गीत समाजको साक्षी

शनिबार, २८ मंसिर, २०८२
डिजिटल संस्करण

धेरैले सोध्छन्, ‘गीत कसरी जन्मिन्छ ?’ म भन्छु, गीत शब्द मात्रै होइन, यो कथा र पात्र पनि हो । गीत लेख्नुअघि म पात्र र परिवेशभित्र पस्छु । गीत सिर्जनाअघि कथा आउनुपर्छ । कथा कसको हो ? त्यो पात्र कस्तो भूगोलमा हुर्किएको हो ? उसको समाज, संस्कृति, प्रकृति, परिवेश कस्तो छ ? भन्ने कुराले अर्थ राख्छ । पात्रको परिवेशलाई मनन गर्छु । मेरा अधिकांश गीतमा पात्र, कथा, भूगोल, संस्कृति र समय छ । हिउँ, चिया, लेकबेँसी, खर्क, चौतारी, पानीघट्टा, साइला–साइली, वृद्धवृद्धा, बिदेसिएका छोराछोरी, र गाउँले जीवनजस्ता परिवेश नै गीत बनेर आएका छन् ।

गीत लेख्नुअघि भौगोलिक अवस्था, सांस्कृतिक अवस्था र सामाजिक यथार्थलाई बुझ्नुपर्छ । गीतमा समाज र परिवेशको व्याख्या मात्र गर्ने होइन । त्यहाँको माटोको गन्ध आउनुपर्छ । गीत सिर्जना केवल शब्दको क्रम मिलाउने काम मात्र होइन, त्यो जीवनका बिम्ब, भोगाइ र परिवेशसँगको गहिरो संवाद पनि हो । गीत बन्नुअघि कथाको जन्म हुन्छ, अनि कथासँगै पात्र बन्छ । पात्र नआए शब्द कसरी जन्मिन्छ ? गीतको मूल आत्मा पात्र हो, र त्यो पात्र कुन भूगोलमा हुर्किएको छ, उसको संस्कृति, समाज, प्रकृति र समयको अवस्था कस्तो छ भन्ने कुरा गीतको भाव निर्माण गर्ने आधार बन्छ । 

गीतमा भूगोल, संस्कार, प्रकृति ल्याउँछु । गीत सिर्जनामा प्राय: बिम्ब प्रयोग गर्छु । बिम्ब भनेको समाजको प्रत्यक्ष व्याख्या होइन, भावलाई टेवा दिने प्रतिबिम्ब हो । बन्द कोठामा होइन, खुला भूगोलमा जन्मिन्छ गीत । मलाई कतिले ‘तपाईं कोठाभित्र बसेर गीत लेख्ने मान्छे’ भन्छन् । तर, मनलाई बन्द कोठाभित्र राखेर गीत लेखिँदैन । गीतको सिर्जना गर्ने प्रेरणा सधैँ मान्छेको जीवन, प्रकृति र परिवेशबाट नै आउँछ । त्यसैले लेख्नुअघि भूगोललाई नियाल्छु, त्यहाँको हावा, पानी, संस्कृति, वेशभूषा र मानिसको चालचलन गहिरोसँग ग्रहण गर्छु । 

मैले केही समयअघि ‘माछापुच्छे« झलमल हिउँ फूलको रासैले’ गीत लेखेँ । यो गीतलाई धेरैले मन पराउनुभयो । गीतमा माछापुच्छ्रे बिम्बको रूपमा प्रयोग गरेको छु । मैले माछापुच्छे«लाई धेरैपटक हेरेको छु, हिउँले ढपक्क छोपिएको दृश्य मनमा बसेको छ । त्यो दृश्य, त्यो झलमल, त्यो चिसो अनुभूति, गीतमा आयो । किनकि म साक्षी बनेको थिएँ । माछापुच्छे«लाई हिउँले ढाकेको आफ्नै आँखाले देखेको हुँ । नदेखेको भए त्यो बिम्ब नै आउँदैन ।

मैले लेखेको ‘तीनपाते...’ गीत धेरैले रुचाए । इलामको चियालाई बिम्ब बनाएको छु । यदि मैले इलामकै चियाबारीमा बसेर चियाको पात नहेरेको भए, त्यो तीन पातको अर्थ गीतमा कसरी आउँथ्यो ? इलामको चियाबगानले जन्माएको हो, ‘तीनपाते’ गीत ।

