इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतमा एक युवाले झुन्डिएर आत्महत्या गरेका छन् । चोरी कसुरमा प्रहरी अनुसन्धानका लागि पक्राउ परेका २१ वर्षीय दुतराज तामाङले प्रहरी कार्यालयको हिरासत कक्षको शाैचालयमा झुन्डिएर आत्महत्या गरेका हुन् ।
काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका– ९, मंगलटारमा अवस्थित इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीका अनुसार रोशी– १२, माम्तीका २१ वर्षीय दुतराज तामाङले शाैचालयको भेन्टिलेटरमा ब्लांकेटको किनारा च्यातेर पासो लगाई आत्महत्या गरेका हुन् । कार्कीका अनुसार तामाङले अर्काकी श्रीमती भगाएर ल्याएका थिए । केही समयपछि अर्की १६ वर्षीया केटी पनि भगाएर ल्याएका थिए। उनले बहुविवाहकाे केस खेपिरहेका थिए । केही दिनअघि ती केटीको घरमा तामाङ पुगेका थिए ।
घरमा कोही नभएपछि घर फोडी नगदसहित गरगहना चोरी गरी लगेको आरोपमा केटीका परिवारले इलाका प्रहरी कार्यालय मंगलटारमा जाहेरी दिएका थिए । सोही कसुरमा इलाका प्रहरी कार्यालय मंगलटारले खोजी गरीरहेका थिए । सोही क्रममा तारिख बुझ्न जिल्ला प्रहरी कार्यालय काभ्रेमा उपस्थित भएपछि छानबिनका लागि इलाका प्रहरी कार्यालयले तामाङलाई आइतबार पक्राउ गरेका थिए ।
कार्कीले बताएअनुसार तामाङको घर खानतलासी गर्दा चोरी गरेको भनिएको टर्चलाइट, बोर्ड मार्करलगायतको सामान फेला परेको थियो । नगदसहित गरगहनाबारे गमलामा लुकाएर राखेको बयान दिएकोमा सोमबार बिहान खोज्न जाने प्रहरीको तयारी थियो । ‘हिरासतमा घटना घट्न सक्छ कि भनेर हामीले तन्नासमेत दिने गरेको थिएन । सुत्नका लागि ब्ल्यांकेट र डसना मात्र दिने गरेका छौँ,’ प्रहरी निरीक्षक कार्कीले भने, ‘राति ब्ल्यांकेटको किनारा दाँतले टोकेर निकाली झुन्डिएछ । एटेज ट्वाइलेट भएकाले थाहा भएन। पछि ३ बजेतिर मात्र थाहा पायौँ ।’
थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट प्रहरी अधिकृतहरू त्यसतर्फ गएका छन् ।