भारतको इस्ट बंगाल र नेपालको विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लब साफ महिला क्लब च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेका छन् । दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले पहिलोपटक आयोजना गरेको प्रतियोगितामा एक खेल बाँकी रहँदै बंगाल र एपिएफ फाइनलमा स्थान बनाउन सफल भए ।
समूहमा समान तीन खेल खेलेको इस्ट बंगाल ९ अंकसहित शीर्ष स्थानमा छ । एपिएफ ७ अंकसहित दोस्रो स्थानमा रह्यो । अपराजित यात्रा कायम राखेका दुई टोलीबिच समूह विजेताका लागि बुधबार प्रतिस्पर्धा हुनेछ । यो खेल बराबर भएको अवस्थमा बंगाल समूह विजेता हुनेछ ।
फाइनल खेल भने २ पुसमा हुनेछ । दशरथ रंगशालामा आइतबार भएको खेलसँगै पाकिस्तानको कराँची सिटी एफसी, भुटानको ट्रान्सपोर्ट युनाइटेड एफसी र बंगलादेशको नासरिन स्पोर्टस् एकेडेमी समूह चरणबाटै बाहिरिएका छन् । कराँची र ट्रान्सपोर्टको समान २ अंक छ । नासरिन भने १ अंकसहित पुछारमा रह्यो । प्रतियोगितामा माल्दिभ्स र श्रीलंकन क्लबको सहभागिता रहेन ।
एपिएफको दोस्रो जित
प्रतियोगिताको तेस्रो खेलमा एपिएफले दोस्रो जित निकालेको छ । तेस्रो खेलमा गोलका लागि संघर्ष गरेको एपिएफले कराँचीलाई १–० ले हरायो । एपिएफको जितमा रश्मिले विजयी गोल गरेकी थिइन् । योसँगै प्रतियोगितामा रश्मिको गोलसंख्या तीन पुगेको छ । रश्मिले खेलको ५२औँ मिनेटमा अग्रता गरेकी थिइन् । लेफ्ट विङबाट रेनुका नगरकोटेले दिएको पासलाई रश्मिले हेडर गोल गरिन् । जुन गोल नै एपिएफलाई ३ अंक जोड्न पर्याप्त रह्यो । यही खेलबाट गीता रानाले कमब्याक गरेकी छिन् ।
उनको आगमनसँगै डिफेन्स बलियो हुने प्रशिक्षक जिवेशकुमार पाण्डेले विश्वास लिएका छन् । यसअघि एपिएफले आफ्नो पहिलो खेलमा बंगलादेशको नासरिनलाई ४–० ले हराएको थियो । यो खेलमा रश्मिकुमारी र मीना देउवाले समान दुई गोल गरेका थिए । दोस्रो खेलमा भने एपिएफले भुटानको ट्रान्सपोर्टसँग गोलरहित बराबरी खेल्यो ।
फाजिलाको ह्याट्रिकसहित पाँच गोल
भारतीय टोली बंगालको तेस्रो जितमा विदेशी खेलाडी फाजिया इक्वापुतले ह्याट्रिक गरिन् । एकोहोरो खेलमा बंगालले बंगलादेशको नासरिनलाई ७–० ले हरायो । युगान्डाकी २५ वर्षीय खेलाडी फाजिला प्रतियोगितामा ह्याट्रिक गर्ने पहिलो खेलाडीसमेत बनिन् ।
उनले एक्लै पाँच गोल गरेकी हुन् । प्रतियोगितामा उनी सर्वाधिक सात गोल गर्न सफल भएकी छिन् । भारतकै गोकुलम केरेला हुँदै बंगाल आएकी फाजिलाले पहिलो हाफमा तीन तथा दोस्रो हाफमा एक गोल गरिन् । फाजियाले खेलको ७, २७, ४५, ७४ र ९०औँ मिनेटमा गरेकी थिइन् । भारतीय राष्ट्रिय टोलीकी स्ट्राइकर ज्योति चौहानले पहिलो हाफको इन्जुरी समयमा टोलीका लागि चौथो गोल गरेकी हुन् । खेलको ७३औँ मिनेटमा सुलञ्जना राउलले एक गोल थपेकी थिइन् ।