गाउँ खाली हुँदै गएको समयलाई गीतमा ल्याएको छुु । जस्तो– ‘घुमीघुमी...’, ‘सुनखरी...’जस्ता गीतमा वृद्धवृद्धाको जीवनको कथा छ । गाउँबाट हराउँदै गएको जनजीवन र संस्कृतिको पीडा छ । सन्तान बाहिरिए, गाउँ खाली भए, बुढाबुढी एक्लिँदै गए । गीतले तिनै अवस्थामा उभिएर कथा भन्छ । 

चलचित्र ‘ऊनको स्विटर’का लागि ‘तिमीविना तिमी हुनु...’ गीत लेखेँ । साढे दुई घन्टाको फिल्मलाई कहिले–काहीँ दुई–तीन मिनेटको गीतले बुझाउनुपर्छ । ‘ऊनको स्विटर’ त्यस्तै कथा बोकेको गीत लेखेँ । जहाँ भौगोलिक अवस्था, मौसम, प्रेम, दूरी, मिलन बिछोड सबै बुनिएको छ । 

प्रकृतिसँगको अन्तरसम्बन्ध
म गाउँको परिवेशमा हुर्किएँ । पानीमा जाल हानेर माछा मारेको दृश्य देखेको छु । त्यो दृश्य सम्झिँदै गीत लेखेँ :

‘छ्याम्मै जाल पानीमा’
आँखा पर्यो नानीमा...

यी पंक्ति केवल शब्द मात्र होइनन् । त्यो प्रकृति, श्रम र संस्कृतिको बिम्ब हो । गीत र प्रकृतिको सजीव सम्बन्ध छ । बाल्यकालका दृश्य गीत बनेर आए । गीतमा घाम डुब्ने वेला माछा मार्न जाने मानिस, बिहान घाँस काट्दै जाल हान्न जानेहरूले बनाएको दृश्य आएको छ । 

आजकाल धेरैले लेख्छन्, गाउँछन् । प्रविधि छ, स्वर सम्हालिदिने साधन छ, गीत छिटो बाहिर ल्याइन्छ । यसले राम्रो पनि भएको छ । तर म भन्छु, गीत भनेको पहिचान हो । जुन पहिचान पात्र र परिवेश सम्झेर मात्रै जन्मिन्छ । गीत गाउँने देखिन्छ, भिडियोमा नाच्ने देखिन्छ, तर लेख्ने मान्छे देखिँदैन । त्यसैले कतिपयले गीत लेख्नेलाई चिन्दैनन् । तर, गीत लेखकको मनबाट निस्कन्छ, उसले देखेको समाज, उसले भोगेको कथाबाट जन्मिन्छ । 

गीत लेख्नु भनेको समाजको साक्षी हुनु पनि हो । समाजको, प्रकृतिको र मान्छेको भोगाइबाट गीत जन्मिन्छ । गीत कहिल्यै खाली कापीमा जन्मिँदैन । नेपाली समाज सामूहिक परिवार भएको समाज हो । अहिले धेरै छोराछोरी जन्माइँदैन । परिवारमा साइला र साइली नै हराइसक्यो । मैले दशकअघि ‘सुन साइली’ गीत लेखेँ । जुन हाम्रो समाजको भोगाइ नै थियो । साइला–साइली हाम्रो समाजका पात्र हुन् । त्यसलाई बिम्ब बनाएर बिदेसिनु पर्दाको भोगाइलाई देखाइयो । 

नेपाली समाज विविध संस्कृतिले बनेको छ । हाम्रो भौगोलिक विविधता छ । जाति र भूगोलको आफ्नै पहिचान छ । मैले गीतमा ‘मखमली’ शब्द ल्याएको छु । जुन गुरुङ, मगर समुदायको वेशभूषा हो । अर्काे मैले ‘माथिमाथि पान्थरे टीका...’ शब्द ल्याएको छु । मैले फाक्ताङलुङ हिमाल, बेँसी र लेकको मौसमलाई बिम्बको रूपमा उतारेको हुँ ।

जुन भूगोलको गीत लेख्दै छु, त्यो भुगोलको भाषाहरू ख्याल गर्छु । जस्तै, गाउँघरमा बुढापाकाले बोल्ने थेगो, ‘चाइनेजो जिन्दगानी...’ । यसलाई मैले गीतमा ल्याएँ । आजको पुस्ताले त्यो शब्द सुन्दैन । तर, गीतमा आयो भने नयाँ पुस्तालाई पनि लाग्छ, ‘यो त हाम्रो शब्द रहेछ ।’
 

See More On

सुझावित समाचार