११औँ महाधिवेशनबाट सर्वसम्मत अध्यक्ष हुने चाहनामा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले चुनौती दिने निश्चित भएपछि एमाले अध्यक्ष केपी ओलीले तीन महिनाअगाडिको विधान महाधिवेशनका निर्णय उल्टाएका छन् । अध्यक्षमा आफू र केन्द्रीय कमिटीमा आफ्नो समूहको वर्चश्व बनाउने रणनीतिसहित उनले महाधिवेशनको बन्दसत्रबाट पदाधिकारीसहित केन्द्रीय कमिटीको आकार बढाउने गरी विधान संशोधनको निर्णय लिएका छन् ।
२२ भदौमा ललितपुरको गोदावारीमा सम्पन्न विधान महाधिवेशनबाट १५ सदस्यीय पदाधिकारीसहित २५१ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय उल्टाएर ओलीले आइतबार बन्दसत्रबाट १९ सदस्यीय पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्ताव पारित गराएका छन् । ११औँ महाधिवेशनबाट नेतृत्व चयनको पूर्वसन्ध्यामा विधान महाधिवेशनको निर्णय उल्टाउने कदमले पार्टी हित नगर्ने र संस्थापन पक्षको मनोमानीविरुद्ध लड्ने पोखरेल समूहका नेताहरूको प्रतिक्रिया छ ।
आइतबार भृकुटीमण्डपमा बन्दसत्र सुरु हुनुअघि बसेको केन्द्रीय कमिटी बैठक र ११औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रले ओलीको प्रस्ताव पारित गरेको छ । बहुमतको बलमा अध्यक्षमा सहजै जित सुनिश्चित हुने गरी विधान संशोधन गराएर ओलीले बन्दसत्रमा चुनावी प्रक्रिया अगाडि बढाएका छन् । पार्टी सदस्यता रोकेर पूर्वराष्ट्रपति विद्या भण्डारीलाई आफूसँगको प्रतिस्पर्धामा आउनै नदिएका ओलीले अध्यक्षका दाबेदार पोखरेललाई पन्छाउन विधान संशोधनको सहारा लिएका छन् ।
सचिवालय, केन्द्रीय कमिटीदेखि प्रतिनिधिहरूमा समेत सहज बहुमतमा रहेको फाइदा उठाउँदै ओलीले विधान महाधिवेशनको सर्वोच्चतालाई चुनौती दिँदै अनुकूल संरचना निर्माणका लागि विधान पारित गराएका छन् । ओलीले केन्द्रीय कमिटी बैठक र बन्दसत्र हलबाट समेत पदाधिकारीसहित केन्द्रीय सदस्यको संख्या बढाउने निर्णय सर्वसम्मत पारित गराए पनि यसले विधान महाधिवेशनको औचित्यमाथि भने प्रश्न उठाउने ठाउँ दिएको छ ।
पारित नयाँ विधानअनुसार एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र नौ सचिवसहित १९ जना पदाधिकारी महाधिवेशनबाट निर्वाचित हुनेछन् । अघिल्लो महाधिवेशनबाट निर्वाचित वरिष्ठ उपाध्यक्ष पद भने हटाइएको छ । वरिष्ठ उपाध्यक्ष पोखरेल ओलीलाई टक्कर दिन अध्यक्षका उम्मेदवार बनेर प्रतिस्पर्धा गर्ने तयारीमा छन् ।
ओलीले बहुमतको बलमा विधान महाधिवेशनको सर्वोच्चतालाई नै अस्वीकार गरेको आरोप लगाउँदै केन्द्रीय कमिटी बैठकमा वरिष्ठ उपाध्यक्ष पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डेलगायतले प्रतिवाद गरेका छन् । उनीहरूले शुक्रबार केन्द्रीय सचिवालय बैठकमा कमिटीको आकार नबढाउने गरी निर्णय भएको प्रसंगसमेत ओलीलाई सम्झाएका थिए । तर, आफ्नै समूहभित्र महासचिवसहित पदाधिकारीका र केन्द्रीय सदस्यका आकांक्षी मिलाउनुपर्ने दबाबमा रहेका ओलीले कसैका कुरै सुन्न चाहेनन् ।
