आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार छनाेटमा कालीकोटमा विवाद देखिएको छ । जिल्ला सभापति अम्मबहादुर शाही पक्षले एउटा नामावली सिफारिस गरेर पठाएको छ भने त्यसमा विमति जनाउँदै उपसभापति मीनबहादुर बोगटी पक्षधरले एउटा अर्कोे नामावली पठाएको हो ।
सभापति शाही पक्षले युवा नेता भूपेन्द्र शाहीसहित तीनजना सिफारिस भएका छन् । शनिबार सम्पन्न नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठकले युवा नेता शाहीसहित तीनजनाको नाम सिफारिस गरेको छ ।
कांग्रेस कालीकोटले पहिलो नम्बरमा शाही, दोस्रोमा पार्टी सभापति अम्बबहादुर शाही र महिलातर्फ सीता रावलको नाम सिफारिस गरेको छ । त्यसमा विमति जनाउँदै उपसभापति बोगटी पक्षले फागुन २१ गते हुने प्रतिनिधिसभा र माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि पूर्वजिल्ला सभापति हर्षबहादुर बम, नारायणप्रसाद भट्टराई, दमनराज बम, केशरजंग बम र जीवन सुवेदीलाई उम्मेदवार चयन गरेको छ ।
त्यस्तै, समानुपातिकतर्फ पूर्वजिल्ला सभापति कालीबहादुर सहकारी, मुक्तिप्रसाद न्यौपाने, भावनाकुमारी शाही, छाया सुनार र भरत विकलाई सिफारिस गरेको छ ।
राष्ट्रिय सभातर्फ विष्णुबहादुर शाही र दानबहादुर बमलाई सिफारिस गरेको छ । पार्टीको निर्णय विपरीत एकलौटी रूपमा सिफारिस गरिएकोले आफूलाई आधिकारिक रूपमा उम्मेदवार छनाेट गरेको उपसभापति मीनबहादुर बोगटीले बताए ।
शाही ०७० सालको दोस्रो संविधानसभा र ०७४ सालमा सम्पन्न प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत हुन् । शाही नेपाल विद्यार्थी संघको विद्यालय एकाइ कार्यसमिति हुँदै नेविसंघ केन्द्रीय सदस्य, केन्द्रीय उपाध्यक्षका साथै नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको केन्द्रीय महासचिव पनि भइसकेका नेता हुन् ।