आइतबार बिहानैबाट एमाले ११औँ महाधिवेशनको बन्दसत्र सुरु हुने कार्यतालिका रहे पनि समय केही पर सरेको छ । बन्दसत्र सुरु हुनुअघि बिहान केन्द्रीय कमिटी बैठक बस्दै छ । बैठक सकिएपछि १२:३० बजेपछि बन्दसत्र सुरु हुनेछ । यद्यपि, जिल्लाबाट आएका प्रतिनिधिहरु बन्दसत्र स्थलमा भेला भएका छन् । भृकुटीमण्डपमा अहिले चहलपहल बढेको छ ।
केन्द्रीय सचिवालयले नै अध्यक्षमण्डलको काम गर्ने निर्णय गरेकाले उसैले बन्दसत्र सुरु गर्नेछ । र, केन्द्रीय निर्वाचन आयोगलाई कामको जिम्मा दिनेछ । आइतबारबाटै निर्वाचन प्रक्रिया सुरु गर्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । ‘दुई हजार २६२ प्रतिनिधिको नामावली प्रकाशन, उम्मेदवारी मनोनयन, निर्वाचनको कार्यतालिका प्रकाशन गरेर आइतबार बिहानैबाट क्रमश: प्रक्रिया अगाडि बढ्छ,’ गौतमले भने, ‘सम्भवत: सोमबार उम्मेदवारी मनोनयन हुनेछ ।’
तर, निर्वाचन आयोगका प्रमुख डा. विजय सुब्बाले निर्वाचित हुने क्लस्टर टुंग्याएर दिएपछि मात्र निर्वाचन प्रक्रिया अगाडि बढाउन सहज हुने बताए । ‘क्लस्टर टुंगिएर आयो भने आइतबारबाटै पनि निर्वाचन कार्यतालिका सार्वजनिक गरेर प्रक्रिया अगाडि बढाउन सकिन्छ,’ सुब्बाले भने । उम्मेदवारी मनोनयनपछि भोटिङ मेसिनमा अल्फाबेटिकल्ली फोटोसहितको नामको सूची राख्न कम्तीमा १५ घण्टा लाग्ने उनको भनाइ छ । नियमित रूपमा काम अगाडि बढ्दा १ पुसमा मतदान सकेर ढिलोमा २ गते बिहानभित्र परिणाम सार्वजनिक गर्न सक्ने योजना रहेको उनले सुनाए । उनका अनुसार ८० वटा भोटिङ मेसिनमा मतदान गराउने र एकजना प्रतिनिधिलाई मत दिन २५ मिनेट लाग्ने अनुमान छ । उनले मतदान सकिएको तीन घण्टाभित्र परिणाम सार्वजनिक गर्न सकिने बताए ।
बन्दसत्र सञ्चालनका लागि प्रदीप ज्ञवालीको नेतृत्वमा प्रस्ताव लेखन र पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा माइन्युटिङ कमिटी बनाउने सचिवालयले निर्णय गरेको थियो । थप समिति र सदस्यहरू अध्यक्षमण्डलले नै बनाउनेछ भने डा. सुब्बा नेतृत्वको निर्वाचन आयोगले निर्वाचनसम्बन्धी काम गर्नेछ ।
शनिबारको उद्घाटन समारोहमा अध्यक्षका प्रत्याशी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सम्बोधन गरेनन् । उपमहासचिव प्रदीप ज्ञवालीको सञ्चालन, अध्यक्ष केपी ओली र महासचिव शंकर पोखरेलको मन्तव्य आउँदा वरिष्ठ उपाध्यक्ष पोखरेल बोलेनन् । स्रोतका अनुसार स्वागत सम्बोधन गर्न ओलीले गरेको प्रस्ताव पोखरेलले अस्वीकार गरेका थिए । आफूलाई पनि वक्ता राख्नुपर्ने पोखरेलको अडान थियो ।
