संखुवासभामा श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

आइतबार, २९ मंसिर, २०८२
डिजिटल संस्करण

संखुवासभाको मादी नगरपालिकामा श्रीमतीको हत्या गरी शव गाडेको आरोपमा एक पुरुष पक्राउ परेका छन्। पक्राउ पर्नेमा मादी नगरपालिका– ३ का ४९ वर्षीय प्रेमदोर्ची शेर्पा रहेका छन्।

गत ९ मंसिरको राति करिब साढे १० बजे मादी नगरपालिका– ४, ओखरबोटे बजारबाट घर फर्किने क्रममा प्रेमदोर्ची शेर्पा र उनकी ३७ वर्षीया श्रीमती मीना शेर्पाबिच सामान्य विषयमा विवाद भएको थियो। सोही विवादका क्रममा बाटोमै कुटपिट गर्दा मीना शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताए।

प्रहरीका अनुसार घटनापछि प्रेमदोर्ची शेर्पाले आफ्नी श्रीमती बाटोबाटै आफैँ हिँडी बेपत्ता भएको भन्दै प्रहरी चौकी मादी मंगलबारेमा हुलिया निवेदन दिएका थिए। तर, खोजतलास तथा सोधपुछका क्रममा उनीमाथि शंका लागेपछि कडाइका साथ सोधपुछ गर्दा उनले श्रीमतीको हत्या गरेको स्वीकार गरेका थिए।

हत्यापश्चात् सोही रात मादी नगरपालिका– ३ स्थित आफ्नै अलैँची बारीमा खाडल खनी शवलाई त्रिपालमा बेरी गाडेको बयान दिएका थिए। त्यसपछि इलाका प्रहरी कार्यालय चैनपुर, संखुवासभाबाट प्रहरी निरीक्षक पर्शुराम राईको कमान्डमा खटिएको अनुसन्धान टोलीले उत्खनन गर्दा जमिनमुनि त्रिपालले बेरेको अवस्थामा सडेगलेको महिलाको शव फेला परेको थियो।

घटनामा संलग्न प्रतिवादी प्रेमदोर्ची शेर्पालाई आइतबार पक्राउ गरी संखुवासभा जिल्ला अदालत चैनपुरबाट कर्तव्य ज्यान मुद्दा दायर गरिएको प्रहरीको भनाइ छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सुझावित समाचार