‘के हाम्रा विधानहरू अस्थायी हुन् र ? हिजो विधान अधिवेशनअगाडि संख्या घटाऔँ भन्ने, अनि आज फेरि कोटाका नाममा त्यही संख्या बढाऔँ भन्ने– यो सरासर मनपरी होइन भने के हो ? अहिले आएर दायाँ–बायाँ गर्ने हो भने विधान अधिवेशनको औचित्य नै समाप्त हुन्छ,’ विधान संशोधन गराउने ओलीको कदममाथि पाण्डेले प्रतिक्रिया जनाएका छन्, ‘यो मनपरीतन्त्रको विरुद्धको लडाइँ जारी छ । पार्टी विधान, विधि र प्रक्रियाअनुसार चल्नु अनिवार्य छ ।’
संस्थापन पक्षधर नेताहरूले भने योग्यहरू नछुटुन् भन्नका लागि कमिटीको आकार बढाइएको दाबी गरेका छन् । ‘काम गरेका योग्य साथीहरू नछुटुन् भन्नका लागि कमिटीको आकार बढाइएको हो,’ सचिव तथा महाधिवेशन प्रचार समिति संयोजक पद्ममा अर्यालले नयाँ पत्रिकासँग भनिन्, ‘हिजो सँगै काम गरेका साथीहरू समेट्न लचिलो भएको हो । पहिलादेखिकै अभ्यासलाई नै फेरि पुनस्र्थापित गरिएको मात्र हो ।’
अर्यालले केन्द्रीय कमिटी बैठकमा अध्यक्षको कार्यकारी पदमा एउटा व्यक्ति दुई कार्यकालभन्दा बढी उम्मेदवार बन्न नपाउने व्यवस्था गरिनुपर्ने प्रस्तावै नआएकाले बन्दसत्रमा प्रस्ताव नलगिएको दाबी गरिन् । ‘कार्यकालको कुरा त्यहाँ उठेन, उठेको भए बन्दसत्रमा छलफल हुन्थ्यो,’ उनले भनिन् ।
निर्वाचन कार्यतालिका प्रकाशित
संशोधित विधानअनुसार पार्टीको निर्वाचन आयोगले निर्वाचन कार्यतालिका प्रकाशित गरेको छ । जसअनुसार सोमबार प्रतिनिधिहरूको नामावली प्रकाशन, मंगलबार उम्मेदवारी मनोनयन र बुधबार निर्वाचन गरी परिणाम घोषणा गरिने कार्यतालिका सार्वजनिक भएको छ ।
कार्यतालिकाअनुसार आइतबार बेलुकी ७ बजे मतदाता नामावली प्रकाशन हुनेछ । सोमबार बिहान ८–९ बजेसम्म नामावलीउपर दाबी/विरोध तथा ९:३० बजे त्यसको सूचना प्रकाशन गरिनेछ । त्यस्तै, सोमबार १०:१५ बजे अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ । त्यसैगरी, सोही दिन बिहान ९–१२ बजेसम्म उम्मेदवारको दरखास्त फाराम वितरण गरिनेछ । आयोगका अनुसार मंगलबार बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म मतदानको कार्यक्रम तय भएको छ ।
उम्मेदवारहरूको मनोनयन सकिएपछि विद्युतीय मतदान गराउनुपर्ने भएकाले विद्युतीय भोटिङ मेसिनमा सबै उम्मेदवारहरूको फोटोसहितको नाम स्टोर गर्नुपर्ने हुन्छ । त्यसका लागि करिब १५ घण्टाको समय लाग्ने जानकारी दिँदै आयोगका अध्यक्ष डा. विजय सुब्बाले त्यसपछि मात्र निर्वाचन सुरु हुने बताए ।
यसरी हुँदै छ केन्द्रीय कमिटीको निर्वाचन
