पर्यटक घुमफिर गर्न आउने मुख्य (पिक) सिजन सुरु भइसक्दा पनि कोशी सरकारले घोषणा गरेको ‘प्रदेश पर्यटन वर्ष २०८२’ आठ महिना बितिसक्दा पनि अझै अलपत्र छ । निजी क्षेत्रका पर्यटन व्यवसायी भने जेन–जी आन्दोलनपछि ‘नेपालको पर्यटन क्षेत्र सुरक्षित छ, ढुक्कले घुमफिर गर्न आउनुहोस्’ भन्दै प्रचार–प्रसारमा सक्रिय भएका छन् ।
कोशी प्रदेश सरकारले २७ चैत ०८१ मा तेह्रथुमको वसन्तपुरस्थित तीनजुरे मिल्के जलजलेमा भव्य रूपले कोशी भ्रमण वर्ष थालेको थियो । जसको उद्घाटन तत्कालीन उपप्रधानमन्त्री प्रकाशमान सिंहले गरेका थिए । कार्यक्रममा कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ‘प्रदेश पर्यटन वर्ष २०८२’ मा कम्तीमा दुई लाख पर्यटक भित्रिने दाबी गरेका थिए । उनकै नेतृत्वको सरकारले पर्यटन वर्षलाई सफल बनाउन पाँच करोड ४६ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
तर, चालू आर्थिक कर्षको पाँच महिना बितिसक्दा पनि २६ मंसिरमा पर्यटन नीतिबारे एउटा अन्तरक्रिया कार्यक्रम मात्र आयोजना भएको छ । भ्रमण वर्षमा पर्यटक आउने ‘पिक सिजन’को डिसेम्बर महिना आधा बितिसक्दा पनि अझै कोशी सरकारले पर्यटन वर्षका लागि प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्न सकेको छैन । जेन–जी आन्दोलनपछि सरकारले गरेको निर्णयअनुसार २५ प्रतिशत बजेट कटौती गर्ने कि नगर्ने भन्नेबारे अझै निर्णय गर्न बाँकी नै छ ।
पर्यटन मन्त्रालयले बजेट कटौती गर्दा कार्यक्रम प्रत्यक्ष प्रभावित हुने भन्दै बजेट कतौती नगर्न आग्रह गरेके छ । तर, सरकारले अर्को निर्णय नगर्दा आर्थिक मामिला मन्त्रालयले अझै बजेट कटौती गर्ने नगर्नेबारे स्वीकृति दिइसकेको छैन । जेन–जी आन्दोलनपछि सरकारको अलमलले गर्दा पर्यटन मन्त्रालयले पर्यटन वर्षका लागि कार्यक्रम निर्माण गर्न आवश्यक पर्ने मूल निर्देशन समिति र सञ्चालन गर्ने कार्यविधि भर्खरै निर्माण गरेको छ ।
पर्यटन मन्त्रालयका महाशाखा प्रमुख कृष्णकुमार नेउपानेले मन्त्रालयका सचिव निर्देशक रहने गरी व्यवसायीहरूको समेत सहभागितामा सात सदस्यीय निर्देशन समिति गठन भइसकेको र कार्यविधि पनि निर्माण भएर राजपत्रमा प्रकाशित भइसकेकाले अब धमाधम बैठक बसेर कार्यक्रमको सूची तयार गर्न लागेको बताए । उनका अनुसार २६ मंसिरमा निर्देशन समितिको बैठकले कार्यक्रमको मोटामोटी खाका तयार गरेको छ ।
‘आर्थिक मन्त्रालयले स्वीकृति दिएपछि निर्देशन समितिले तयार गरेका कार्यक्रमअनुसार नै विनियोजित भएको बजेट खर्च हुनेछ,’ उनले भने । निर्देशन समितिले तयार पारेको खाकाअनुसार भारतको बिहार, बंगाल र सिक्किम राज्यमा गएर पर्यटन गन्तव्य र सुरक्षा अवस्थाको प्रचार गर्ने, पर्यटकहरूको सेवाबारे स्थानीय व्यवसायीलाई अभिमुखीकरण गर्ने, पर्यटन व्यवसायहरूको सूची तयार गर्ने, पर्यटन पढिरेहका विद्यार्थीलाई र मिडियालाई प्रचार–प्रसारमा परिचालन गर्नेलगायतका पहिलो चरणमै गरिसक्नुपर्ने कार्यक्रम छन् । सचिवहरूको सरुवा र जेन–जी आन्दोलनले पहिलो चरणमै गरिसक्नुपर्ने पर्यटन प्रवद्र्धन र प्रचार–प्रसारका लागि गरिने प्राय: कार्यक्रम स्थगित भएका छन् । ‘सरकारले गति तीव्र बनाएन भने कोशी पर्यटन वर्ष घोषणामै सीमित हुन सक्छ, यसमा गम्भीर हुनुपर्छ,’ होटेल व्यवसायी महासंघ कोशीका उपाध्यक्ष रविन गौतमले भने ।
उद्योग वाणिज्य महासंघ कोशीका पर्यटन समिति संयोजक भवेश श्रेष्ठले जेन–जी आन्दोलनपछि पर्यटनका लागि नेपाल असुरक्षित छ भन्ने भ्रम चिर्न भारतका विभिन्न सहरमा गएर छलफल र सेमिनार आयोजना गरिरहेको बताए । उनका अनुसार पर्यटन व्यवसायीहरूको छलफललाई भारतीय सञ्चारमाध्यमले समेत उच्च महत्व दिएर प्रचार–प्रसारमा सहयोग पुर्याइरहेका छन् । ‘जेन–जी आन्दोलनको बहाना बनाएर सरकार सधैँ अलमलमा परिरहनु हुँदैन, बाधा अड्काउ फुकाएर प्रदेश पर्यटन वर्ष सफल बनाउन सरकार फास्ट ट्र्याकबाट लाग्नुपर्छ,’ उनले भने ।