दोस्रो एनपिएलमा पोखरा एभेन्जर्सका एडम रोसिंटन सर्वाधिक रन बनाउने ब्याट्सम्यान बनेका छन् । सात खेलमा एक शतक तथा दुई अर्धशतक सहयोगमा रोसिंटनले सर्वाधिक ३२३ रन जोडे । लुम्बिनीका कप्तान रोहित पौडेल समग्र एनपिएलमा दोस्रो तथा स्वदेशी खेलाडीमा सर्वाधिक रन बनाउने सूचीमा रहेका छन् । उनले १० खेलमा २७६ रन बटुलेका छन् । फाइनलअघि सुदूरपश्चिमका ओपनर विनोद भण्डारी २६० रनका साथ दोस्रो स्थानमा थिए ।
तर, उनी लुम्बिनीसँगको उपाधि भिडन्तमा शून्य रनमा आउट भए । रोहितले फाइनलमा १६ रन जोड्दै दोस्रो स्थानमाथि कब्जा जमाए । प्रतियोगितामा उनले एकपटक पनि अर्धशतकीय इनिङ्स खेल्न सकेनन् । दोस्रो एनपिएलमा उनले कर्णाली याक्सविरुद्ध सर्वाधिक ४९ रन तथा पोखराविरुद्ध ४० रन जोडेका थिए । यसैगरी, विराटनगर किंग्स र जनकपुरसँगको खेलमा रोहितले समान ३४ रन जोडेका थिए ।
विराटनगरसँगको खेलमा शून्य रनमा आउट भएका थिए । लगातार दोस्रोपटक उपविजेतामा सीमित भएको सुदूरपश्चिमका विनोद नौ खेलमा २६० रन जोड्दै तेस्रो स्थानमा रहे । लुम्बिनीका ओपनर डार्सी सट २५६ रनका साथ चौथो स्थानमा छन् । कर्णालीका मार्क वाटले सात खेलमा २४६ रन बनाउँदै पाँचौँ स्थान रक्षा गरेका छन् । पोखराका एडम र कर्णालीका मार्कले मात्र दोस्रो एनपिएलमा शतकीय इनिङ्स खेलेका थिए । चितवनका रवि बोपाराले लगातार तीन खेलमा अर्धशतक लगाएका थिए ।