सचिव पद्ममा अर्यालका अनुसार नयाँ विधानअनुसार सातवटा भूगोलसहित राजधानी उपत्यका विशेष र विशेष सम्पर्क समन्वय कमिटीसहित नौ प्रदेश हेर्ने गरी नौ सचिवको निर्वाचन हुनेछ । त्यस क्रममा सम्पर्क विशेषबाहेक ८ प्रदेशबाट नौ जनाका दरले ७२ जना केन्द्रीय कमिटी सदस्य निर्वाचित हुनेछन् । जसअनुसार प्रत्येक प्रदेशबाट पाँच खुला, तीन महिला र एक जना ४० वर्षमुनिका युवा निर्वाचित हुनेछन् । यसअनुसार ४० खुला, २४ महिला र ८ जना ४० वर्षमुनिका युवा केन्द्रीय सदस्य निर्वाचित हुनेछन् ।
त्यस्तै, खुला कोटाबाट १ सय २५ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । जसअनुसार खुला ७१, महिला ५२ र ४० वर्षमुनिका युवा दुईजना निर्वाचित हुनेछन् । जनजाति र आदिवासी क्षेत्रबाट २५ जना निर्वाचित हुनेमा खुलाबाट १५, महिलाबाट आठ र युवाबाट दुईजना निर्वाचित हुनेछन् । त्यस्तै, मधेशी समूहबाट २० जना निर्वाचित हुनेमा ११ जना खुला, ६ जना महिला र दुई युवा, प्रवास क्षेत्रबाट दुई जनामध्ये एकजना भारत र अन्य देशबाट एकजना निर्वाचित हुनेछन् । त्यस्तै, श्रमिक समूहबाट एक महिलासहित तीन, अपांगता भएका व्यक्ति खुला एक, दलित समूहबाट १२ जनामध्ये खुला सात, महिला चार र युवा एक निर्वाचित हुनेछन् ।
थरू समूहबाट आठ जनामध्ये पाँच खुला र तीन महिला निर्वाचित हुनेछन् भने मुस्लिमबाट पाँच जनामध्ये चार खुला र एक महिला, पिछडिएको क्षेत्रबाट दुईमध्ये एक खुला र एक महिला निर्वाचित हुनेछन् । केन्द्रीय कमिटीको एक तिहाइ ९९ सय सदस्यीय पोलिटब्युरो र त्यसको एक तिहाइ स्थायी समिति बनाइने गरी विधान संशोधन भएको छ । यसअघि स्थायी समितिको संरचना राखिएको थिएन ।
प्यानल बनाउन गुन्डु र थापागाउँमा राति अबेरसम्म छलफल
सोमबार बिहानबाट निर्वाचन प्रक्रिया अगाडि बढ्ने भएपछि अध्यक्षका उम्मेद्वार ओली र पोखरेलले टिम निर्माणका लागि राति अबेरसम्म छलफल चलाएका छन् । टिम बनाउन ओलीले गुन्डु निवासमा र पोखरेलले थापागाउँस्थित मदन भण्डारी फाउन्डेसनको कार्यालयमा राति अबेरसम्म छलफल गरेका छन् । ‘रातभरिमा टिम निर्माण टुंगिन सक्छ, अध्यक्ष कमरेड धेरै लचिलो बन्नुभएकाले अर्को पक्षसँग कुनै नयाँ समझदारी हुन पनि सक्छ, दुवै बराबरी सम्भावना छ,’ ओलीनिकट एक नेताले भने । उता, पोखरेल समूहले पदाधिकारीसहित भूगोलसमेत केन्द्रीय सदस्यको सबै समूह र खुलामा तलैबाट उम्मेदवारी दिने गरी प्यानलका लागि छलफल चलाएको छ । सोमबार बिहानसम्म टिम निर्माणले आकार लिने उनीनिकट एक नेताले बताए ।
बन्दसत्र स्थलमा टिकटक सुटिङ, सेल्फी स्थलदेखि ई–पुस्तकसम्मको आकर्षण
