प्रहरीमा पहिल्यै थिए ठगीसम्बन्धी सात मुद्दा, फेरि ७२ युवासँग ठगे ६ करोड

मुख्य योजनाकार अनुपकुमार सिंह भारत भाग्दै गर्दा झापाबाट पक्राउ

आइतबार, २९ मंसिर, २०८२
डिजिटल संस्करण

ललितपुर महालक्ष्मी नगरपालिका– ४ का ५१ वर्षीय मनोजकुमार सिंह भन्ने अनुपकुमार सिंहको आदत नै बनिसकेको थियो ठगी । उनीविरुद्ध ठगीका ६ र धाकधम्कीसम्बन्धी एक गरी सात मुद्दा प्रहरीमा पहिल्यै दर्ता थिए, तर ठगीधन्दा छाडेनन् । युकेको म्यानचेस्टरस्थित मिडल्यान्ड होटेलमा आकर्षक तलब दिलाइदिने प्रलोभनमा ७२ युवाबाट ६ करोड रुपैयाँ ठगी गरेको मुद्दा परेपछि भने उनी पक्राउ परेका छन् ।

सिंहलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले झापाबाट पक्राउ गरेको हो । प्रहरीमा उजुरी परेको सूचनापछि उनी काँकडभिट्टा नाकाबाट भारततिर भाग्दै थिए । 

उनीविरुद्ध अनुसन्धान कार्यालयमा ४८ पीडितले जाहेरी दिएका छन् । जाहेरीमा सिंहले चार करोड ३९ लाख ५१ हजार ५५८ रुपैयाँ ठगी गरेको आरोप छ । तर, जाहेरी दिन आउने र नआउनेसमेत गर्दा सिंहले ७२ युवाबाट ६ करोड रुपैयाँभन्दा धेरै रकम ठगी गरेको कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यले बताए ।

‘युके पठाइदिने प्रलोभनमा सिंहले ७२ युवाबाट ६ करोड रुपैयाँभन्दा धेरै रकम ठगी गरेको देखिन्छ । जसमध्ये ४८ पीडितले त हामीकहाँ जाहेरी नै दिएका छन् । अन्य पीडितको पनि जाहेरी आउने क्रम जारी छ,’ उनले भने । 

प्रहरीका अनुसार सिंहसहित घटनामा संलग्न भक्तपुर मध्यपुर थिमि नगरपालिका– ९ बस्ने दोलखा मेलुङ गाउँपालिका– ७ का ५१ वर्षीय नरबहादुर श्रेष्ठ भनिने लड्डुबहादुर श्रेष्ठ पनि पक्राउ परेका छन् । 

उनीहरूको समूहले युकेस्थित मिडल्यान्ड होटले र रोयल बिजनेस टिमसँग भएको नक्कली सम्झौतापत्र युवालाई देखाउने र लोभ्याएर चर्को रकम उठाउने गरेका थिए । युवालाई अझ विश्वस्त दिलाउन उनीहरूले नेपालस्थित बेलायती दूतावासबाट जारी भएको नक्कली भिसा मात्र नभई हवाई टिकटसमेत नक्कली बनाएर देखाउने गरेको खुलेको छ । रकम असुलेपछि भने उनीहरू ती युवाको सम्पर्कबाट फरार हुने गरेका थिए । 

पक्राउ परेकामध्ये सिंह ठगीधन्दाका मुख्य योजनाकार हुन् । उनले आफूलाई पूर्वराजपरिवारको सदस्य रहेको समेत भन्दै आएका थिए । सोही आधारमा उनले रोयल बिजनेस टिम नामको कम्पनी खोलेका थिए । उनीविरुद्ध प्रहरीका विभिन्न कार्यालयमा ठगीसम्बन्धी सात मुद्दा दर्ता भएका छन् ।

प्रहरीका अनुसार जिल्ला प्रहरी परिसर काठमाडौंमा चार र जिल्ला प्रहरी परिसर ललितपुरमा दुईवटा ठगीका मुद्दा दर्ता छन् । त्यस्तै, ठगीको रकम फिर्ता माग्ने पीडितलाई धम्क्याएको एउटा मुद्दा प्रहरी वृत्त दरबारमार्गमा दर्ता भएको छ । रकम फिर्ता माग्नेलाई उनी आफू पूर्वराजपरिवारको सदस्य रहेको भन्दै धम्की दिने गर्थे ।

रकम फिर्ता माग्नेलाई ‘पूर्वराजपरिवारको सदस्य हुँ’ भन्दै धम्क्याउँथे सिंह
पक्राउ परेका अनुपकुमार सिंह ठगीधन्दाका मुख्य योजनाकार हुन् । उनले आफूलाई पूर्वराजपरिवारको सदस्य रहेको समेत भन्दै आएका थिए । सोही आधारमा उनले रोयल बिजनेस टिम नामको कम्पनी खोलेका थिए । उनीविरुद्ध प्रहरीका विभिन्न कार्यालयमा ठगीसम्बन्धी सात मुद्दा दर्ता भएका छन् । प्रहरीका अनुसार जिल्ला प्रहरी परिसर काठमाडौंमा चार र जिल्ला प्रहरी परिसर ललितपुरमा दुईवटा ठगीका मुद्दा दर्ता छन् । त्यस्तै, ठगीको रकम फिर्ता माग्ने पीडितलाई धम्क्याएको एउटा मुद्दा प्रहरी वृत्त दरबारमार्गमा दर्ता भएको छ । रकम फिर्ता माग्नेलाई उनी आफू पूर्वराजपरिवारको सदस्य रहेको भन्दै धम्की दिने गर्थे ।

सुझावित समाचार