी छिन्।
नयाँ पुस्ता आफूहरूभन्दा सक्षम भएको विश्वास व्यक्त गर्दै शाक्यले भनिन्, ‘नयाँ पुस्ता हेर्दा मलाई त धेरै आशा लाग्छ, युवा पुस्ता यति धेरै विकास भएको छ। राजनीतिमा धेरै सक्रिय पनि हुँदै आएको छ। हिजोको जस्तो युवा कहाँ खोज्ने भन्ने स्थिति छैन।’
पार्टीको महाधिवेशनस्थलमा सञ्चारकर्मीहरूसँग उनले दोस्रो मात्र नभई तेस्रो पुस्तासमेत आइसकेको उल्लेख गर्दै पदमा नबसी उनीहरूलाई सहयोग गर्न पनि सकिने प्रस्ट पारिन्।
‘धेरै दोस्रो, तेस्रो पुस्ता आइसके। उहाँहरूलाई भरोसा गर्नुपर्छ, विश्वास गर्नुपर्छ। उहाँहरू योग्य छन्, विज्ञ छन्, प्रविधियुक्त छन्,’ शाक्यले भनिन्, ‘सबैले विस्तारै छोड्नुपर्छ भन्छु म। अध्यक्षलाई त मैले ७० नाघेको हुनाले पनि छोडौँ, दोस्रो पुस्तालाई भरोसा गरौँ भन्दा उहाँले मान्नुभएन।’
आफूले मात्र सक्छु, अरूले सक्दैन भन्ने सोच मपाईंत्व हुने भन्दै शाक्यले भनिन्, ‘आफूलाई मात्रै केन्द्रित गर्ने र (नयाँ) पुस्तालाई नदेख्ने सोच राख्नुहुँदैन। नयाँ पुस्तामा अझै नयाँ भिजन छ। नयाँ सोच छ, नयाँ प्रविधि छ। अरूले गर्न सक्दैन मैले मात्रै गर्न सक्छु भन्ने कुरा मपाईंत्व हो।’