एमालेले राष्ट्रिय महाधिवेशनको बन्दसत्र स्थललाई डिजिटलमय र सोसल मिडियामैत्री बनाएको छ । महाधिवेशन स्थलमा प्रतिनिधिहरूदेखि अन्य सहभागीसम्मका लागि टिकटक सुटिङस्थल आकर्षणको केन्द्र बनेको छ ।भृकुटीमण्डपको मूल गेटबाट प्रवेश गर्नेबित्तिकै दाहिनेतिर टिकटक सुटिङस्थल राखिएको छ । जहाँ, इच्छुकहरूले पार्टीको गीतमा होस् या आफूलाई मन परेको गीतमा धितनमरुन्जेल सुटिङ गर्न पाउँछन् ।
सुटिङका लागि उभिएर पोजिसनमा बस्ने स्थल र सेल्फी स्टिक राखिएको छ भने स्वयंसेवकहरूले टिकटक सुटिङ गर्नेहरूलाई सघाइरहेका छन् । बन्दसत्रको पहिलो दिन भएकाले टिकटक सुटिङ स्थलबारे अधिकांश प्रतिनिधिहरूलाई जानकारी नै नभएको स्वयंसवेकहरूले बताए ।
बन्दसत्र स्थल प्रवेशका लागि भृकुटीमण्डप पार्क हुँदै अगाडि बढ्नुपर्ने हुन्छ । पार्कमा ओलीको तस्बिरसहित सेल्फी खिच्ने स्थल बनाइएको छ । जहाँ अरू तरिकाले पनि फोटो खिच्न सकिन्छ । फोटो खिच्न बसिरहँदा अगाडिको स्क्रिनमा आफ्नो पोजिसन हेरेर फोटोफ्रेन्ड्ली पोज दिन सकिन्छ । आसपासमा कफीसपदेखि पुस्तक पसलका स्टल राखिएका छन् ।
पार्क क्रस गरेर दाहिनेपट्टि लागेपछि पन्डालभित्र पुगिन्छ । जहाँ दुई हजार २६२ जना प्रतिनिधिहरूले बन्दसत्रको छलफलमा भाग लिइरहेका हुन्छन् । पन्डालको दक्षिणतिर एमालेले ७५औँ वर्षगाँठका अवसरमा नेपाली कम्युनिस्ट आन्दोलनको इतिहाससम्बन्धी पुस्तकलाई ई–पुस्तकका रूपमा प्रदर्शनीका लागि राखेको छ ।
महाधिवेशनमा पुस्तान्तरण र हस्तान्तरणको सुन्दर संयोजन छ : ओली
४० वर्षमुनिका युवा र जेन–जीको सहभागिताले एमालेमा पुस्तान्तरण र हस्तान्तरणको सुन्दर सिलसिला अगाडि बढेको छ । एमालेले मधेशलाई हेला गर्यो भनेर हल्ला मच्चाउँछन् । तर, मधेशबाट ठुलो संख्यामा प्रतिनिधित्व छ । सैयौँ थुंगा फूलका हामी एउटै माला एमालेजस्तै देखिएको छ, यसका लागि एमालेले असाधारण संघर्ष गरेको छ ।
फाटो र विभाजनको प्रयास असफल बनाएर राष्ट्रलाई बलियो बनाउँदै अगाडि बढेका छौँ । जानेर वा नजानेर पार्टी सञ्चालन गर्दा कमी–कमजोरी भएको हुन सक्छ । कतै कमी भएछ भने माफी माग्दछु र सच्चिन पनि तयार छु । तर, अहिलेको संकटको घडीमा सहमतिसहित नेतृत्व छानेर अगाडि बढौँ ।
पार्टीलाई थप खती नहोस्, अभिभावक बन्नुस् : पोखरेल
तपाईं ११ वर्ष पार्टी अध्यक्ष हुनुभयो, हामीलाई पनि चुनौतीको सामना गर्न सिकाउनुभयो । ०७२ देखि ८२ सम्मको १० वर्षको अवधिमा ६ वर्ष मुलुकको प्रधानमन्त्री बन्नुभयो । कमरेडहरू, अब उँधौली सुरु हुँदै छ, यो उँधौलीले उहाँ अध्यक्ष (ओली), हाम्रो पार्टी, आन्दोलन र मुलुकलाई नोक्सान गर्छ कि भन्ने चिन्ता छ । उहाँको निरन्तरता हुने कुराले थप खती हुने हो कि भनेर भित्रैदेखि चिउचिउ भइरहेको छ । अब कमरेड ओलीले यो पार्टीको अभिभावक हुनुपर्छ भन्ने ठान्छु । आमरूपमा त्यही परिस्थिति छ, मेरो अवधारणा पढेर साथ र समर्थन दिनुस्, अब नेतृत्वको जिम्मा हामीलाई दिनुस् भन्न चाहन्छु ।