इको पहिरो नियन्त्रणमा सहमति, आठ दिनदेखि बन्द कोदारी सडक खण्ड खुल्यो

शनिबार, २८ मंसिर, २०८२
डिजिटल संस्करण

भोटेकोशी–२, कोदारीस्थित इको पहिरो नियन्त्रण गर्न दुई महिनाभित्र काम सुरु गर्ने सहमति जुटेको छ। तातोपानीका स्थानीय र सडक डिभिजन कार्यालय चरिकोटबिच पहिरो नियन्त्रणमा सहमति जुटेको हो।

सहमतिसँगै आठ दिनदेखि बन्द कोदारी सडक खण्ड खुला भएको छ। सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोला र सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख नारायणदत्त भण्डारीले बिहीबार र शुक्रबार स्थानीयसँग वार्ता गरेका थिए। स्थानीयले २० मंसिरदेखि माग पूरा गर्न माग गर्दै सडक बन्द गरेका थिए।

सडक अवरुद्ध हटेपछि खासामा अड्किएका मालबाहक कन्टेनर धमाधम लिपिङ प्रवेश गर्न थालेका छन्। भोटेकोशी–२ का वडाध्यक्ष कुमार श्रेष्ठको नेतृत्वमा रहेका स्थानीय र सडक डिभिजनबिच सहमति भएपछि तातोपानी नाका सञ्चालनमा आएको छ।

इको पहिरो नियन्त्रणका लागि अर्थ मन्त्रालयबाट ४८ करोड ४९ लाख रकम विनियोजन भएर ठेक्कासमेत आह्वान भइसकेको छ। ‘ठेक्का सम्झौता गरेर दुई महिनाभित्र काम सुरु गर्छौँ,’ डिभिजन प्रमुख भण्डारीले भने। इको पहिरोमाथि रहेका मानव बस्ती जोगाउन सबै उपाय लगाउने पनि उनले बताए। भौगोलिक विकटताले सबै कुराको जिम्मा लिन सकिने अवस्था त छैन। तर, बस्ती सुरक्षालाई ध्यान दिने उनले प्रस्ट्याए। पहिरो नियन्त्रण गर्दा गाउँ सबैको जिम्मेवारी लिन माग गरेकोले स्थानीयसँग तत्काल सहमति हुन सकेको थिएन। हाललाई अन्तर्राष्ट्रिय कोदारी राजमार्ग सुरु गर्ने सहमति जुटेको वडाध्यक्ष श्रेष्ठले बताए। ‘६० दिनभित्र निर्माणको काम सुरु गर्ने सहमति भएको हो,’ उनले भने।

कोदारी राजमार्ग बन्द हुँदा खासामा रोकिएका कन्टेनरमा स्याउ कुहिएको छ। सडक खुला भए पनि चिनियाँले मालबाहक कन्टेनर धमाधम पास हुन नदिने हो कि भन्ने चिन्ता व्यापारी वर्गमा परेको छ।

सुझावित समाचार