१४ अर्बको पुरानो ठेक्का तोडेर सुनकोशी–मरिनमा नयाँ टेन्डर हुँदै

आधा समय घर्किसक्दा पनि १० प्रतिशत मात्रै निर्माणकार्य सम्पन्न गरेको पुरानो ठेकेदार भने अदालतमा

शनिबार, २७ मंसिर, २०८२
डिजिटल संस्करण

पटेल–रमण जेभीसँगको ठेक्का तोडिएपछि सिँचाइ विभागले सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनामा बाँध, विद्युत्गृहलगायतका सिभिल संरचना निर्माण गर्न नयाँ ठेक्का आह्वान गर्ने तयारी गरेको छ । राष्ट्रिय गौरवको उक्त आयोजनाको बाँध, विद्युत्गृहलगायतका सिभिल संरचना र गेटलगायतका हाइड्रोमेकानिकल उपकरण आपूर्ति तथा जडान गर्न पटेल–रमण जेभीसँग १४ अर्ब आठ करोड (करसहित)मा १७ पुस ०७९ मा ठेक्का सम्झौता भएको थियो । ठेक्काको म्याद ५५ महिना अर्थात् १८ असार ०८४ सम्म थियो । तर, सम्झौता गरेको ६१ प्रतिशत समय सकिँदा १० प्रतिशत मात्रै काम भएपछि २५ कात्तिकमा ठेक्का सम्झौता तोडिएको छ । सरकारले पछिल्लोपटक धमाधम रुग्ण ठेक्का तोडिरहेको छ । त्यसमा यो सबैभन्दा ठुलो रकमको ठेक्का हो । 

हाल परियोजनामा पटेल–रमणले गरेको काम र बाँकी कामको विस्तृत मूल्यांकन गर्ने काम भइरहेको छ । त्यो टुंग्याएर नयाँ टेन्डर आह्वान गर्ने विभागको तयारी गरिएको जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक मित्र बरालले बताए । अबको दुई महिनामा नयाँ टेन्डर आह्वान गर्न सकिने उनको भनाइ छ । ‘अहिले पुरानो निर्माण कम्पनीबाट के–कति काम भयो र के–के काम गर्न बाँकी छ भनेर मूल्यांकन गर्ने काम भइरहेको छ । त्यसको स्पष्ट खाका आएपछि नयाँ टेन्डर आह्वान हुन्छ,’ उनले भने, ‘अबको डेढ–दुई महिनामा नयाँ टेन्डर आह्वान हुन्छ ।’

यता निर्माण कम्पनीले भने ठेक्का तोड्ने निर्णयविरुद्ध सर्वाेच्च अदालतमा मुद्दा दायर गरिसकेको छ । त्यसमा सर्वाेच्चले धरौटी जफतको प्रक्रिया भने यथास्थितिमा राख्नु भनेर अल्पकालीन आदेश दिए पनि अन्य आदेश जारी गरेको छैन । त्योअनुसार विभागलाई हालसम्मको अवस्थामा नयाँ टेन्डर आह्वान गर्न बाटो खुला नै छ । यद्यपि, कम्पनीले दर्ता गरेको मुद्दा विचाराधीन अवस्थामा छ । आगामी साता दुवै पक्षबिच अदालतमा छलफल हुँदै छ । त्यसपछि अदालतले कस्तो आदेश गर्छ, त्यसमा पनि यो निर्भर रहने बताइएको छ । 

विभागले ठेक्का सम्झौता रद्दसँगै पटेल–रमण जेभीले कार्यसम्पादन जमानतबापत राखेको दुई अर्ब ४० करोड र अग्रिम भुक्तानीको एक अर्ब २० करोड गरी कुल तीन अर्ब ६० करोड रुपैयाँ बैंक ग्यारेन्टी जफत गर्ने प्रक्रियासमेत अगाडि बढाएको थियो । त्यसमा अदालतले थप कुनै कारबाही अघि नबढाउनु भनेर अल्पकालीन आदेश जारी गरेको छ । 

अब बाँकी काम गर्न नयाँ लागत अनुमान पनि गर्नुपर्नेछ । यस यसअघि यो प्याकेजको निर्माणमा १८ अर्ब लागत अनुमान थियो । त्यसमा पटेल–रमण जेभीले लो बिड गरेर १४ अर्ब आठ करोडमा ठेक्का सम्झौता गरेको थियो । 

सिन्धुली र रामेछापको सिमानामा रहेको सुनकोशी नदीको पानीलाई बाँध बनाएर सुरुङमार्फत मरिन नदीमा खसाली बागमती सिँचाइ आयोजनामा पुर्‍याइनेछ । यसबाट तराईका धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारा जिल्लाका करिब एक लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरि सिँचाइ सुविधा पुग्नेछ । 

सुझावित समाचार